गोविन्द भट्टराईले भने- स्वर्णिम वाग्लेलाई सहयोग गर्छु - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

गोविन्द भट्टराईले भने- स्वर्णिम वाग्लेलाई सहयोग गर्छु



काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत वाग्लेलाई बधाई दिँदै नेता भट्टराईले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो । तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।’

तनहुँ–१ को उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका छन् । भट्टराईले मतदाताको विकासका चाहना पूरा गर्ने अभियानमा स्वर्णिमले चाहेमा रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहने बताएका छन् ।

‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहने छु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ,’ उनले भनेका छन् । नेता भट्टराईले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल सावित हुन शुभकामना पनि दिएका छन् ।