धमाधम बन्दै आगलागी क्षेत्रमा घरहरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

धमाधम बन्दै आगलागी क्षेत्रमा घरहरु



गुल्मी । बनमा लागेको आगो गाउँमा पसेर पुरै खरानी भएको जिल्लाको दजाकोट गाउँका घरहरु धमाधम निमार्ण भएका छन ।

२०७३ वैशाख १८ गते जिल्लाको मुसिकोट नगरपालिका बडागाउँ दजाकोट गाउँमा आगलागीवाट क्षति भएका घरहरुको निर्माण कार्य भइरहेको हो । धमाधम घरहरु निमार्ण हुदै जानथालेपछि अग्नी पिडितहरुमा पनि खुसीयाली देखिएको छ ।

आगलागिवाट गाउँका ५८ घरहरु जलेर खरानी भएका थिए । आगालागिवाट क्षती भएका ५८ घरहरु मध्ये २० महिनामा १८ घरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने १७ घरहरु निर्माणधिन छन् । त्यस्तै २३ घरहरु बन्न बाँकि रहेको स्थानीय समाजसेवी हरि छन्तेलले जानकारी दिएका छन ।

आगलागिमा परि गाउँका सबै ५८ घर र बङ्गालो तथा पशुपंक्षि जलेर नष्ट भएका थिए । त्यसरी नष्ट भएका घरहरुलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरि घर निर्माण कार्य अगाडी बढाइएको छ ।

अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्यमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिक स्तर भएकालाई ‘ग’ श्रेणीमा राखि काम गरिएको छ स्थानीय हरि छन्तेल भन्छन‘ ‘क’ श्रेणीमा पर्नेले राहातस्वरुप ३ लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले २ लाख ७० हजार ‘ग’ श्रेणीमा पर्नेले २ लाख २० हजार पाउने ब्यवस्था छ ।’

उनका अनुसार पिडितहरुले भुक्तान भने ३ कित्ता गरि लिनुपर्नेछ । पहिलो पटक डिपिसि गरेपछि ४० प्रतिशत, दोस्रो पटक झ्याल, ढोका राखेर लिङ्टेल गरेपछि ३० प्रतिशत पाउने हो बडागाउँ अग्निपिडित राहात संकलन तथा वितरण समितिका कोषाध्यक्ष समेत रहेका उनले भने‘ घरको सबै काम सकेपछि ३० प्रतिशत गरी पिडीतहरुको भुक्तानी पाउने ब्यवस्था छ ।’

जिल्ला प्राविधिक कार्यलयले बनाएको भूकम्प प्रतिरोधि घरको नक्साको आधारमा अग्नीपिडितले घर बनाइरहेका छन् । प्रत्येक कामको नक्सा इन्जिनियरद्धारा पास भइसकेपछि साना किसान कृषि सहकारी सँस्थामा रहेको पिडितको खातामा रकम जम्मा हुने बताइएको छ ।

बाँकि रहेका २३ घरले भने यहि फागुन मसान्तभित्र डिपिसी गरेमा मात्र पहिलो किस्ताको रकम पाउने समितिले जनाएको छ । यसरी पिडितलाई प्रदान गरिने रकम भने विदेशमा बस्ने नेपालीहरु, विभिन्न संघ सस्थाँ, आमा समहूहद्धारा संकलन गरिएको राहात समितिले जनाएको छ ।

आगलागि भएलगत्तै जिल्ला प्रशासनले ५ हजार, जिल्ला विकास समितिले चर्पी निर्माणको लागि ५ हजार र पशु सेवा कार्यलयले गोठ निर्मणको लागि १० हजार रुपैँया उपलब्ध गराएको थियो । यता मुसिकोट नगरपालिकाले भने आगालागि भएर क्षती भएको बडागाउँको पुनःनिर्माणका लागि यो आर्थिक बर्षमा ३० लाख रुपैया विनियोजन गरको छ ।

प्रत्येक पिडितले एक लाखका दरले प्राप्त गर्ने भएपनि यो बर्ष घर पुरै बनाएका ३० परिवारले मात्र रकम पाउने नगरप्रमुख सोमानाथ सापकोटाले बताए ।

हामीले सवै पिडीतहरुलाई १ लाखका दरले सहयोग उपलब्ध गराउने हो नगरप्रमुख सोमनाथ सापकोटा भन्छन‘ अहिले यो बर्ष ३० लाख वजेट छुट्याइएकाले ३ घर परिवारहरुले पाउनुहुन्छ, अर्को बर्ष अन्यले पाउनुहुन्छ ।’ उनका अनुसार अहिले वाकी रहेका अन्य सवै घरपरिवारले आगामी बर्षमा रकम प्राप्त गर्ने बताए ।