पठाइदे !
-हेमन्त गिरी
बाबा भन्नुहुन्छ-
काँध पाटियो केटा,पैसा पठाइदे !
सङ्गिनी भन्छिन्-
अब घर बनाएर छुट्टै बस्नु पर्छ
जे पठाउने हो, छुट्टै पठाइस्योस् !
भाइ भन्छ-
अत्ति भो दाइ,
संसार खिच्छु, क्यामेरा पठाइदे !
बैनी भन्छे-
लाजको मर्नु भो दादा,
मेख मार्ने मोबाइल पठाइदिनुस् !
कहिलेकाहीँ दिदीले सुनाउनुहुन्छ-
भिनाजुको नाडीमा राम्रो घडी छैन,
जोरीपारीमा इज्जतै जोगिन्न !
दाइले सिधै भन्नुहुन्न-
बिजनेस गर्न लगानी पुगेको छैन,
यो शिर आज सम्म अन्त झुकेको छैन !
भाउजू झन् आस नै गर्नु हुन्न-
हामीलाई त के नै पो पठाउँथे !
ठुला बडा देवरले ?!
साथीहरू भन्छन्-
के पठाउलास् र तँ जस्तो चुइयाँले
अरू छोड्, दुई चार वटा कालो बोतल पठाइदे !
सरकार भन्छ-
एक्लै भइस् भने बरु,अरू साथी पठाइदिन्छु
खुरुखुरु रेमिटेन्स पठाइदे !
महत्त्वाकाङ्क्षीहरू भन्छन्-
हामी माथि पुग्ने सिँढी बनिदे
अलिकति समाजसेवा पठाइदे !
आमा मात्र एउटी छन् जो
मक्किएका मन लिएर
भत्किएको आँगनमा उभिन्छिन् !
सुटुक्क आँखाको बादललाई
आशाको पानीले पखालेर हेर्छिन्-
आउने जाने चिल गाडीहरूलाई !
र
चुप्पी साँधेर भन्छिन्-
ईश्वर हे !
मेरो सानेलाई छिट्टै घर पठाइदे !!
✍️हेमन्त गिरी, जापान