गोविन्दा र जैकी श्रफमाथि कारबाही - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

गोविन्दा र जैकी श्रफमाथि कारबाही



एजेन्सी- दर्दनाशक तेलको झूटो विज्ञापन गरेकोमा भारतको उत्तर प्रदेश मुजफ्फरनगरको एक उपभोक्ता अदालतले अभिनेता गोविन्दा र जैकी श्रफलाई भारु २० हजार जरिवाना लगाएको छ। तेल बनाउने कम्पनीलाई पनि जरिवाना तोकिएको छ।

एक युवकले पाँच वर्ष अघि एक हर्बल तेल बनाउने कम्पनी र तेलको प्रचार गर्ने दुई सेलिब्रिटी ब्राण्ड एम्बेस्डर विरुद्ध उजुरी दर्ता गरेका थिए। उजुरीमा विज्ञापनमा दाबी गरिए अनुसार १५ दिनमा दुःखाइ नहटेको उल्लेख थियो।

२०१२ जुलाईमा पत्रिकामा छापिएको विज्ञापनको आधारमा मुजफ्फरनगरका वकिल अभिनव अग्रवालले आफ्ना ७० वर्षीय पिताका लागि भारु ३,६०० पर्ने उक्त हर्बल तेल किनेका थिए। विज्ञापनमा तेलले १५ दिनभित्र फाइदा नगरे पैसा फिर्ता गर्ने भनिएको थियो।

तेलले काम नगरेपछि अभिनवले मध्यप्रदेशको कम्पनीका प्रतिनिधिसँग उत्पादन फिर्ता लिएर रकम फिर्ता गर्ने विषयमा कुरा गरेका थिए। तर कम्पनीले रकम फिर्ता गरेन।

पुन: सम्पर्क गर्दा उनले कम्पनीका मान्छेबाट उल्टै हैरानी खेप्नुपर्‍यो। यसपछि उनले उपभोक्ता अदालतमा गुनासो दर्ता गरेका थिए।

उनले भने, “मैले त्यो तेल यस कारण किनेको थिएँ, किनकि गोविन्दा र जैकी श्रफ जस्ता सेलिब्रिटीले त्यसको प्रचार गरेका थिए। तर सबथोक झूट रहेछ।”

अदालतले यस घटनासँग सम्बन्धित सबै पक्ष कम्पनी, गोविन्दा, जैकी, टेलिमार्ट शपिङ नेटवर्क र म्याक्स कम्युनिकेशनलाई क्षतिपूर्ति स्वरुप भारु २० हजार दिन निर्देशन दिएको छ।

यसका साथै अदालतले पीडित अभिनवलाई कानूनी खर्चका साथै तेल खरीद गर्दाको रकम ३,६०० र त्यसको हरेक वर्षको ब्याज ९ प्रतिशतको दरले उपलब्ध गराउन समेत भनिएको छ। – एजेन्सी