१० वटा रूख रोपे मात्रै स्‍नातक उपाधि - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

१० वटा रूख रोपे मात्रै स्‍नातक उपाधि



मनिला : स्नातक तह उत्तीर्ण गर्न न्यूनतम १० वटा रूख रोप्नैपर्ने नियम फिलिपिन्समा लागू गरिएको छ। जङ्गल घट्दै गएपछि फिलिपिन्सले यो नियम लागू गरेको छ। यहाँको वनक्षेत्र बीसौँ शताब्दीमा ७० प्रतिशतबाट २० प्रतिशतमा झरेको थियो। वनक्षेत्र बढाउन सरकारले नयाँ कानुन बनाउँदै यस्तो व्यवस्था गरेको हो।

यहाँको माग्दलो दलका नेता ग्यारी अलेसनोले उक्त कानुन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। यो नियम पालन भए एक पुस्ताले करिब ५ अर्ब २५ करोड रूख रोप्ने उनले बताए। तीमध्ये आधी मात्रै बाँचे पनि आगामी पुस्तालाई २ अर्ब ६२ करोड रूख उपलब्ध हुने सरकारी अनुमान छ।

अलेसनोका अनुसार नयाँ नियमअनुसार हाइस्कुलदेखि स्नातकसम्मका विद्यार्थीले वार्षिक १७ करोड ५० लाख रूख रोप्नेछन्। स्थानीय प्रजातिका रूख वन, संरक्षित क्षेत्र, सैन्य इलाका र शहरका निश्चित क्षेत्रमा रोप्नुपर्नेछ। शिक्षा विभाग र उच्च शिक्षा आयोगलाई नियम पालन गर्न आदेश दिइएको छ।

(एजेन्सी)