लेख : पुस्तक प्रकाशन कसरी गर्ने ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लेख : पुस्तक प्रकाशन कसरी गर्ने ?



-कृष्ण आचार्य

यसअघि लेखक कसरी बन्ने भन्नेबारे एक सामग्री प्रकाशित भएको थियो। धेरैले मन पराउनुभयो र त्यसपछि पुस्तक प्रकाशनका लागि के गर्नुपर्छ भन्नेबारे पनि लेखिदिन आग्रह गर्नुभयो। म लेखक भएकाले पुस्तक प्रकाशनबारे लेख्दा प्राविधिक रूपमा अलि नमिल्दो होला। तर, आफ्नै पुस्तक प्रकाशन गर्दाका थुप्रै अनुभवहरू मसँग छन्। त्यस्तै साथीभाइ र प्रकाशकहरूसँगको सङ्गतले पनि धेरै कुरा बुझ्न पाएको छु। त्यसकै आधारमा यहाँ केही कुराहरू राख्दै छु। साथै, यसअघि लेखक कसरी बन्ने भन्ने नपढ्नु भएकाहरूलाई यो लिङ्क उपलब्ध गराइएको छ। त्यो पढेरमात्र पुस्तक प्रकाशनबारे पढ्नुभयो भने फलदायी होला भन्ने मेरो अपेक्षा हो।

– यदि तपाईँले लेखक बन्नका लागि आवश्यक आधारहरू पार गर्नुभयो भने पुस्तक प्रकाशनका लागि निकै सहज हुन्छ। पुस्तक प्रकाशनअघि नै तपाईँका लेख–रचनाले मिडियामा स्थान पाइसकेका छन्। यसको मतलब तपाईँ धेरैको नजरमा परिसक्नुभएको छ। प्रकाशन गृहले तपाईँमाथि नजर घुमाइसकेको छ।

– तपाईँले आफ्नो पाण्डुलिपि आफूभन्दा सिनियरलाई दिइसक्नुभएको छ। यदि तपाईँले राम्रो लेख्नुभएको छ भने उहाँहरूमार्फत नै प्रकाशककहाँ कुरा पुग्छ। चिया गफ गर्दा तपाईँको लेखाई र सम्भावनाबारे चर्चा गरिन्छ। यसरी पनि कुरा प्रकाशककहाँ पुग्छ र तपाईँको आफै खोजी हुन सक्छ। तर, फोन नआउन पनि सक्छ।

– तपाईँले सुरुमा केही राम्रा (नाम चलेका) प्रकाशन गृहलाई फोन गर्नुपर्ने हुन्छ। फोनमा आफ्नो परिचय दिनुहोस्। तपाईँका रचना मिडियामा आइसकेकाले सायद तपाईँलाई उहाँले चिनिसक्नुभयो। यदि छैन भने पनि जानकारी दिनुहोस् अनि पुस्तकबारे बताउनुहोस्। सकेसम्म पुस्तकबारे फोनमा भन्दा पनि भेटेर कुरा गर्दा अझ राम्रो।

– यदि तपाईँले चिनेको वा नजिकको ब्यक्ति छ र उसको सम्बन्ध प्रकाशन गृहसँग छ भने ऊमार्फत जाँदा पनि राम्रो हुन्छ। त्यसो गर्दा रेस्पोन्स राम्रो आउँछ। नचिनेपछि कृति राम्रो छ भने पनि त्यसको वास्ता नहुन वा महत्त्व नपाउन पनि सक्छ तर, चिनेपछि राम्रो कृति सकेसम्म मर्न पाउँदैन।

– सम्पर्क गरेपछि प्रकाशन गृहले कि तपाईँलाई कुनै अंश मेल गरिदिन भन्छ वा भेट्न बोलाउँछ या म पछि फोन गर्छु भन्ने जबाफ आउँछ। यस्तोमा तपाईँ चुक्नुहुन्न। सकेसम्म भेटेरै पाण्डुलिपि दिने वातावरण बनाउनुपर्छ। यदि पछि फोन गर्छु भनेर फोन आएन भने पनि तपाईँले आफैँ सम्झाउनुहोस्। तर, त्यति गर्दा पनि कुनै रेस्पोन्स आएन भने बुझ्नुहोस् गृहले तपाईँप्रति चासो देखाएन। अब बारम्बार फोन गरिरहनुको कुनै तुक छैन।

