नियात्रा : गोदावरीदेखि लाकुरी भञ्ज्याङ - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

नियात्रा : गोदावरीदेखि लाकुरी भञ्ज्याङ



~जय छाङ्छा~

काठमाडौँको उपत्यका अन्तरगत रहेका डाँडाहरूका सौन्दर्यले आकर्षण गरिरहन्छ मलाई। वि.सं. २०३४ सालमा उच्च अध्ययनका लागि काठमाडौँ भित्रिएपछि स्पष्ट देखिने पर्वत शृङ्खलाहरूमा हुरुरु उडेर पुग्न पाए पनि हुन्थ्योजस्तो लागिरहन्थ्यो। करीव तीन दशकसम्म काठमाडौँ रहँदा कहिल्यै अनुकूल परेन डाँडा चढेर रमाउन। कहिले आफूलाई अनुकूल नहुने, कहिले साथी नपाइने र कहिले कार्य व्यस्ततादिले डाँडाहरू वा चुलीहरूका लागि पाइला सार्न नै सकिएन। तर सत्तरीको दशकदेखि भने केही अनुकूलता मिल्न थाल्यो र पैदलै काठमाडौँका चुलीहरू अभियानको थालनी गर्दै उपत्यका चुलीहरूमा पैतालाले सुम्सुम्याउने कार्यको थालनी  गरियो।

यसै अभियान अन्तरगत गोदावरीदेखि लॉकुरी भञ्ज्याङसम्मको पैदल यात्रा गर्ने कार्यक्रम बनाएँ। यसका लागि पत्रकार प्रेम स्याङ्तानजीसँग सल्लाह पनि गरेँ। यो अभियान एकदमै उपयुक्त र स्वास्थ्यप्रद हुनका साथसाथै प्रकृतिसँगको नजिक भेट पनि हो भनी प्रेमजीले भन्नुभयो। पहाडी डाँडाकाँडा चढ्ने र हिड्ने काममा मेरो पनि चाख छ। समयले सहमति दिउञ्जेल मपनि पैदल यात्रामा निस्कने छु। बरु आउँदो कार्यक्रम कहाँको छ सो थाहा पाएमा तयार हुनेछु भन्नुभयो। लॉकुरी भञ्ज्याङ ललितपुरबाट सुरु भएको छ यात्रा। लॉकरी भञ्ज्याङ र फूलचोकीको वीचमा रहेका पहाडहरूको यात्रा गर्ने हो कि भन्ने सोचमा छु। मिल्छ भने गोदावरी वा फूलचोकीको फेदबाट लॉकुरी भञ्ज्याङ जाने हो कि भन्नेजस्तो लागिरहेको छ। त्यस्तो इच्छा छ भने समय मिलाएर पैदलयात्रामा निस्कौँ न त भनी भन्नुभयो कुरैकुरामा प्रेमजीले।

दुई जनाको सहमतिले निश्चित गर्यौँ पैदल यात्राको शनिबार जेठ १२, २०७५ अर्थात् मे २६, २०१८ का दिन। र सोही अनुसार लगनखेलमा बस चढ्न विहानको साढे छ बजे भेट हुने सल्लाह समेत भयो।

पैदल यात्राका लागि निश्चित गरिएको बिहान आइपुग्यो ढोकैमा। विहान उठेर नित्यकर्म सकी सखारै ६ वजे लागेँ नयॉ बानेश्वरतर्फ। सफा टेम्पो अर्थात् विद्युतबाट सञ्चालित टेम्पो लगनखेल जानलाई तयारी अवस्थामा रहेछ। सोही टेम्पोमा चढी रवाना भएँ म। शनिबारको विहान भएकोले सडक एकप्रकार सुनसान छ। बजारका सटरहरू खुलेका छैनन्। तोकिएको समयमा नै लगनखेल पुगी भाडा वापतको रुपैयाँ बीस भुक्तानि गरेर ओर्लिएँ लगनखेल बसपार्कमा।

