नियात्रा : बर्मा गए नि कर्म सँगै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नियात्रा : बर्मा गए नि कर्म सँगै



– जीवा लामिछाने

बा भन्नुहुन्थ्यो, बर्मा गए नि कर्म सँगै। यो उखान उहिल्यैदेखि धेरैका बाआमाले भन्दै आएका हुन्। मैले पनि सानै उमेरमा सुनेको हुँ तर यसको भाव भने बुझेको थिइनँ। स्कुल पढ्दा बल्ल बर्मा भनेको देश हो भन्ने थाहा भयो। पछि थाहा पाएँ, बर्मामा नेपाली पनि बस्ता रहेछन्। अहिले लाग्छ, बर्मामा पनि नेपाल छ। त्यहाँका नेपालीको मन, भाषा र भावमा नेपाल छ।

‘जहाँ गए पनि आफ्नो भाग्य सँगै’ भन्ने उक्तिलाई मेरो जीवनको अनुभवले के भन्छ भने यो केही हदसम्म हो पनि र होइन पनि। मैले संसारका झ्न्डै आधा देशहरू घुमेँ हुँला। जहाँ गए पनि मैले आफूलाई लिएर गएँ। आफ्ना विचार र भावना लिएर गएँ। तर, मेरा विचारहरू केही देश घुमेपछि परिमार्जित पनि भएका छन्। भ्रमणबाटै परिपक्व बन्दै गएका छन्। कुनै देशले त मेरो कर्म नै परिवर्तन गरिदियो। त्यो देश हो रुस। इन्जिनियरिङ पढ्न गएको मान्छेलाई रुसले कर्म दिएर व्यापारी बनाइदियो।

२०१३ मे १४ मा म पहिलो पटक बर्मा जाँदै थिएँ। बैङ्ककबाट याङ्गुनसम्मको फ्लाइट जम्मा एक घण्टाको रहेछ। याङ्गुन एयरपोर्टमा अखिल म्यान्मार गोर्खा हिन्दु सङ्घका अध्यक्ष ओमबहादुर कार्की, गैरआवासीय नेपाली सङ्घ बर्माका अध्यक्ष सागर घिमिरेसहित ज्ञानबहादुर थापा र शङ्कर पराजुली मलाई लिन आए। त्यतिबेला मलाई आफ्नै देशको एयरपोर्टमा अवतरण गरेजस्तो लाग्यो र भूगोल मात्र देश होइन रहेछ भन्ने पनि अनुभूति भयो। अलि पाको उमेरका भएकाले ओमबहादुर कार्कीलाई सबैले सम्मान गरेर बाबा भन्दा रहेछन्। मैले पनि बाबा भनेँ। मलाई त्यो भेटघाट पारिवारिक भेटघाट भएजस्तो अनुभूति भयो।

नेपाली विश्वका धेरै देशहरूमा छरिएर रहेका छन्। भारतभन्दा पर कामको खोजीमा नेपाली पुगेको पहिलो देश सायद बर्मा नै थियो होला। ब्रिटिस साम्राज्यको अधीनमा रहँदा गोर्खा सैनिकका रूपमा ठूलो सङ्ख्यामा नेपाली बर्मा गएका थिए।

बर्मा पुगेपछि त्यहाँको इतिहासका केही झ्ल्किा अझ याद आइरहे। जर्नेल नेबिनले झ्न्डै पचास वर्षअघि सत्ता हत्याएपछि सुरु भएको जातीय दङ्गाका कारण नेपाली मूलका बर्मेली नागरिक शरणार्थी बनेर नेपाल आए। राजा महेन्द्रले नवलपरासी र बुटवल क्षेत्रमा उनीहरूको बस्ती बसाएका थिए। बर्मामा त्यतिबेला सुरु भएको जातीय विद्वेष आजसम्म पनि विद्यमान छ। केही समयअघि एक बुद्धिस्ट महिलाको बलात्कार र हत्याको घटनालाई लिएर सुरु भएको जातीय दङ्गामा दुई सयभन्दा बढी मानिस मारिएका थिए। दसौँ हजार मानिसले बङ्गलादेशमा शरणार्थी हुनुपरेको थियो। यस वर्ष पनि मुस्लिम र बुद्धिस्ट विवादले दङ्गाको रूप लिएपछि विश्वव्यापी चर्चा पाएको थियो।

