नेपालमा इद उल फित्र मनाइँदै - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नेपालमा इद उल फित्र मनाइँदै



काठमाडौँ –

आज देशैभरि मुस्लिम धर्मावलम्बीहरूले इद उल फित्र मनाइरहेका छन्। खुसीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ। नवौँ महिनाको अन्तिम दिन मङ्गलबार बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फित्र मनाउन लागिएको हो।

इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यसबराबर चालू बजार भाउ अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ। यसलाई जकात भनिन्छ।

इद उल फित्रको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ। हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ। स्नान गरेर नयाँ कपडा लगाई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ। यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ ।

नमाज पढिसकेपछि आफन्त, छरछिमेक र इष्टमित्र सँग अँगालो मार्दै शुभकामना आदानप्रदान गरिन्छ।