प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै डा. केसीद्धारा २९ गतेदेखि अनसनको घोषणा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै डा. केसीद्धारा २९ गतेदेखि अनसनको घोषणा



काठमाडौं । बरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले फागुन २९ गतेदेखि अनसन बस्ने घोषणा गरेका छन् । दुईबुँदे माग राख्दै अनसनको घोषणा गरेका डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वनजिक गर्दै दोषीलाई कारबाही गर्नु पर्ने माग अघि सारेका छन् ।

डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन ।’

मेडिकल शिक्षामा सुधारको माग राख्दै तेह् पटकसम्म अनशन बसिसकेका डा. केसी यसअघि पुस २४ गते प्रधानन्यायाधीश विरुद्ध चौधौं पटक अनसन बसेका थिए । तर, अदालतको अवहेलनाको आरोपमा उनी सोही दिन पक्राउ परेका थिए । केसीमाथि अवहेलना मुद्दा सर्वोच्च अदालतमा विचारधिन छ ।

त्रिवि शिक्षण अस्पतालको डिन पदबाट पहिले बर्खास्त गरिएका डा. शशी शर्मालाई प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली समेतको इजलासबाट सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले प्रधानन्याधीश पराजुलीलाई ‘भ्रष्ट र माफिया’को आरोप लगाउँदै उनको राजीनामा माग गरेका थिए ।
केसीको यही अभिव्यक्तिका कारण अदालतको मानहानी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।