– यदि तपाईँलाई मेल पठाउन भनिएको छ वा पाण्डुलिपि लगिएको छ भने फलो गर्नुहोस्। धेरै लामो समय झुलाउने सम्भावना रहन्छ। उत्तर हुन्छ वा हुँदैनमा खोज्नुहोस्। यहाँ हेर्दै छु भनेर ६ महिना, १ वर्ष झुलाउने प्रकाशन गृह पनि छन्। त्यस्ता पीडित लेखकहरू मैले पनि थुप्रै भेटेको छु।

– तपाईँको पाण्डुलिपि रिजेक्ट भयो भने तपाईँ अन्य विकल्पमा जानुहोस्। एउटा प्रकाशन गृहलाई मन नपरेको कृति अर्कोलाई मनपर्न सक्छ। त्यसैले अन्य २–३ वटा गृहसँग पहिले कै जसरी डिल गर्नुहोस्।

– तपाईँको रचना मन पऱ्यो भने प्रकाशन गृह कृति प्रकाशन गर्न सहमत हुन्छ। त्यसपछि एउटा सहमति पत्रमा हस्ताक्षर हुन्छ। त्यसमा मुख्यगरी २ वटा कुरामा ध्यान दिनुपर्ने हुन्छ। एउटा रोयल्टी र अर्को समयावधि। सुरुवाती चरणमा १० वा १५ प्रतिशत रोयल्टी दिइन्छ। वा आपसी समझदारीमा अन्य सहमति पनि गर्न सकिन्छ। त्यस्तै, कति समयसम्म तपाईँको कृतिको हकदार प्रकाशन गृह रहने भन्नेमा २ वर्षसम्म सहमति गर्दा राम्रो। यसमा पनि आपसी सहमतिमा कुरा मिलाउन सकिन्छ तर, धेरै लामो समय नराख्‍नु होला।

– कुनै प्रकाशन गृहले तपाईँको कृति प्रकाशन गरेबापत उल्टै तपाईँसँग पैसा माग्न सक्छन्। यति पैसा लाग्छ भनिदिन्छन्। त्यसको मतलब तपाईँको कृतिप्रति उनीहरू आशावादी छैनन्। त्यसैले त्यस कुरालाई मनन गरेर तपाईँले आफ्नो कृतिलाई अझ अब्बल बनाउनतर्फ लाग्‍नुपर्छ। यदि लेखक नै बन्ने हो भने आफ्नो कृति रोयल्टी नै लिनेगरी सहमति गरेर प्रकाशन गर्ने वातावरण बनाउन सक्नुपर्छ। लामो समयको मेहनत र परिश्रमलाई त्यत्तिकै मर्न दिनु हुँदैन।

– प्रकाशन गृहसँग सहमति गर्दा कति समयमा कृति प्रकाशन गर्ने हो पहिल्यै स्पष्ट हुनुपर्छ। साथै, रोयल्टी, पहिलो संस्करणमा कति प्रति प्रकाशन गर्ने, अधिकार समयावधि, स्वामीत्व आदिबारे लिखित सहमति गर्नुपर्छ। यसो गर्दा भोलि तपाईँ कानुनी रूपमा बलियो हुनहुन्छ।

– प्रकाशन गर्ने सहमति भएपछि सम्पादनका क्रममा धेरै काँटछाँट वा थपघट हुनसक्छ। तपाईँ आफ्नो कृतिको थिम मर्न नदिन सचेत हुनुपर्छ। साथै, कभर डिजाइन, कृतिको शीर्षकको विषयमा पनि विशेष ध्यान दिनुपर्छ। कन्टेन्टसँगै आकर्षक शीर्षक र कभर पनि आवश्यक छ।