प्रेमजी पनि आइसक्नु भएछ। भेट भयो। अभिवादन साटासाट गरी गोदावरी जाने बसतर्फ बढ्यौँ। केही समयपछि गुड्न थाल्यो बस। यात्रुहरूको निकै चाप छ। गोदावरीमा रहेको वनस्पति उद्यान घुम्न जानेहरू र लगनखेल तथा गोदावरी वीचका स्थानहरूमा पुग्नेहरूको भीड छ। लगनखेलदेखि गोदावरी पुग्नेलाई पचीस रुपैयाँ रहेछ प्रतिव्यक्ति बस भाडा। सो भुक्तानि गरेँ मैले। बसले सानो हात्ती वन, हरिसिध्दि, थैव (सन्तानेश्वर मन्दिर जाने चौक), बॉडेगाउँ (स्वेत वाराही जाने विन्दू), टौखेल (बडिखेल जाने चौक) हुँदै गोदावरी पुऱ्यायो बसले साढे सात वजे।

अबको यात्रा पैदल हुने भएकोले नजिकैको चिया पसलमा पसी हलुका नास्ता र चिया पियौँ। त्यही भेटिए गोदावरीकै वासिन्दा एवम् स्वतन्त्र पत्रकार रबिराज आचार्यजी। गोदावरीकै स्थानीय भएकाले केही जानकारी लिने काम गरेँ रबिराजजीसँग –‘पैदलै काठमाडौँका चुलीहरू अभियान अन्तरगत नगरकोट, रानीकोट चढेपछि लॉकुरी भञ्ज्याङ र फूलचोकीलाई जोड्ने पर्वतमालाको पैदलयात्रा भएमा उत्तम हुन्छ भन्ने लागेकोले त्यही अभियान अन्तरगत लॉकुरी भञ्ज्याङ जान भनी आज यहाँ आएका छौँ। गोदावरीबाट लॉकुरीभञ्ज्याङ पदयात्रा गर्ने पदमार्ग कतातिर वा कहाँबाट र कस्तो छ ? हिड्दा सुरक्षित नै होला नि ?’

‘प्रायः मान्छेहरूको आवातजावत गरिरहन्छ। खासै असुरक्षित छैन। बाटो चाहिँ यहाँबाट दक्षिणबाट पनि छ। अर्को बाटो फूलचोकीको मुन्तिरबाट पनि छ। पैदल यात्रा गर्नेलाई जुन बाटो गए पनि हुन्छ। अझै अलिक परतिर कुनामा मृग फर्म छ। त्यहाँबाट उकालिदा पनि हुन्छ। फोर ह्विलर मोटरको पनि बाटो छ यहाँबाट दक्षिणतर्फबाट।’

‘हामी त पैदल यात्री भएकोले खासै मोटर बाटोको आवश्यकता छैन। मृग फर्मबाट बाटो भए त्यतैबाट उक्लिनु पर्लाजस्तो लाग्यो।’

‘तपाईँहरूको अनुकूलताको बाटो समात्नुहोस्। सबै ठीकै छन्। मृग फर्मबाट चाहिँ अलिक जङ्गल र मान्छेहरू आवातजावत नगर्ने भएकोले डोरेटोलाई अनुमान गर्दै हिड्नु पर्छ। गोदावरी कुण्डमा महामञ्जुश्रीले नुहाएर कटुवाल दहमा पुगी जमिन काटेर उपत्यका जलमग्न हुनबाट वचाएकोले विशेष महत्त्व छ गोदावरी कुण्डको। यहाँ एक सयभन्दा बढी प्रकारका फूलहरू पाइन्छन्। रमाइलो हुन्छ जङ्गल यात्रा। तर होसियारीपूर्वक हिड्नु होला।’ रविराजजीले खुलस्त पार्दै जानकारी दिए।

आठ बजेको छ बिहानको। त्यसपछि बस पार्कबाट दक्षिणतर्फ हान्नियौँ। बाटोको वायाँपट्टि पिकनिक जानेहरूको भीड छ। हामीभने सीधा मृग फर्मतर्फ लम्किरहेका छौँ। माथि जङ्गलमा कुथुर..कुथर गर्दै सानो कुथुर्के चरा कराइरहेको छ। राष्ट्रिय हर्वेरियन तथा वनस्पति प्रयोगशालाको भवन छ बाटोको बायाँतिर। राष्ट्रिय वनस्पति उद्यान संरक्षण तथा शैक्षिक उद्यानलाई पार गर्दै इसिमोडको भवन छ बायाँतिरै। बाटोको दाहिनेतिर अग्ला सिरिसका बोटहरूमा नीलाम्मे फूलहरू फुलेका छन्। अगाडि बढ्ने क्रममा मत्स्य अनुसन्धान महाशाखाको गेटमा पुग्यौँ। साधारणतया गेट वन्द नै रहने रहेछ। गेटमा हामी पुगेपछि त्यहाँका कर्मचारी नवराज थापा आउनु भयो र हाम्रो जानकारी लिनु भयो। हामी यहाँबाट लॉकुरी भञ्ज्याङ् जान लागेको हो। हामी पैदलयात्रा अभियान अन्तरगत हिड्दै गरेको जानकारी गरायौँ।

