‘आतङ्कवादी आक्रमण’पछि नेपालले भन्यो- हामी इजरायल सरकारको साथमा छौँ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

‘आतङ्कवादी आक्रमण’पछि नेपालले भन्यो- हामी इजरायल सरकारको साथमा छौँ



काठमाडौँ । नेपालले इजरायलमाथि भएको ‘आतङ्कवादी आक्रमण’को कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिवार साँझ एक प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा भएको ‘आतङ्कवादी आक्रमण’को आलोचनासहित नेपाल सरकार इजरायलको साथमा रहेको जनाएको छ ।

‘नेपाल सरकार आज इजरायलमा भएको आतङ्कवादी आक्रमणको कडा निन्दा गर्दछ, जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै छौँ, वक्तव्यमा भनिएको छ ।

मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको बताएको छ। जसमध्ये ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । क्षतिको अरू विवरण सङ्कलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयको भनाई छ ।

इजरायलमा रहेको नेपाली दूतावास आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको जनाउँदै मन्त्रालयले दूतावासले नेपाली कामदारहरूको सुरक्षा र उद्धारका लागि इजरायली निकायहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको मन्त्रालयले केही परेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले शनिवार बिहानैदेखि गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको थियो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भई रहेका छन् ।

‘प्यालेस्टिनी आक्रमण मा अहिलेसम्म कम्तीमा सय जना मारिएको र ९ सयभन्दा बढी घाइते भएको इजरायली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।