जादुगरलाई जादुले धोका दिएपछि..... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जादुगरलाई जादुले धोका दिएपछि…..



कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा हराएका उनको मृत्यु भएको आशङ्का गरिएको छ ।

पश्चिम बङ्गालको कोलकातास्थित हुगली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिए पनि उनी नदीमै हराए ।

जादुगर नदीमा छिरेको हेर्न मानिसहरूको भीड जम्मा भएको थियो । तर जादुगर नदीबाट बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।

छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो । उनलाई एउटा डुँगाबाट पानीमा ओरालिएको थियो ।

नदीमा दुईवटा डुँगामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए । प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझदेखि खोजी गरे पनि फेला पार्न सकेका छैनन् ।

उनको शव नभेटिएसम्म मृत घोषणा गर्न नसकिने एक अधिकारीले बताएका छन् । एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्‍ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए ।

जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बताएका छन् ।

उनी भन्छन्, ‘मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ । उनी हाँसे र भने, ‘मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ । मैले गल्ती गरेँ भने यो दुःखान्त हुन्छ ।’

ती जादुगरले मानिसहरूमा ‘जादुप्रति रुचि जगाउन’ त्यसो गर्न खोजेको शलाई बताएका थिए । पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन ।

बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो । त्यतिबेला उनी सकुशल बाहिर आएका थिए । शले त्यो जादु पनि हेरेका थिए ।

उनले भने, ‘उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’

(एजेन्सी)