बर्माबाट लखेटिएका नेपालीको दर्दनाक घटनामा आधारित इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ कथा मैले धेरै वर्षअघि पढेको थिएँ। त्यस्तै कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यासले पनि बर्माबाट लखेटिएका नेपाली शरणार्थीबारे विश्लेषण गरेको पढेको थिएँ। तर, मैले पढेको र सुनेको बर्मेली नेपालीको सच्चा कहानीले बर्मामा पाइला टेकेपछि मात्र सार्थकता पाएजस्तो लाग्यो। पहिले–पहिले यहाँका नेपालीले प्रायः कृषि र पशुपालन व्यवसाय गर्थे। अहिले पनि गर्छन् तर कतिपय नेपाली पत्थर र नवरत्नको व्यवसाय गरेर निकै सम्पन्न भएका रहेछन्। पत्थरको खेलो गरेर धेरै नेपालीको जीवनस्तर माथि पुगेको रहेछ। पत्थरको व्यवसाय गर्ने डेभिड कार्कीले भने, ‘यो व्यवसायमा फाइदा छ तर जोखिम पनि त्यत्तिकै छ। केही जमिन किनेर पत्थर उत्खनन गरेको पाँच वर्ष भयो तर आजसम्म एउटा पनि पत्थर फेला परेको छैन। कति दिनसम्म कामदारलाई पालेर राख्‍न सकिन्छ र ! सिसिफसको यात्राजस्तो भएको छ। बेचबिखन पनि विश्वासका भरमै गर्नुपर्छ। कहिलेकाहीँ यस व्यवसायमा ठगी पनि हुने गर्छ।’

अर्का एक नेपाली दीपक अधिकारी पनि पत्थरको व्यवसाय गर्दा रहेछन्। उनको घरमा रुबी, सफायर, नीलम जस्ता बहुमूल्य पत्थरहरू रहेछन्। खानीबाट ल्याइएको कच्चा पत्थरलाई कसरी प्रशोधन गरी कटिङ गरिन्छ अनि हार, औँठी आदिमा राख्‍न योग्य बनाइन्छ भन्ने आफ्नै आँखाअगाडि हेर्न पाइयो। दीपकजीले सङ्कलन गरेका केही पत्थर त लाखौँ डलर पर्छन् रे ! यस मामिलामा कत्ति पनि नबुझेको मलाई सबै पत्थर उस्तै–उस्तै लागे। पत्थरको व्यवसाय गर्ने नेपालीको मन भने पत्थरजस्तो कडा होइन, नौनीजस्तै साह्रै कोमल रहेछ र रत्‍नजस्तै चम्किलो। प्रवासी नेपालीको मन, मुटु र मस्तिष्क छामेर नै कविशिरोमणि लेखनाथ पौड्यालले यसरी आफ्नो कवितात्मक भावना व्यक्त गरे होलान्–

‘बर्मा, सिक्किम, दार्जिलिङ र मलाया, आसाम, सिङ्गापुर
कालिम्पोङ र देहरादुन तथा भुटान, भाक्सुतिर
बस्ने जो प्रिय बन्धु छन्, सकलको यै राष्ट्रभाषाप्रति
देख्दा प्रेम सदैव हर्ष मनमा उर्लन्छ मेरो अति।’

