भारत-क्यानडाबीच थप तनाव- जस्टिन ट्रुडोले जारी गरे नयाँ 'एड्भाइजरी' - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

भारत-क्यानडाबीच थप तनाव- जस्टिन ट्रुडोले जारी गरे नयाँ ‘एड्भाइजरी’



भारत र क्यानडाबीच देखिएको तिक्तता थप जटिल हुँदै गएको छ । यसैबीच क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । यसमा उसले आफ्ना नागरिकलाई ‘अत्यन्त सतर्क’ रहन भनेको छ ।

क्यानेडेली सरकारले आफ्ना नागरिकलाई ‘अभूतपूर्व सुरक्षा अवस्थाका कारण’ केन्द्र शासित प्रदेश जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ ।

मङ्गलवार जारी गरिएको यो एड्भाइजरीमा भनिएको छ, ‘ जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ । यसमा लद्दाखको यात्रा समावेश छैन ।’

यसका साथै भारतको उत्तर–पूर्वी क्षेत्रका केही क्षेत्रमा नजान पनि नागरिकलाई आग्रह गरिएको छ । पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि आग्रह गरिएको छ । क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी गरिएको हो ।

सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आशङ्का व्यक्त गरे । यसका साथै, क्यानडा सरकारले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।

त्यसको बदलामा भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो र उनलाई भारत छोड्न पाँच दिनको समय दिएको थियो ।

भारत सरकारले क्यानडाको आरोपलाई अस्वीकार गर्दै यसलाई निराधार बताएको छ । आफ्नो देशको संसद्‌मा भारतलाई आरोप लगाउने ट्रूडोले मङ्गलवार अर्को बयान दिए ।

उनले भने, ‘सिख पृथकतावादी नेताको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आशङ्का व्यक्त गर्नुको पछाडि क्यानडाको नियत भारतलाई उक्साउने नभई भारतले यो विषयलाई राम्ररी सम्हालोस् भन्ने क्यानडाको चाहना हो । ’

‘भारत सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्छ । हामीले यही गरिरहेका छौँ । हामी कसैलाई उक्साउन वा मुद्दा तान्न चाहँदैनौँ । यो अत्यन्तै गम्भीर छ र अन्तर्राष्ट्रिय कानुनमा यसको दूरगामी परिणाम हुनेछ, हामी शान्त रहनेछौँ । हामी हाम्रो लोकतान्त्रिक सिद्धान्त र मूल्य मान्यतामा अडिग रहनेछौँ । हामी प्रमाणको पालना गर्नेछौँ ।’