एमालेले संसद अबरोध गर्नुको उद्देश्य के हो ? यसो भन्छन् घनश्याम भुसाल - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

एमालेले संसद अबरोध गर्नुको उद्देश्य के हो ? यसो भन्छन् घनश्याम भुसाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् । नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै लागातार संसद अबरोध गर्दै आइरहेको बेला उनले यस्तो बताएका हुन् ।

समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनले शनिबार आयोजना गरेको बागमती प्रदेश भेलामा महासचिव भुसालले विगतमा प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु गैरसंसदीय भएको भन्दै त्यो माग मृगतृष्णा जस्तै भएको बताए ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा निर्माण गरिएको भन्दै उनले मुलुकमा समाजवादी अर्थ व्यवस्थाका माध्यमबाट विकास र जनताको समृद्धिका लागि वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताए ।

महासचिव भुसालले पार्टीको सङ्गठन सुदृढीकरण विशेष अभियान देशभर सञ्चालन भइरहेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाका कारण सङ्गठनलाई थप सशक्त र गतिशील बनाउनुपर्नेमा जोड दिए ।

मुलुकको विकास र आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिँदै उनले सबै वर्गको अधिकार तथा हितको सम्वर्द्धन गर्नुपर्ने बताए ।

उनले देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनमा पार्टीका सबै जनवर्गीय सङ्गठनको उल्लेखनीय सहभागिता रहेको बताए ।