– लेखक र प्रकाशन गृहबीच सबैभन्दा महत्त्वपूर्ण भनेको आपसी विश्वास हो। प्रकाशन गृहले १ हजार पुस्तक छाप्ने सहमति गरेर २ हजार छापे, पहिलो संस्करण सकिएर थप प्रिन्ट गरेर छापे तर लेखकलाई भनेनन् भन्नेजस्ता कुराहरू बजारमा सुनिन्छन्। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा विश्वास हो। तपाईँ आफैँ पनि आफ्नो पुस्तक कति बिक्यो भन्ने बजारको मागअनुसार अनुमान लगाउन सक्नुहुन्छ। तर, यस्ता कुरामा तेस्रो ब्यक्तिलाई सुनेर आबेगमा आउनु उचित हुँदैन।

– तपाईँले आफ्नो किताब र प्रकाशन गृहबाट धेरै अपेक्षा गर्नु गलत हुन्छ। मेरो किताब ५ हजार वा यति बिक्छ भनेर पहिल्यै परिकल्पना गर्नु गलत हो। साथै, प्रकाशन गृहले प्रमोसन गरिदिएन, जिल्ला–जिल्लामा कार्यक्रम गरिदिएन भनेर होहल्ला गर्ने कुरा पनि फगत हुन्। सकेसम्म यस्ता कार्यक्रम आफैँ मिलाउनुपर्छ। वा पहिल्यै प्रकाशन गृहसँग सहमति गर्नुपर्छ। यदि तपाईँको पुस्तक राम्रो छ भने पाठकले माग गरिहाल्छन्।

– पुस्तक छाप्ने सहमति भएपछि भाषा, सम्पादन, कभर डिजाइन, प्रिन्ट गर्दा कम्तिमा ६ महिनाको समय लाग्न सक्छ। केही प्रकाशन गृहले त २–३ वर्षसम्म पनि झुलाएका उदाहरण छन्। यसतर्फ पहिल्यै सचेत हुनुपर्छ।

– पुस्तक प्रकाशन गर्न कोही पनि तयार भएन भने निराश हुनु हुँदैन। यदि तपाईँ लेखक नै बन्ने हो भने अझ धेरै पुस्तकहरू पढेर अझ राम्रो लेख्‍ने दुस्साहस कस्नुपर्छ। तपाईँलाई शुभकामना छ।

– तपाईँले आफैँ पुस्तक प्रकाशन गर्ने गल्ती कदापी गर्नुहुँदैन। अर्थात्, त्रिविमा एउटा फर्म भरेर आईएसबिएन नम्बर लिएर आफ्नै नाममा पुस्तक प्रकाशन गर्न सकिन्छ। धेरैले सोच्ने गर्छन्, मै किताब निकाल्छु र बेचेर आएको फाइदा पनि मै लिन्छु। तर, त्यो सोच गलत हो। प्रकाशन गृहको देशव्यापीरूपमा आफ्नो सञ्जाल हुन्छ। देशभर पुस्तक पठाउने काम गर्छन्। त्यै पनि त्यत्रो कारोबार गर्नेलाई पैसा उठाउन गाह्रो हुन्छ। तपाईँ आफै हिँड्नुभयो भने पुस्तक पसलले किताब राख्‍ने सम्भावना कम हुन्छ, राखिदिए पनि पैसा पाउनुहुन्न ढुक्क हुनुस्। डिस्ट्रिब्युटरमार्फत जान्छु भन्यो भने पनि उसले ४० प्रतिशत मुनाफा लान्छ, किताब बिकेको छैन, आएको छैन भनेर झुलाइदिन्छ र तपाईँ फस्नुहुन्छ। प्रिन्टदेखि विमोचन र सेटिङ गर्दासम्म तपाईँको तनाव त छँदैछ। मै हुँ भन्नेहरू पनि यसरी किताब निकाल्दा फँसेका छन्। ख्याल गर्नुहोला।