कविता : इबादानको फूल
– हिक्मत थापा
इबादानको फूल
गाउँबाट सहर आउँदा
तरुल रोप्न तयार पारेका
माटाका थुप्रा झैँ ,
माटाकै गन्धमा
लत्पतिँदै ऊ पुगी होलि
बडेमाको यो सहरमा
जहाँ ,
सडकमा
रोग बेचिन्छन्
शोक बेचिन्छन्
र
बेचिन्छन् खुसीहरू ,
प्रत्येक सप्ताहान्तको अन्तमा
पेटीमा लाग्ने – “बार” र क्लबका
रङ्गीन उन्मादझैँ
र
मुर्झाउन्छन् भोलिपल्ट ।
ऊ पनि कतै
कुप्रुक्क परेर
बसी होलि यतै कतै भित्तातिर
नफुल्नु अघि
यो सहरमा ,फुल्नुछ भनि सम्झेर…….
+++
सहर हो ,
सात पहाडको सहर ,
सातै पटक ऊ हराई यतै कतै ,
कहिले
पुरानो पर्खालको यता
कहिले
पुरानो पर्खालको उता
उपनिवेशकालका मालिक गोराहरूका
प्रेतात्मासँग
र
आत्तिँदै
मात्तिँदै
यो सहरको चौबाटोमा
माटोको बास्ना पखालेर
यतै छेउको आधुनिक मलको, अत्तरको बास्ना फ्याँक्दै
आज
सुक्खायाम पछिको पहिलो झरीमै ,
उ फुली छ, अलिकति
सौन्दर्य निखारेर कोपिलामै ,
कहिल्यै अब फक्रन नपर्नेगरि
इबादानको फूल , इबादानकै माटामा ।
लेगोस , नाइजेरिया, अफ्रिका
( इबादान : नाइजेरियाको सबै भन्दा ठूलो र पुरानो सहर )