कविताको मठाधीश मै हुँ भन्ने जानिफकारहरूका नाममा - हेम प्रभास - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

कविताको मठाधीश मै हुँ भन्ने जानिफकारहरूका नाममा – हेम प्रभास



A symbol, in the broadest sense of the term is anything which signifies something else; in this sense all words are a symbolic.

१. संसारमा धेरै कुरा बहुमान्य हुन्छन्, केही पनि सर्वमान्य हुँदैन, एउटै भगवान्‌लाई पनि सबैले मान्दैनन् । कविता कलाको उच्चतम नमुना त हो तर अरू चिजवस्तुजस्तै एउटालाई आफ्नो फ्रेमअनुरूपको मन परेको कविता अर्कोलाई त्यसैगरी मन नपर्न पनि सक्छ, त्यो म पनि धेरथोर जान्दछु ।

२. विगत २० वर्षदेखि कविता पढ्दै, लेख्दै, छाप्दै, वाचन गर्दै, कविताको अन्तर्दृष्टि पहिल्याउन हिँडेको म कवितालाई खेलाँचीका रूपमा लिने मान्छे होइन । देशका प्रतिष्ठित ३ दर्जनभन्दा बढी पत्रपत्रिकामा कविता छापिएको, कविताको ३ वटा सँगालो प्रकाशन गरिसकेको, कवितै लेखेर यसअघि ६ वटा राष्ट्रिय र एउटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको, टिकटमा कविता सुनाउँदै हिँडेको एउटा कवितालेखकको हैसियतले पनि मलाई कवितामाथि खेलाँची गर्न दिँदैन ।

३. कविताको टोन, डिक्सन, इमाजिनरी, फिगर अफ स्पिच, सिम्बोलिज्म, सिन्ट्याक्स, साउन्ड, राइम, रिदम, स्टक्चर र मिटरबारे सैद्धान्तिक रूपमा अध्ययन गरी यो देशको विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको शिक्षार्थीको हैसियतले म आफूले लेखेका कवितापुञ्जमाथि आफैँले विश्लेषण गर्न सक्ने ल्याकत पनि राख्दछु ।

४. यो कविता राम्रो, यो नराम्रो, यो ठीकै, यो औषत भनेर कवितामाथि टिप्पणी गर्ने, खिसीट्युरी गर्ने आधार केके हुन् ? मन पऱ्यो, मन पर्नुको कारण के ? मन परेन, मन नपर्नुको कारण के ? यो कवितै होइन भनेर कविताका बारे जसले बोल्दछ, त्यस मानिसमा कवित्व शून्य छ भन्ने बुझाइ छ कम्तीमा मेरो ।

५. कविताको कथनपद्धति के हो ? शैलीशिल्प केकस्ता छन् ? थाहै नभई कविता भएन, निबन्ध भयो, चिठी भयो भन्नेहरूप्रति दया जगाउनबाहेक अरू केही गर्न सकिन्न । कविताभित्र संवाद हुन्छ, निबन्ध हुन्छ, कथा, हुन्छ, नाटक हुन्छ । यी सबै हुने भएकोले नै विश्वमै कवितालाई कलाका सात रूपमध्ये एक मानिएको हो । वर्णनात्मक शैली, सूत्रात्मक शैली, पत्रात्मक शैली, आख्यानात्मक शैलीलगायत विविध शैलीमा कविता रचिँदैन, तपाईँले सोचेजस्तो मात्रै कविता हुन्छ भनेर कुन शास्त्रमा लेखिएको छ ?

