कविता : इबादानको फूल - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

कविता : इबादानको फूल



–  हिक्मत थापा 

इबादानको फूल

गाउँबाट सहर आउँदा

तरुल रोप्‍न तयार पारेका

माटाका  थुप्रा झैँ ,

माटाकै गन्धमा

लत्पतिँदै ऊ पुगी होलि

बडेमाको यो सहरमा

जहाँ ,

सडकमा

रोग बेचिन्छन्

शोक बेचिन्छन्

बेचिन्छन् खुसीहरू ,

प्रत्येक सप्ताहान्तको अन्तमा

पेटीमा लाग्‍ने –  “बार” र क्लबका

रङ्गीन उन्मादझैँ

मुर्झाउन्छन्  भोलिपल्ट  ।

 

ऊ पनि  कतै

कुप्रुक्क परेर

बसी होलि यतै कतै भित्तातिर

नफुल्नु अघि

यो सहरमा ,फुल्नुछ भनि  सम्झेर…….

+++

सहर हो ,

सात पहाडको सहर ,

सातै पटक ऊ हराई यतै कतै ,

कहिले

पुरानो पर्खालको यता

कहिले

पुरानो पर्खालको उता

उपनिवेशकालका मालिक गोराहरूका

प्रेतात्मासँग

आत्तिँदै

मात्तिँदै

यो सहरको चौबाटोमा

माटोको बास्ना पखालेर

यतै छेउको आधुनिक मलको, अत्तरको बास्ना फ्याँक्दै

आज

सुक्खायाम पछिको पहिलो झरीमै ,

उ फुली छ, अलिकति

सौन्दर्य निखारेर कोपिलामै ,

कहिल्यै अब फक्रन नपर्नेगरि

इबादानको फूल , इबादानकै माटामा  ।

लेगोस , नाइजेरिया, अफ्रिका

( इबादान : नाइजेरियाको सबै भन्दा ठूलो र पुरानो सहर )