यहाँबाट हिड्ने बाटो छैन। जङ्गलैजङ्गलको पटेर छ। हराउने धेरै सम्भावना छ। बरु कुण्ड छेउबाट मोटर बाटो छ। त्यताबाट जॉदा सुरक्षित र राम्रो हुन्छ भन्दै सम्झाउने काम गरे। माछा पोखरी र मृग फर्म हेरेर जाने इच्छा भएकोले यो बाटो रोजेका हौँ। त्यसैले मृग फर्मसम्म जान दिनुहोस् भनी अनुरोध गर्यौँ।

माछा पोखरीबाट मृग फर्म जाने क्रममा अर्को गेटमा भेट भए लोचनकुमार लामाजी। लोचनजीलाई पनि हामीले आफ्नो अभियान बारे जानकारी गरायौँ। र लोचनजीले भने पहिले यहाँ कस्तुरी, चित्तल र मृग पालिएको थियो। यहाँ तीनवटा कस्तुरीहरू थिए र १२ वर्ष अगाडि मरेपछि अर्को ल्याइएन। केही वर्ष अगाडि यहाँका मृगहरूलाई शिवपुरी जङ्गलमा लगेर छाडियो। दुई वर्ष अगाडि चित्तलहरूलाई पनि पर्सा वन्यजन्तु आरक्षण केन्द्रमा पठाइयो। त्यसपछि अरू केही पाल्नलाई ल्याइएको छैन। बाह्र हेक्टर जग्गामा तारबार गरेर विद्युतीय करेन्ट छोडी जङ्गली जनावरहरू पालिएका भए पनि अहिले केही छैनन्। त्यत्तिक्कै खाली जग्गालाई हेर विचार गरेर बस्ने काम गरिरहेको कुरा वताउनु भयो लामाजीले।

नजिकैको खोल्सीमा सिस्नो टिप्यौँ प्रेमजी र मैले। वर्षका एक पटक भए पनि सिस्नो खाएमा आन्द्रा सफा हुन्छ भन्ने विश्वास गरिन्छ। त्यसैले सिस्नो देख्यो कि टिप्‍न मन लागिहाल्छ। सिस्नो टिप्‍ने चिम्टा, पञ्जा आदि बोकेका छैनौँ हामीले। तैपनि निकै होसियारीपूर्वक टिप्यौँ। नाङ्गा छालालाई सिस्नोले छोयो कि झमझम हुने गरी पोलिहाल्छ। त्यसैले निकै सतर्कता अपनाएर टिप्दै प्लास्टिकको झोलामा राख्यौँ। सिस्नो टिपिरहँदा सम्झिरहेछु मृगहरूलाई। यदि आज मृग चरिरहेको देख्‍न पाए कति आनन्दित भइन्थ्यो होला। अझ मृगका पाठापाठी पनि होउन्। कसरी मृगिणीको छेउमा उफ्रिएर खेल्थे होलान्। झन् कस्तुरी भइदिएको भए मीठो वास्ना मगमगाएर कतै नजाउजस्तो लाग्थ्यो होला। पारिको वन उकालिँदा सुगन्धमय वातावरणले लपक्कै भिज्थ्यौँ होला। बुट्टेदार चित्तलहरू जङ्गलको बीचमा बसेर हामीलाई नियाल्थे होलान्। तर मृग, चित्तल र कस्तुरीलाई देख्‍न नपाए पनि केही समय तिनीहरूले विताएको स्थान हेर्न पाउँदा खुशी नै लाग्यो मलाई।

