सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउन ज्ञानेन्द्र शाहीको प्रस्ताव - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउन ज्ञानेन्द्र शाहीको प्रस्ताव



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउने नीति लागू गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागु गरेमात्रै सरकारी विद्यालयमा सुधार हुने बताए।

‘सम्माननीय, माननीयज्यूको पुत्र, छोराछोरीलाई नेपालको सरकारी स्कुलमा पढाऔं,’ शाहीले भने, ‘आजदेखि नीति लागु गरौं तब मात्र नेपालको सरकारी विद्यालय सुध्रिन्छन्।’

शाहीले समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानता साथ अगाडि बढाउने हिम्मत राख्न सक्नुपर्ने पनि बताए।

‘समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानका साथ अगाडि बढाउन हिम्मत राख्न सक्नुपर्छ,’ शाहीले कर्णाली प्रदेशको विकासका लागि सरकारले बजेटमा विभेद गरेको गुनासो गर्दै भने, ‘होइन भने कर्णाली यो देशभित्र पर्छ कि पर्दैन यो कुराको अवगत अब गराउनु पर्ने आवश्यकता छ।’

उनले पछिल्लो समय चर्चित गीच ‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा’ स्मरण गर्दै आफूहरु हुम्लामा मोटर गाडी पुग्ने रहरमा बसेको पनि बताए।