६. नेपाल प्रज्ञाप्रतिष्ठान, राष्ट्रिय कविता महोत्सव मेरो दृष्टिमा कुनै कविता प्रतियोगिता होइन, भैरव अर्याल, वानीरा गिरी, श्यामदास वैष्णव, मञ्जुल, कञ्चन पुडासैनी, वासुदेव त्रिपाठी, शैलेन्द्र साकार, कालीप्रसाद रिजाल, कृष्णप्रसाद पराजुली, क्षेत्रप्रताप अधिकारी, भैरवनाथ रिमाल कदम, हरि अधिकारी, हिरण्य भोजपुरे, दैवज्ञराज न्यौपाने, घटराज भट्टराई, भरतराज पन्त, विश्वविमोहन श्रेष्ठ, राजेन्द्र थापा, शिव अधिकारी, मुकुन्दशरण उपाध्याय, यज्ञनिधि दाहाल, सरुभक्त, हेमन्त श्रेष्ठ, विनोद अश्रुमाली, अशेष मल्ल, भानुभक्त पोखरेल, दिनेश अधिकारी, कृष्णभूषण बल, विजय बजिमय, बूँद राना, रामबाबु सुवेदी, दुबसु क्षत्री, जीवनाथ धमला, उषा शेरचन, लालगोपाल सुवेदी, श्रवण मुकारुङ, भीष्म उप्रेती, रमेश क्षितिज, प्रमोद स्नेही, बुद्धिसागरजस्ता स्वनामधन्य स्रष्टाहरु पुरस्कृत भएको मञ्च हो, यही मञ्चबाट म पनि पुरस्कृत भएको हुँ । यही महोत्सवमा कविता पठाएर, वाचनमा परेर, नपरेर, पुरस्कार पाएर, नपाएर स्थापित कवि भएकाहरु प्रशस्तै छन् देशमा । यो महोत्सव मेरो बुझाइमा कविता अभ्यास गर्ने सेतु पनि हो ।

७. तपाईँलाई यो कविता महोत्सव मन पर्दैन, त्यो तपाईँको कुरा हो । तपाईँ यसमा भिड्नुहुन्न, त्यो तपाईँको कुरा हो । तपाईँको कविता वाचनका लागि छनोटमा परेन, त्यो तपाईँको कुरा हो । तपाईँले वाचन गरेर पुरस्कार पाउनुभएन, त्यो तपाईँको कुरा हो । कोटामा विजयी हुन्छन्, यसलाई दिने भनेर निर्णय गर्छन्, यो प्रगतिशील हो, यो होइन, यसको राम्रो थियो, यसको थिएन, यसले पायो, मैले पाइन, मेरो मान्छेले पुरस्कार पाएन …. यी सब तपाईँका धारणा हुन्, तपाईँ आफ्नो धारणामा स्वतन्त्र हुनुहुन्छ । तपाईँलाई यो मनै पर्दैन, किन टाउको दुखाउनुहुन्छ ? तपाईँ महोत्सवमा पुरस्कृत भएभन्दा राम्रा कविता लेख्नुहुन्छ, किन बुझाउनुहुन्न ? तपाईँलाई यो मनै पर्दैन त किन यसैका बारे सोचिबस्नुहुन्छ ? अरे बाबा, तपाईँलाई चाहिएको चाहिँ के हो ?

८. मैले कविता लेखेँ, बुझाएँ, छनोटमा परेँ, पुरस्कृत भएँ, फोन, म्यासेज, स्टेटसमार्फत् एक हजारभन्दा बढी स्रस्टाहरूबाट शुभकामना पाएँ, बधाई पाएँ, तपाईँलाई चित्त बुझेन त म के गरूँ ? जानुस् न एकेडेमीमा गएर मेरो जस्तो पाङ्दुरे कवितालाई किन पुरस्कृत गऱ्यो भनेर नालिस दिनुस् । रोइलो गरेर, रोएर, कराएर, खिस्याएर हुने केही पनि हैन । कि भिड्नुस्, कि कुना पसेर रुनुस् । ककसले आफ्नो कविता वाचनमा नपरेर, पुरस्कार नपाएर कुन्ठा पोखिरहेका छन्, त्यो पनि म धेरथोर जान्दछु, तपाईँले सकेको गर्नुस् र आफ्नो व्यक्तित्वको परिचय दिनुस् ।