लोचनजी र प्रेमजी कुरा गरिरहनु भएको छ आपसमा। लोचनजी जानकारी दिइरहनु भएको छ –‘यहाँदेखि माथि त बाटो छैन। जङ्गलको बाटो छ। जुका लाग्छ। अन्दाजले माथि पर देखिएको बाङ्गे डाँडालाई ताकेर उकालिनु होला। बाङ्गे डाँडामा पुगेपछि मान्छे हिड्ने बाटोमा पुग्नुहुनेछ। त्यसपछि डाँडैडाँडा गएर सल्लेरी डाँडा कटेपछि चापाखर्क स्कुल क्षेत्रमा पुग्नु हुनेछ। त्यसपछि बायाँतर्फ लाग्नु भएमा लाकुरी भञ्ज्याङ पुग्न सक्नुहुन्छ। मेरो घर पनि लॉकुरी भञ्ज्याङ छेवैमा पर्छ। यहाँबाट घर जॉदा मपनि यही बाटो हिँड्छु। वास्तवमा तपाईँहरूलाई मैले देखाएको बाटो घँसे, दाउरे र स्थानीयहरू मात्र हिड्ने बाटो भएकोले सानो डोरेटो छ र अन्दाजले हिड्नु पर्छ।’

मृग फर्ममा केही समय विताएपछि उकालिन थाल्यौँ साढे नौ वजे। ढाल्ने कटुस, वनमारा झार र अन्य अचिनारु ठूला र साना रुखहरूको फेदैफेद भएर उकालिरहेका छौँ। झ्याउँझ्याउँ गर्दै झ्याउँकिरीहरू कराइरहेका छन् कानैखाने गरी। नली खुट्टा र पाँसुलाहरू चिलाइरहेका छन्। सायद जुका पसेजस्तै छ मोजा र पेन्टतिर। मेरो देब्रे खुट्टामा मोटो र कालो जुका फेला पर्यो। बेस्सरी पिएछ रगत। व्लड डोनेशनको कार्यमा सहभागिता नजनाएको धेरै भएको थियो। आज जुकाले उपहार पायो मेरो रगत। प्रेमजीको पनि दुईवटा जुकाले रगत मज्जाले पिएछ। सिन्काले कोट्याउ‘दै फ्याक्ने काम गर्यौँ। ठीकै छ बढी भएको रगत नै पिइदियो जुकाले। तर जुकाले रगत निकालेको स्थानहरूमा मज्जाले चिलाउन थाल्यो। यस्तैमा जुकाको ज्ञान, वुध्दि, सहास आदिका बारेमा छलफल गर्यौँ प्रेमजीसँग। कुराकुरैमा भन्नुभयो प्रेमजीले –

‘सर, जुका सानो भन्ने मात्रै निकै साहसी हुन्छ नि। रुखका हाँगाहरू र पातहरूमा टॉसिएर बस्छन्। मान्छे तथा जनावरको गन्ध पाउनासाथ फुत्त झरेर टॉसिन आइपुग्छन्। बाँदरकैजस्तो अगाडि छातीमा मुटु हुँदैन। डाक्टरी विद्या पनि थाहा हुन्छ। किनकि नसा पहिल्याएर टोक्छ जुकाले।’

‘सॉच्चि नै हो त। गुप्तचरी विद्या पनि त हुन्छ नि जुकासँग। मान्छे वा जनावरको शरीरमा सुइँको समेत नदिई लुसुक्क छिरेर तनतनी रगत पिउँछ। कुकुरकोजस्तै सुँघ्‍ने शक्ति पनि हुन्छ र त मान्छे वा जनावर आएको थाहा पाउँछ।’ मैले पनि स्वीकृति जनाएँ प्रेमजीको तर्कमा।

‘यसरी जुका पाइने स्थानमा जनावरहरू चितुवा, वँदेल तथा मृगहरू पाइन्छन् भन्ने अनुमान लगाउन सकिन्छ सर। जुकाले रगत चुस्न पाएन भने कसरी बाँच्‍न सक्छन् र !’ प्रेमजी तर्क गर्नुहुन्छ।

