कविता : ‘परदेश गएका पतिका नाममा’ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

कविता : ‘परदेश गएका पतिका नाममा’



~हेम प्रभास~

(राष्ट्रिय कविता महोत्सव २०७६ को प्रथम पुरस्कारप्राप्त कविता)

मेरो हजुर
मैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु,
हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन

सम्झन्छु– यतिखेर मर्मत गर्दै गर्नुहोला हजुर–
अग्ला सपिङ सेन्टर
कति चुहिएको होला पसिना– त्यो बिरानो ठाउँमा
रुमाल छ कि छैन होला गोजीमा ?
मेरो हजुर
फुस्रा भित्ताहरूमा कमेरो पोत्न डराउने मान्छे
त्यति अग्लो घरमा झुण्डेर कसरी लगाउनुभयो होला रङ ?
फोटो देखेपछि खूब आत्तेको छ यो मन ?

हजुर नभएपछि बाँझो पल्टियो गैह्रीखेत
सुक्दै गए सुन्तलका बोटहरू
क्यालेन्डरमा गोलो लगाएर, नङले भित्तो कोतरेर
औँलाहरू भाँचेर दिन गन्न थालेको पनि वर्षौँ भयो
आकाशतिर हेर्छु – चराजस्ता बादलहरू ओहोरदोहोर गरिरहेछन्
फाँटतिर हेर्छु – बतासको लहर आउँदैजाँदै गरिरहेछन्
मेरो राजा,
मेरा आँखाभरि खुसीको आँसु भरिनेगरी हजुर कहिले आउनुहुन्छ ?

बरु, मलाई चाहिँदैन आइफोन
चाहिँदैन मलाई सुनको चुरा
अलिकति रङ लिएर आउनुहोस्
र, खुइलिन लागेको झन्डालाई सिँगारिदिनुहोस्
हजुरलाई मेरो सिउँदोको रातो सिन्दूरको कसम
हजुरलाई मेरो सौभाग्यको चुरापोतेको कसम
हजुरलाई मेरो जिन्दगीको कसम
मेरो परान
मैले मात्र होइन,
आज यो देशले पनि हजुरलाई पर्खिरहेछ ।

-0-

कविजीलाई  हिमालपोस्ट परिवारको तर्फबाट बधाई तथा शुभकामना !