टुक्रा-टुक्रामा भेटियो जहाज, कोही जीवित भेटिएनन् - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

टुक्रा-टुक्रामा भेटियो जहाज, कोही जीवित भेटिएनन्



काठमाडौं । कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज टुक्रा टुक्रामा परिणत भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज दुर्घटनापछि टुक्रामा परिणत भएको देखिएको छ ।

उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये ११ जना विदेशी नागरिक थिए । जसमा चार जना बालबालिका थिए ।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अहिले उद्धारकार्य जारी रहेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले बताए । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।