‘अवश्य नै हो। अरूको रगत नै मुख्य आहारा भएकोले पनि यस्तै अनुमान गर्न सकिन्छ। बाघ, भालु, बाँदर आदिको रगत पिएर बाँचेको हुनाले ती जनावरहरूको गुण जुकामा सरेको होला नि ! जुकालाई पनि मान्छेले काँचै खायो भने मान्छेमा पनि जुकाकोजस्तै ज्ञान, बुद्धि, साहस भरिन्थ्यो कि? अझ भन्ने हो भने जुकाले राम्रो सपना देखेको रहेछ दशै मनाइरहेको। त्यसैले हामी फेला पर्यौँ, होइन र?’ मैले भनेँ।

दुवैजना मज्जाले हाँस्यौँ र अगाडिका सानातिना डाँडाहरूलाई छोड्दै बढ्न थाल्यौँ उकालैउकालो।

कतिपय चिप्ला स्थानमा साना पोथ्राहरूलाई समाउँदै उकालिने क्रम जारी छ। मृग फर्म तल कोप्चेमा रहेकोजस्तो देखिन थाल्यो। सिटी फुक्दै उकाली रहेका छौँ। प्रेमजी पटाका पनि छ। पड्काउ कि सर भन्नुहुन्छ। तर माथिको सल्ले डाँडामा पुगेर पड्काउँदा निकै आवाज आउँछ होला। त्यही गएर पड्काउँछु भन्नुहुन्छ।

साढे एघार वजे बाङ्गे डाँडामा पुग्यौँ। त्यसपछि अलिकति उकालिएपछि सल्लैसल्लाको डाँडा आइपुग्यो। त्यहाँबाट गोदावरी, चापागाउँ र पाटन बजार आदिको अवलोकन भयो। पर उत्तरतर्फको क्षितिजमा सेता हिमालहरू पनि देखिए। एकदम सुन्दर लागिरह्यो अग्लो डाँडाबाट तलतिर र परपर टाढाका सुन्दर दृश्यहरू देख्‍न पाउँदा। सायद मपनि डाँडा भएँ यसबेला। राम्रा दृश्यहरू देख्‍न पाएर होचिएन डाँडा। अग्ली रह्यो सदासर्वदा। तर डाँडाजस्तै अविचलरूपमा अग्लिएर बस्ने मेरो भागमा परेनछ। तर केही मिनेटभरकै लागि भए पनि म डाँडा भएँ र खुशीले फुरुङ्गिएँ। नियालेँ टाढाटाढाका सुन्दर र मन्त्रमुग्ध बनाउने दृश्यहरूलाई। पहाड बनेर अग्लिन पाएकोमा दङ्ग परेको छु म। पहाडी डाँडाका आफ्नै गुनासो होला। त्यो मलाई थाहा हुने र व्यहोर्ने कुरा भएन। केही सुनाउन खोजे पनि भाषा बुझ्दिनँ म। मलाई आफ्नै धुन र पलहरूको मात्र याद हुन्छ। त्यसैले आफ्नै धुनमा रमाइरहेको छु एकहोरो।

डाँडामा बिसाउनु भयो प्रेमजीले। मपनि एउटा चेप्टो ढुङ्गामा टुसुक्क बसेँ।  केही वेर आराम गरेर साथमा बोकेका खाजाहरू बाँडी खायौँ। पटाका पड्काउनु भयो प्रेमजीले। अलिक ओसिएकोजस्तो भएकोले धित खोलेर पड्किएन पटाका। सल्लेरीको चिसो र मधुर हावामा उकालिँदाको पसिना सुकायौँ। मस्तले आराम गर्यौँ। अबको पदयात्रामा उकाली कमै छ। तेर्सैतर्सो हिँडेमा पुगिन्छ। त्यति कठिन बाटो पनि छैन। लाँकुरी भञ्ज्याङ पुगेपछि लगनखेल जाने सार्वजनिक बस पाइ हालिन्छ। यदि त्यहाँ बस नपाए आधा घण्टाजति ओर्लियो भने ढुँगेन पुगिन्छ र बस पाइहालिन्छ। त्यसैले मज्जाले सल्लेरी डाँडामा बस्यौँ।

