रुपन्देहीमा घरभाडा घटाउन संस्थाहरुको सामूहिक अपील - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रुपन्देहीमा घरभाडा घटाउन संस्थाहरुको सामूहिक अपील



रुपन्देही । आर्थिक मन्दीका कारण व्यवसाय संकटमा परेको भन्दै रुपन्देहीमा क्रियाशील व्यावसायिक संस्थाहरुले घरबहाल घटाउन घरधनीहरुलाई सामूहिक अपील गरेका छन् ।

बुधबार संयुक्त बैठक बसेर उनीहरुले घरबहाल घटाउन र व्यवसाय सञ्चालनको वातावरण बनाउन अपील गरेका हुन् । रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, बुटवल उद्योग बाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरबहाल सरोकार संघको संयुक्त बैठकले यस्तो अपील गरेको बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।

बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु मारमा परेको, पसल बन्द गर्ने व्यवसायीको संख्या बढ्दै गएको र विस्थापित हुने क्रम बढेको भन्दै उनीहरुले तत्काल घरबहाल नघटाइए घरधनीहरुको आयश्रोत पनि बन्द हुने अवस्था आउने बताएका छन् ।

खस्कँदै गैरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु अपरिहार्य आवश्यकता रहेकोमा जोड दिंदै बैठकपछि जारी संयुक्त विज्ञप्तीमा सम्पूर्ण घरधनीहरुलाई घरभाडामा अधिकतम छुट प्रदान गरी बजार विस्थापित हुनबाट जोगाउन र व्यवसाय बन्द हुने अवस्थाको अन्त्य गर्न माग गरिएको छ ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग बाणिज्य संघका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार संघका बाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र घरबहाल सरोकार संघका अध्यक्ष राजु लिगलद्वारा हस्ताक्षरित विज्ञप्तीमा घरभाडा नघटाइए यसको प्रत्यक्ष असर आमउपभोक्तालाई पर्न जाने उल्लेख गरिएको छ ।