अर्को विश्वकपमा सर्वोत्कृष्ट टोली बनाउने इमरान खानको घोषणा - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

अर्को विश्वकपमा सर्वोत्कृष्ट टोली बनाउने इमरान खानको घोषणा



एजेन्सी – इङ्ल्याण्ड विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण पाकिस्तान लिग चरणबाटै घर फर्कियो। यसका लागि उसले घरमा आलोचना भोग्यो।

पाकिस्तानका पूर्व क्रिकेटरदेखि लिएर आम प्रशंसकको साथमा प्रधानमन्त्री इमरान खानसमेतले यसलाई सुधार्न क्रिकेट बोर्डमा हस्तक्षेप गर्नुपर्ने माग गरे।

यस्तोमा पाकिस्तानका पूर्व राष्ट्रिय कप्तान तथा विश्वकप क्रिकेट विजेतासमेत रहेका वर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आगामी विश्वकपमा लागि पाकिस्तानले संसारको उत्कृष्ट टोली तयार गर्ने दाबी गरेका छन्।

यस विश्वकपमा पाकिस्तानले आफ्नो यात्रा पाँचौ स्थानमा समापन गरेको थियो। सरफराज अहमदको कप्तानीमा इङ्ल्याण्ड गएको टोलीले ५ खेलमा मात्र जित हासिल गर्न सकेको थियो।

यस्तोमा पाकिस्तान क्रिकेट बोर्डले टोलीको समीक्षा गर्ने बताएको भएपनि हालसम्म छलफल कुनै छलफल सुरू गरेको छैन।

यसबीच अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रम इमरानले पाकिस्तानी मूलका अमेरिकी नागरिकलाई सम्बोधन गर्दै विश्वकप क्रिकेटको प्रसंग निकाल्दै टोली सुधार गर्ने र आगामी विश्वकपका लागि सर्वोत्कृष्ट टोली बनाउने योजना सार्वजनिक गरेका हुन्।

‘विश्वकपको सकिएपछि मैले पाकिस्तानको टोलीलाई सुधार्ने निर्णय गरेको छु’, सम्बोधनका क्रममा इमरानले भने।

पाकिस्तानमा प्रधानमन्त्री त्यहाँको क्रिकेट बोर्डको संरक्षक रहन्छन्।

आफ्नो कप्तानीमा पाकिस्तानलाई सन् १९९२ को विश्वकप क्रिकेट जिताएका इमरानले अगाडि भने, ‘यहाँ प्रशस्तै निराशा छन। आगामी विश्वकपमा तपाईंले पाकिस्तानको सर्वश्रेष्ठ व्यवसायिक क्रिकेट टोली देख्न पाउनुहुनेछ। मेरो कुरालाई याद राख्नुहोला।’