भारतमा महात्मा गान्धी र दक्षिण अफ्रिकासँग नेल्सन मन्डेलाको नाम जोडिन्छ। त्यसैगरी बर्मा भन्नासाथ आङ सान सु चीको नाम अघि आउँछ। सु ची त्यतिबेला बर्माको प्रतिपक्षमा थिइन्। सु चीप्रतिको अपार श्रद्धाका कारण हामी उनको पार्टी कार्यालय पुग्यौँ। दुर्भाग्य नै भनौं, उनी त्यहाँ नभएको बेला परेछ। पार्टी कार्यालय साह्रै सामान्य लाग्यो। पञ्चायतकालमा जमलस्थित प्रतिबन्धित नेपाली काङ्ग्रेसको कार्यालयजस्तो। अर्को वर्ष हुने आमनिर्वाचनमा उनको पार्टीले बहुमत ल्याउने कुरामा सबै विश्वस्त रहेछन्। पहिलो पटक उनको पार्टीले पच्चीस प्रतिशत स्थानमा मात्र चुनावमा भाग लिने अवसर पाउँदा ती पूरै सिट जितेर संसद्‌मा पचीस प्रतिशत स्थान प्रतिनिधित्व गरेको रहेछ। सु चीको पोट्रेट, एउटा पोर्सेलिन कप र केही चिनो किन्यौँ हामीले। सम्झ्नाका लागि केही फोटा पनि खिच्यौँ। नोबेल शान्ति पुरस्कार विजेता आङ सान सु ची आफ्नै देशबाट यति प्रताडित भएको इतिहासले मलाई हाम्रै देशका नेता बीपी कोइरालाको याद आयो। बीपीले इजरायलबाट ल्याएको हतियार दिएर तत्कालीन अवस्थामा बर्माको प्रजातान्त्रिक आन्दोलनलाई सघाएको बताइन्छ। बीपीजस्तै सु चीको जीवनका रहरलाग्दा क्षणहरू जेलमा बितेका रहेछन्। नेपाल र नेपालीप्रति उनको विशिष्ट सम्मान रहेको प्रवासी नेपाली दाजुभाइको अनुभव छ। बर्माको सैनिक सरकारले एक सय पैँतीस जातिलाई पहिचान दिएको छ। तिनै जातिमध्ये नेपाली पनि एक हो। त्यहाँ नेपाली गोर्खा नामले चिनिन्छन्। धेरै नेपालीले बर्माको स्वतन्त्रता आन्दोलन देखेका र केहीले लडेका थिए। बर्मामा चार लाख नेपाली रहेको अनुमान छ। नेपाल सरकारको निम्तोमा केही समयअघि नेपाल पुगेकी सु चीले भव्य सम्मान र न्यानो आतिथ्य पाइन्। उनले भावुक हुँदै भनेकी थिइन्, ‘नेपाल मेरो दोस्रो घर हो।’

यहाँका नेपालीले हाम्रो आर्य संस्कृतिको शिष्ट जीवनशैली बचाएर राखेजस्तै लाग्यो। उनीहरूले बोल्ने भाषाशैलीमा छुट्टै मिठास पाइयो। नेपालकै कुनै पूर्वी पहाडी क्षेत्रको आञ्चलिक भाषाजस्तो। यहाँका नेपाली बोलीचालीमा बाआमालाई मातापिता भन्दा रहेछन्। नेपालमा बोलिने पहाडी भाषा र हिन्दी लबजको मिश्रित सुगन्ध यहाँ भेटियो। जस्तै– ‘म भरे फर्कँदा यहाँको घरमा एकछिन घुस्छु ल। थोडी देर भयो।’ कुराकानी सकिएपछि ‘फोन राखौँ है’ भन्नुको सट्टा ‘फोन झारु है’ भनेको पनि सुनियो।

दोस्रो विश्वयुद्धका बेला सहादत प्राप्त गर्ने सत्ताइस हजार सैनिकको सम्मानमा बर्मामा निकै ठूलो समाधीस्थल बनाइएको रहेछ। हजारौँ गोर्खा सैनिकको नाम पनि समाधिस्थलमा कुँदिएको थियो। त्यो दृश्य देखेपछि मेरो मनले भन्यो आफुले जित्‍नभन्दा पनि अरूलाई जिताउन नेपाली मरेका रहेछन्। त्यसैले म भावुक भएँ। जुन धर्मसंस्कृतिको सिपाही हो, सोहीअनुसार समाधिस्थलको शिलालेखमा सानो परिचय लेखिएको थियो। गोर्खा सैनिकको समाधिमाथि लेखिएको थियो, ‘ओम् भगवते नमः’ र संक्षिप्त परिचय। हामी ती समाधिस्थलहरू हेर्दै गयौं। केही समाधीस्थलमा त सिपाहीको नाम र उसको व्यक्तिगत विवरणको सट्टा यस्तो लेखिएको थियो, ‘नोन अन टु गड’ अर्थात् उसको नाम भगवानलाई मात्र थाहा छ। त्यो देखेर मेरो मन झन भरङ्ग भएर आयो। त्यो सिपाहीलाई म कसलाई जिताउन मर्दैछु भन्ने कुरा थाहा थियो कि थिएन होला ? ऊ जसका लागि मऱ्यो, तिनीहरूले उसको नामसमेत थाहा पाएनन्। संसारमा शक्तिशाली तर सन्काहा शासकहरूको सनकका भरमा करोडौँ निर्दोष मानिसले जीवन गुमाएका छन्। उनीहरू सैनिकका भरमा ठूला हुन खोजे पनि ती कहिल्यै ठूला हुन भने सकेनन्। युद्धको चरित्र हेर्दा ननिको लाग्छ। पुराणहरूमा विश्वास गर्ने हो भने पनि रामायण र महाभारतको युद्धमा कति मारिए कति ! धनजनको अपार क्षति भयो। तर, नाम आउँछ त केवल राम, रावण, कृष्ण र अर्जुनहरूको मात्र। तर्कवितर्क जे गरे पनि आखिर प्रकृतिको खेल भनेर चित्त बुझउनुको विकल्प छैन। मानिसहरू भन्छन्, ‘दुःखले रुवाउँछ।’ तर, म भन्छु, ‘दुःखले रुवाउने मात्र होइन, केही सिकाएर पनि त जान्छ।’