सल्लेरी डाँडामा बसेर वरिपरिका डाँडाकाँडा र गोदावरीको सेरोफेरोलाई अवलोकन गरी तेर्पाइतेपाई हुँदै उत्तरतर्फको भिरालो बाटोबाट बढ्यौँ अगाडि। अपरान्ह १२ वजे पुग्यौँ चापाखर्कमा। चौरमा चापाखर्क आधारमूत विद्यालयको भवन छ। अङ्ग्रेजी अक्षरको एल् आकारमा वनेको भवनको नीलो च्यादर वा जस्तापाताको छाना लगाइएको छ भने भित्ताहरूमा पनि नीलै रङ्गले पोतिएको छ। सातवटा कोठा रहेको विद्यालय निकै व्यवस्थितजस्तो अनुभूति हुन्छ। फुटबल खेल्ने मैदान, पानी पिउने धारा, व्यवस्थित बाथरुम आदिको व्यवस्था गरिएको छ।

विद्यालय पछाडिको डाँडाबाट ललितपुर सहरलाई नियालीरहेको बेला आइपुगे जिग्मी भाइ। परिचयको आदानप्रदान भयो। जिग्मी भाइ भारतको वैङ्लोरमा अध्ययनरत रहेछन्। विदाको समयमा नेपाल आएको समयमा पदयात्रा गर्ने रहेछन्। कालो हाफपेन्ट, सेतो भेस्ट, कालो झोला, कालो मोजा तथा कालै रङको क्यान्भास जुत्ता लगाएका निकै खाइलाग्दा छन् जिग्मी भाइ। कुरैकुरामा अलिक होसियारी भएर जङ्गलको पैदल यात्रामा निस्कनु बुद्धिमानी हुन्छ भन्दै जानकारी गराएँ। किनकि जङ्गलमा ह्रिंसक पशुहरू पाइन्छन् र कतिपय जङ्गलमा आवारा केटाहरू बसिरहेका हुन्छन्। कहिलेकाहीँ हिँड्दाहिँड्दै फेन्ट भएर लड्न सकिन्छ। त्यसैले सकेसम्म दुई जना र ग्रुपमा मात्र पैदलयात्रा निस्कनु पर्छ भनेँ। मेरो कुरा सुनेर केही गम्भीर भए जिग्मी भाइ। बौद्धमा बसोबास भएका जिग्मीसँग केही बेर कुराकानी गरी प्रेमजी र मेरो फोटो खिच्‍न सहयोग मागेँ मैले। केही स्नाप फोटोहरू खिचिदिए पछि लॉकुरी भञ्ज्याङतर्फ लागे जिग्मी भाइ हतारिँदै।

दिनको पौने एक अर्थात् १२:४५ बजाएछ घडीले। त्यसैले हामी चापाखर्क विद्यालय परिसरमा केही समय विताएर विद्यालय क्षेत्रबाट दक्षिणतर्फ लाग्यौँ। तेर्सैतेर्सो बाटो भएकोले आरामपूर्वक हिड्यौँ। बाटैमा भेट भइन् चापाखर्क माइतीबाट लॉकुरीभञ्ज्याङ घर जान लागेकी माइली तामाङ र छोरा तथा छोरी। थुन्सेमा कोसेली बोकेकी माइलीलाई ठट्याउलो पारामा भनेँ –‘पाकेको खानेकुरा भए, यसो मिलाएर यतै बसेर खाउँ। किन त्यति टाढासम्म बोकेर लैजाने। पकाउनु पर्छ भने त पकाउने सामाग्री पनि छैन। समय पनि लाग्छ।’

‘पकाएको होइन। तताएर फिल्टर गरेको चीज छ। शाकाहारी झोल। अन्न र फलफूलको। स्याल भए पनि बाघ भइहाल्छ। पहिले खुट्टालाई तागत दिन्छ अनि शिरतिर चढ्छ। शिरमा चढेपछि चिल्लो बाटोलाई विछ्यौना देख्छ। दुवो, सिरु, खरुकी तथा सालिम्बो पलाएको चौरलाई कार्पेट ओछ्याएकोजस्तो पो देख्छ। अझै भन्ने नै हो भने अहिले देखिएको दृश्य पनि बदलिन्छ। सबैलाई रावणजस्तो दश टाउको भएको जस्तो पनि देख्छ। त्यस्तो चीज खान्छ र ?’ माइलीले पनि हाँस्दै भनिन्।

‘आहा मुखै रसाउने चीज पो रहेछ। हिँड्न अल्छी लागिरहेको छ। त्यो खायो वा पियो भने त तागत दिने रहेछ। लौ लौ अलिअलि चाखी हेरौँ त !’ मैले भनेँ।

