उफ्... काठमाडौँको गर्मी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

उफ्… काठमाडौँको गर्मी



विगत केही दिनदेखि काठमाण्डू उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन थालेका छन्।

कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाण्डूमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्।

जल तथा मौसम विभागका विगत केही दिनको विवरणहरू हेर्दा पनि कतिपय तराईका शहरहरू र काठमाण्डू उपत्यकामा तापक्रम उस्तैउस्तै देखिएको छ।

उपत्यकावासीका भनाइमा काठमाण्डूमा विगत केही वर्षदेखि हरेक वर्ष गर्मी बढेको महसुस हुने गरेको छ।

विभागका अनुसार शनिवार काठाण्डूको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसम्म पुगेको थियो भने आइतवार दिउँसो ३२ डिग्री सेल्सियसकै हाराहारी तापक्रम पुगेको छ।

शनिवार विराटनगरको तापक्रम ३४.५ डिग्री सेल्सियस थियो।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसम विज्ञ अर्चना श्रेष्ठले बीबीसी नेपाली सेवालाई भनिन्: “यसपटक गर्मी बढेको अनुभव गर्नुमा जलवायु परिवर्तन र बढ्दो शहरीकरण नै हो।”

हामीले काठमाण्डू उपत्यकामा साच्चै हरेक वर्ष तापक्रम बढ्दै गएको हो वा मानिसहरूलाई त्यस्तो अनुभूति मात्र भएको हो? भनी मौसम विज्ञ श्रेष्ठलाई सोधेका थियौँ।

काठमाण्डूको तापक्रम र मौसमका बारेमा श्रेष्ठको भनाइ उनकै शब्दमा:

सामान्यरूपमा विगत ४० वर्षको विवरण हेर्दा काठमाण्डूमा र पहाडी क्षेत्रमा मनसुनपूर्व र मनसुनका बेलामा अधिकतम तापक्रम बढ्दै गएको देखिन्छ।

सन् १९७१ देखि २०१४ सम्मको तुलना गर्दा यी क्षेत्रमा हरेक वर्ष ०.४५ डिग्री सेल्सियसको दरले तापक्रम बढेको देखिन्छ।

तर गत वर्षकै तुलनामा यसपटक गर्मी बढेको अनुभव गर्नुमा चाहिँ प्राकृतिक रूपमा तापक्रम वृद्धि भएको भन्दा पनि अन्य कारण छन्।

नासाले बनाएको २०१४ देखि २०१९ सम्मको विश्वको तापक्रमको अवस्था – रातो देखिएका स्थानहरू औसतभन्दा बढी तापक्रम भएका।

त्यसको एउटा कारण भनेको काठमाण्डू उपत्यकामा बढ्दो शहरीकरण नै हो।

यस क्षेत्रमा न हरियाली छ, न त भेन्टिलेसन राखेर हावा वारपार हुने गरि घर बनाइन्छ। यसले गर्दा यो क्षेत्रमा आद्रता बढिरहेको छ।

जसका कारण मानिसहरूले एकदमै गर्मी र अफ्ट्यारो अनुभव गर्ने गरेका छन्।

जलवायु परिवर्तनको अनुकूलन सम्बन्धी एउटा अध्ययन गर्दा हामीले काठमाण्डू मात्र होइन अन्य पहाडी क्षेत्रमा पनि तराईको तुलनामा तापक्रम अझ धेरै बढेको पाएका छौँ।

हरेक वर्ष यस्तो अवस्था देखिनुको कारण भनेको जलवायु परिवर्तन र विश्वभर भएको तापमान वृद्धि नै हो।

पहाडमा नै किन बढी असर देखियो भन्नेमा एउटै कुरालाई मात्र कारणका रूपमा हेरेर हुँदैन।

तर चिसो क्षेत्रमा तापक्रम एकदमै संवेदनशील हुने भएकाले तापक्रम छिटो बढेको हुनसक्छ।

काठमाण्डूमा गएको ४० वर्षमा सबैभन्दा अधितकतम तापक्रम साढे ३६ डिग्री सेल्सियससम्म पुगेको रेकर्ड छ।

सन् १९८९ मे ७ तारिखका दिन काठमाण्डूको तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो।

जुन महिनाको हेर्दा चाहिँ सबैभन्दा बढी तापक्रम सन् २०१२ मा ३५.२ डिग्री सेल्सियससम्म पुगेको देखिन्छ।

काठमाण्डू र अन्य उपत्यका क्षेत्रमा गर्मी बढ्दा पानी पर्ने सम्भावना पनि धेरै हुन्छ।

तर त्यसका लागि वातावरण कस्तो छ भन्ने पनि हेर्नुपर्छ।

पोल्ने खालको घाम लाग्दा पानी पर्दैन तर धेरै पसिना आउने खालको गर्मी बढ्यो भने पानी पर्ने सम्भावना हुन्छ।

(बीबीसी)