हामी साँझ रङ्गुनको विश्वप्रसिद्ध स्वेडागोन प्यागोडा चैत्य अर्थात् गोल्डेन प्यागोडा टेम्पल दर्शन गर्न गयौँ। त्यहाँ पुग्दा मलाई सुनौलो संसारमा पुगेजस्तो लाग्यो। तीन सय छब्बीस फिट अग्लो चैत्य। यसको वरिपरि ससाना चैत्य र गुम्बा छन्। सबैमा सुनको लेपन लगाइएको छ। हिरा, मोती, मणिमाणिक्यजस्ता थुप्रै रत्न जडिएका छन्। हामी त्यहाँ प्रवेश गर्दा सिमसिम पानी परेको थियो। उधुम गर्मीले एकछिन विश्राम लिएका थियौँ। हाम्रो अवस्था देखेर हामीलाई एक जना दयालु भिक्षुले छाता दिए। पूरै परिक्रमा गर्न झ्न्डै पैँतालीस मिनेट लाग्यो।

मलाई बर्मेलीहरू प्रायः धार्मिक, दयालु, मिलनसार र उदार मनका लागे। पूरै बर्माभरि पाँच लाखभन्दा बढी त भिक्षु मात्रै छन् रे ! यस देशमा यति धेरै भिक्षु किन भएका होलान् ? मैले आफैँ अनुमान गरेँ, सायद यो द्वन्द्व र दङ्गाको पनि देश हो। युद्धको घाउ खाटा लाग्‍न नसकेपछि निराशाले भिक्षुको सङ्ख्या बढेको हुनसक्छ। अध्ययनको अर्को पाटो हो यो। भिक्षु धर्म निर्वाह गर्न दुई सयभन्दा बढी कडा नियम पालना गर्नुपर्ने रहेछ। महिला (भिक्षुणी) लाई भिक्षुणी नभनी शीलवती भन्दा रहेछन्। शीलवतीहरूले भने दस नियम मात्रै पालना गरे हुने रहेछ। भिक्षुहरू बिहान नाङ्गो खुट्टा लिएर भिक्षाटन गर्न निस्कँदा रहेछन्। बुद्ध दर्शनमा लेखिएबमोजिम जे मिल्छ त्यही खाने। त्यो पनि एक छाक मात्र। वृद्धवृद्धा र युवा मात्र होइन, किशोरकिशोरी र ससाना बालबालिका पनि पहेँलो वस्त्र धारण गरी भिक्षु र शीलवती भएको देखियो। मेरा मनमा भने एउटै प्रश्न उठिरह्यो, यी बालबालिका, अझ यी किशोर र किशोरीले कसरी यति कडा धार्मिक नियमहरू पालना गर्न सक्छन् होला ? के बाहिर देखिएको पहेँलो वस्त्र धारण गरिएझैँ नियमहरू पालना गरिएको होला ? के इन्द्रियहरूले यिनीहरूलाई चुपचाप भिक्षु र शीलवती बन्न दिएको होला ?