९. यो जातिको पऱ्यो, यो जातिको परेन । यो पार्टीको पर्यो, यो पार्टीको परेन भनेर कम्तीमा तपाईँजत्तिको बौद्धिक मान्छेले आफ्नो हाइट नघटाउनुस् । मलाई थाहा छ, म पुरस्कृत नभएको भए यत्तिको मान्छेको कविता पुरस्कृत नगरेर एकेडेमीले गर्न खोजेको के हो भन्दै रोइलो गर्ने तपाईँ नै हुनुहुन्थ्यो । वाचनको समेत मूल्याङ्कन गरेर दुई चरणको अङ्क जोडिसकेपछि प्राज्ञ परिषद्को लामो बैठक बसी अन्त्यमा निस्केको नतिजालाई स्टेटस इडिट गरेर पहिले नै नतिजा आएको हो भन्ने तपाईँजत्तिको मूर्ख त दुनियाँमा सायदै कम होलान् । पार्टी, वाद र कोटा हेरेर पुरस्कृत गरेको भए ढुक्क हुनुस्, मैले पुरस्कार पाउने थिइनँ, सायद यो कुरा धेरैलाई थाहा छ । म त एकेडेमीको यस खालको मूल्याङ्कनलाई सलाम गर्छु ।

१०. मेरो यसपटक पुरस्कृत कविता मैले लेखेको सबैभन्दा पछिल्लो कविता हो, तपाईँ यसलाई कविता नमान्न सक्नुहुन्छ, मेरो कुनै आपत्ति छैन । हाल चालीस लाखभन्दा बढी युवाहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन्, तिनलाई आफ्नो देशमा फर्किन आह्वान गर्नु आजको समसामयिक परिघटना हो कि होइन ? ए… सन्दर्भ ठीक छ, काव्यिक भएन भन्नुभएको ? तपाईँ यहाँ नभएपछि रोइकराइ गरेँ भन्दा चाहिँ कविता हुने, हजुरलाई आँखामा सजाएको छु, हजुर खस्नुहोला सोचेर आजसम्म रोएको छैन भन्दा चाहिँ कविता नहुने ? यो भन्दा ठूलो क्रान्तिकारिता के हो ? कि मैले पनि तपाईँले झैँ सिंहदरबारमा ढुङ्गा हान्छु भन्ने किसिमको क्रान्तिकारी हरफ लेख्नुपर्यो ? तपाईँ मलाई कविता पढाउन चाहनुहुन्छ भने कम्तीमा मलाई सिकाउन सक्ने सामाथ्र्य राख्नुस् । सुक्दै गए सुन्तलाका बोटहरु भन्दा तपाईँ गाउँ र सुन्तला सम्झिनुहुन्छ, एकछिन छातीमा हात राखेर सोच्नुस्, मैले तपाईँको बुझाइजस्तो कवितामा अभिधाको लागि मात्र शब्द खर्च गर्दिनँ, लक्षणा र व्यञ्जनाको तहमा पुग्ने कोसिस गर्नुस् । सिउँदोको सिन्दूर र सौभाग्यको चुरा पूर्वीय सभ्यताको परिचायक विम्ब हो, पौरस्त्य दर्शनको महिमा तपाईँले चिया खाएर अरुलाई हिक्याएको जस्तो कदापि हुँदैन । तपाईँ जतिसुकै आधुनिक भए पनि घाम पूर्वबाटै उदाउँछ ।

११. मैले सुरुमै कविताको विम्बविधानमाथिको सर्वव्यापी मान्यता उल्लेख गरेको छु, भाषामा प्रयुक्त सम्पूर्ण शब्द विम्बात्मक हुन्छन् । सादृश्यविधान र अदृश्य ध्वनिको खोजी नै कविताको व्यञ्जनाधर्मिता हो सोचेर मैले कविता यसो अलिअलि कोरिरहेको छु, मैले आफूलाई कवि ठान्दिनँ, धेरथोर कविहृदय छ भन्ने सोच्छु ।

१२. मैले यी कुराहरु लेख्नु कम्तीमा तपाईँका लागि आवश्यक थिएन ।कविता महोत्सवमाथि मलाई लागेको कुरा यत्ति हो । यसमा केकस्ता कमेन्ट आउँछन्, त्यसमा बहस गरेर बस्नु पनि आवश्यक हुँदैन । अनावश्यक कुराहरुमा अल्झिनुको अर्को नाम पनि हो रहेछ जिन्दगी । हाहाहा …..
तपाईंहरूलाई धन्यवाद ।