यस्तै प्रकारले गाउँ घरका र अन्य रमाइलो कुरा गर्दै हिँडिरह्यौँ। हिँड्दाहिँड्दै पर… तल खोँचमा रमाइलो गाउँ देखियो। यस्तै रमाइला र मनमोहक दृश्यावलोकन गर्दै विस्तारै प्रेमजी र म हिँड्ने भएकोले माइली तामाङ र केटाकेटीहरू फटाफट हिँड्न थाले। प्रेमजी फोटो खिच्‍ने कार्यमा शौखिन छन्। त्यसैले रमाइला दृश्यहरू फेला पर्नसाथ क्लिक्-क्लिक् गर्दै फोटो खिच्‍नमा व्यस्त हुन्छन्। मभने लौरी टेक्दै, समयसमयमा सिट्ठी फुक्दै अगाडि लाग्छु।

दिनको साढे एक वजे अर्थात् १३:३० बजे आइपुग्यौँ लॉकुरी भञ्ज्याङको टावर मुन्तिर। बाटोबाट पश्चिमतर्फ १०९ वटा सिँढी चढेर टावरमा पुग्यौँ। भर्खरै बन्दै गरेकोजस्तो लाग्ने एक तला  ढलान गरिएको छ। वरिपरि कुनै बारबेर छैन। झुक्किएर छेउमा पुग्यो भने भक्लक्कै लडिन्छ। मनमनै सोचेँ के यस्तो दुर्दशाको भवन पनि भ्युटावर हुन्छ र ? तर मेरो सामुन्ने यस्तै छ वास्तविक दृश्य ! हुन त योभन्दा प्रसिद्ध पर्यटकीय क्षेत्रहरू नगरकोट र नागार्जुनमा रहेका भ्युटावरका हालत पनि यस्तै छन्। तर सम्बन्धित वा सरोकारवालाले व्यवस्थित भ्युटावर निर्माण गरेर टिकट लिएर प्रयोग गर्न पाउने व्यवस्था गरिदिए आम्दानीका अब्बल स्रोत हुने थिए यी स्थानहरूका भ्युटावरहरू। केही स्थानीय बेरोजगारले रोजगारी पनि पाउने थिए। सरकारलाई पनि सानै हिस्सामा भए पनि राजश्व आम्दानी हुने थियो। तर त्यस्तो सकरात्मक सोचका दिनहरू कहिले आउलान् नेपालमा ? यस्तो दुर्दशाका दृश्य देखेर पिरोलिएँ म भित्रभित्रै।

नाम मात्रको भ्युटावर अर्थात् समुद्रको सतहदेखि १९१६ मीटर अग्लाइमा रहेको लॉकुरी भञ्ज्याङमा केही क्षण विताएर ओरालिन थाल्यौँ  तल रहेको बजारतिर प्रेमजी र म। लॉकुरी भञ्ज्याङ बजारमा आइपुग्दा १४:३० बजेको छ। पौने तीन वजे प्रस्थान गर्ने बस उभिइरहेको छ बसस्ट्यान्डमा। बसको सीट ओगटेर चिया पिउने कार्यमा जुट्यौँ प्रेमजी र म। आजको सफल पदयात्राका लागि खुशी भयौँ हामीहरू। केही नयॉ कुरा हेर्न, जान्न र बुझ्न पायौँ। सबैभन्दा बढी हर्षको कुरा प्रकृतिसँग निकट संवाद गर्न र भौगोलिकताकाबारे स्थलगत अध्ययन गर्न सफल भयौँ। आजको उपलब्धि र सफलता भनेकै यही भयो। चियाको अन्तिम सुर्को घट्ट पिएर लाग्यौँ बसतिर।

बस विस्तारै ओरालिन थाल्यो फेदिको ढुङ्गेन तथा लुभुलाई ताकेर। आनन्द र खुशीलाई मनमा खेलाउँदै जुटिरह्यौँ बस यात्रामा। हामीलाई आनन्द छ। यसबेला बसलाई हतार छ गन्तव्यमा पुग्न। त्यसैले सतर्कतापूर्वक बस दौडिरहेको छ ओरालीमा। मेरो मन भने बिहानको जुके डाँडाबाट बाङ्गेडाँडा हुँदै माथिमाथि चापाखर्कतिर उकालिरहेको छ यसबेला।