सुन लेपन गरिएको त्यो विशाल चैत्यको रोचक प्रसङ्ग यात्रा सकेपछि कतै पढ्न पाएको थिएँ– बर्माबाट तपुसा र भल्लिका नाम गरेका दुई व्यापारी दाजुभाइ महबाट बनाइएको मिष्ठान्न उपहार लिएर भगवान् बुद्धसँग दीक्षा लिन गएछन्। ती दुई भाइसँग प्रसन्न भएर भगवान् बुद्धले आफ्नो कपालका आठ रौं निकालेर उपहार दिनुभएछ। रङ्गुन फर्केपछि उनीहरूले ती रौं त्यहाँका राजा ओकलापालाई चढाएछन्। राजाले ती आठ रौं राख्‍न त्यो महाचैत्य निर्माण गरेको कथन चर्चित रहेछ। मलाई भने आफ्नै देशको चिन्ता लाग्यो। किंवदन्ती नै सही, बुद्धका रौँ राख्‍नसमेत यहाँ यति विशाल चैत्य निर्माण गरिएको छ तर हाम्रो बुद्ध जन्मस्थल लुम्बिनीको गति भने त्यस्तो छ। अलि–अलि जे छ, त्योसमेत विदेशीले बनाइदिनुपरेको छ।

जगदम्बाश्री पुरस्कार विजेता स्रष्टा ठाकुरप्रसाद गुरागाईँसँग भेट भयो। गुरागाईँजीले उपन्यास र केही धार्मिक ग्रन्थ पनि प्रकाशित गरेका रहेछन्। प्रवासमा रहेर उनले नेपाली भाषासाहित्यलाई ठूलो गुन लगाएका छन्। बर्मेली सेनामा कर्नेलसम्मको उपाधि हासिल गरेका टङ्कध्वज नेपालसँग भने समय अभावका कारण भेट हुन सकेन। अर्का महत्त्वपूर्ण व्यक्ति हुन् नन्दराम न्यौपाने। उनलाई सबैले दानवीर न्यौपाने भन्दा रहेछन्। उनले व्यक्तिगत खर्चमा राजधानी सहर याङ्गुनमा करोडौँको आठतले धर्मशाला बनाइदिएका रहेछन्।

म गैरआवासीय नेपाली सङ्घ अध्यक्षका नाताले बर्मा गएको थिएँ। साथीहरूसँगको भेटघाटका क्रममा केही महत्त्वपूर्ण सवाल उठे। एउटा महत्त्वपूर्ण सवाल भने नलेखी रहन सकिनँ। ‘गैरआवासीय नेपाली ऐन–२०६४’ ले नेपाली मूलका विदेशी नागरिकले समेत नेपालमा व्यवसाय गर्न र तोकिएको सर्तबमोजिम घरजग्गा खरिद गर्न पाउने कानुनी व्यवस्था गरेको छ। त्यसका लागि उनीहरूले गैरआवासीय नेपाली परिचयपत्र ‘पीएनओ कार्ड’ भने लिएको हुनुपर्छ। नेपाली मूलका विदेशी नागरिकले गैरआवासीय नेपाली परिचयपत्र लिन साविकमा ऊ आफैं, उसका बाआमा वा बाजेबज्यै नेपाली भएको प्रमाण जुटाउनुपर्छ। नेपालमा नागरिकताको प्रमाणपत्र दिने प्रचलन सुरु भएको धेरै भएको छैन। बर्मा विस्तारै खुला बन्दै गइरहेको अहिलेको परिप्रेक्ष्यमा त्यहाँ बसोबास गर्ने धेरै नेपाली मूलका बर्मेली नागरिक लगानी गरेर होस् वा घरजग्गा खरिद गरेर, आफ्ना पुर्खाको देशसँग जोडिन चाहेको मैले भेटघाटका क्रममा थाहा पाएँ। तेस्रो पुस्तादेखि बर्मामा बसिरहेका नेपालीले आफ्ना बाआमा या बाजेबज्यै नेपाली थिए भनेर देखाउन सक्ने कानुनी प्रमाण अहिले फेला पार्न प्रायः असम्भव हुन्छ। राज्यले हिजोका दिनमा व्यवस्था नै नगरेको कानुनी कुरा अहिले खोजी गर्नु तर्कसङ्गत र व्यावहारिक नहुने भएकाले कुनै वैकल्पिक उपाय खोजी मनमा नेपाल, मुखमा नेपाली भाषा, व्यवहारमा नेपालीपन र अनुहारमा नेपाली वर्ण साँचेर बस्ने हाम्रा दाजुभाइ तथा दिदीबहिनीले पनि राज्यले उपलब्ध गराएको कानुनी प्रावधान उपयोग गरी आफ्ना पुर्खाको देशसँग सधैँ आबद्ध हुन पाउनुपर्छ।

