विराट कोहलीलाई आशीर्वाद दिने क्युट हजुरआमा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

विराट कोहलीलाई आशीर्वाद दिने क्युट हजुरआमा



विश्वकप क्रिकेट २०१९ मा एउटा महत्त्वपूर्ण प्रतिस्पर्धा हिजो बर्मिङ्घमको एजबेस्टन स्टेडियममा खेलियो।

आइसिसि विश्वकपको यस खेलमा बङ्गलादेशला भारतले २८ रनले पराजित गर्दै सेमिफाइनलमा आफ्नो ठाउँ सुनिश्चित गऱ्यो। टस जितेर पहिले भारतले ब्याटिङ गऱ्यो र ९ विकेट गुमाएर ३१४ रन बनायो।

शतक बनाउने रोहित शर्मालाई प्लेयर अफ दि म्याच चुनियो। तर खेलको अवधि र खेल सकिएपछि भने एउटा अनुहारले सबैको ध्यान तान्यो, त्यो अनुहार खेलाडीको थिएन। त्यो अनुहार ८७ वर्षीय चारुलताको थियो। सामाजिक सञ्जालमा उनलाई “फ्यान अफ दि टुर्नामेन्ट” समेत भनिन थालियो।

दर्शकदीर्घामा बसेर चारुलताले भारतलाई अत्यन्त प्रेमका साथ चियर गरेकी थिइन्। खेल भैरहेका बेला क्यामेरामा उनी कैयन् पटक देखिइन् । खेल सकिएपछि टिमका कप्तान विराट कोहली र रोहित शर्मा उनलाई भेट्न गए।

ह्विच चेयरमा आएकी चारुलताले दुवै खेलाडीहरूलाई बधाई तथा आशीर्वाद पनि दिइन्। आइसिसिले चारुलतासँग छोटो अन्तर्वार्ता पनि लिएका थिए। विराट कोहली र रोहित शर्मासँगका चारुतलाका तस्बिरहरू इन्टरनेटमा भाइरल भैसकेका छन्। विराट कोहलीले त्यसपछि ट्वीट पनि गरे।

“हामी सम्पूर्ण प्रशंसकहरूलाई माया र साथका लागि धन्यवाद दिन चाहन्छौँ, विशेषगरी चारुलता पटेलजीलाई। उहाँ ८७ वर्षकी हुनुहुन्छ र मैले अहिलेसम्म देखेका मध्ये सबैभन्दा बढी प्रतिबद्ध र समर्पित प्रशंसक हुनुहुन्छ। उमेर त एउटा सङ्ख्या मात्र हो, तपाईँको जोश र प्यासनले तपाईँलाई कहीँ पनि लैजान सक्छ। उहाँको आशीर्वादसँग अगाडिको लक्ष्यतिर….”

को हुन् चारुलता ?

आफ्नो जन्म भारतमा नभएर तन्जानियामा भएको उनले अन्तर्वार्तामा बताइन्। आफ्नो काउन्टीमा बच्चाहरूले क्रिकेट खेलेको देखेरै आफू क्रिकेटको प्रशंसक बनेको तथा आफ्ना आमाबाबु भारतीय भएकाले यस खेलमा भारतलाई समर्थन गर्न आएको कुरा उनले बताइन्।

उनलाई भारतले यसपटक विश्वकप जित्छ भन्ने लाग्छ। भगवान् श्री गणेशसँग जितका लागि प्रार्थना पनि गरिरहेकी छिन् उनी।  १९८३ मा पहिलो पटक भारतले विश्वकप जित्दा पनि उनी इङ्ग्ल्यान्ड मै थिइन्।

जागिरमा हुँदा टिभीमा मात्रै क्रिकेट हेर्ने गरेको र अवकाश ग्रहण गरेपछि सकेसम्म स्टेडियम गएर खेल हेर्ने गरेको कुरा उनले बताइन्।

मानिसहरूको प्रतिक्रिया

पत्रकार मजहर अरशदले पनि चारुलतासम्बन्धी ट्वीट गरेका छन्। उनले लेखे, “चारुलताको जन्म विश्वकपभन्दा ४३ वर्ष पहिले भएको हो र उहाँले क्रिकेटरहरूको कैयन् पिँढी देख्नु भएको छ तर उहाँलाई विराट कोहली नै सबैभन्दा राम्रा लाग्छन्, फ्यान अफ दि टुर्नामेन्ट।”

इङ्ग्ल्यान्डका पूर्व कप्तान मिसेल वागनले टेलिभिजनको एउटा दृश्य(विराट कोहलीले चारुलतालाई नमस्कार गर्दैगरेको)उल्लेख गर्दै लेखे, “द पिक्चर अफ दि वर्ल्ड कप।”

(बीबीसी हिन्दीको सहयोगमा)