बर्मा निवासी नेपालीसँग भेटघाट तथा छलफलका लागि गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बर्माले बिहान रामजानकी मन्दिरमा एउटा कार्यक्रम राखेको थियो। त्यहाँ एक जना पाको उमेरकी महिला पनि आएकी रहिछन्। उनले अति स्नेहसँग मेरो हात समाइन्। मेरी आमाले म सानो छँदा कतै लड्छु कि भनेर मेरो हात समाएजस्तो लाग्यो। उनले भनिन्, ‘आफ्नो मुलुकका मानिसलाई भेट्न आएकी हुँ।’

मैले सोधेँ, ‘आमा, कहिले बर्मा आउनुभएको ?’

‘तीन पुस्ता भइसक्यो। हजुरबाको पालादेखि।’

मौसम गर्मी थियो तर उहाँको असीम स्नेहले मेरो मन शीतल भयो। तीन पुस्तादेखि बर्मामा बस्दै आएकी यी आमा, जो बर्मामै जन्मेर बर्मामै बूढी भइन्। उनले अझै भावनात्मक रूपमा नेपाललाई आफ्नो मुलुक सम्झिरहेकी छन्। नेपालबाट आउनेहरूलाई भेट्न जाँदा आफ्नो मुलुकबाट आएको सम्झिने ती वृद्ध आमाको पितृभूमिप्रतिको अद्भुत प्रेम नै सायद डायस्पोरिक चेतना होला ! आखिर हामीले डायस्पोरामा बाँकी रहेको यही अद्भुत स्नेहको धागो कालान्तरमा चुँडिएर नजाओस् भनेर नै त गैरआवासीय नेपाली अभियान सुरु गरेका थियौँ। आफू त्यही अभियानको नेतृत्व गर्दै बर्मा पुगेको यथार्थबोधले मलाई द्रवीभूत बनायो।

बर्मा जाँदा नेपाल गएजस्तै भयो। राजनीतिक सिमानाका कारण मात्र नेपाल र बर्मा भन्नुपरेजस्तो लाग्यो। आजभोलि मलाई ‘जहाँ नेपाली छन् त्यहीँ नेपाल छ’ जस्तो लाग्न थालेको छ। मानसपटलमा बर्मा बोकेर फर्कँदै गर्दा लाग्यो, बर्मा कर्मयोगी र धर्मयोगीको देश हो। पत्थर र प्रेमको देश हो। दानवीर र सानवीरको देश हो। प्रकृति र संस्कृतिको देश हो। तर दुर्भाग्यवश, बर्मा द्वन्द्व र दङ्गाको पनि देश हो।

रङ्गुन एयरपोर्टबाट मनिला जान जब म जहाज चढेँ तब मलाई किन किन एकछिन आँखा चिम्लिन मन लाग्यो। आँखा चिम्लिँदा मेरो मनमा सजीव भएर चम्किला रत्‍नहरू, ठाकुरप्रसाद गुरागाईं, टङ्कध्वज नेपाल, नन्दराम न्यौपानेजस्ता कर्मवीर नेपाली आफन्तहरू, दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका सिपाहीहरू, गोल्डेन टेम्पल, आङ सान सु ची, आफ्नो धर्तीसँग नाता गाँसेर स्नेह दिन आउनुभएकी आमा, केही द्वन्द्व, द्वेष र दङ्गाजस्ता अनेक घटना, पात्र र दृश्य एकपछि अर्को गर्दै मेरो मनको पर्दामा आइरहे।

नेपाली मूलका बर्मेली दाजुभाइ एवम् दिदीबहिनीलाई भेटेपछि डायस्पोराहरूको अस्तित्व र परिचयको सर्वोच्च स्वरूप तिनको मूल देश हो भन्ने उक्ति कति सत्य रहेछ भन्ने थाहा हुन्छ। त्यो मूल देश र त्यसको अद्वितीय सांस्कृतिक विविधतालाई हामीले पो जोगाउन सकौँला कि नसकौँला ? जहाजको यात्राभरि एउटा अनौठो दायित्ववोधले मलाई गम्भीर बनाइरह्यो।

(जीवा लामिछानेको नियात्रा सङ्ग्रह सरसर्ती संसारबाट साभार)