संस्मरण : मेलबर्न अस्पताल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संस्मरण : मेलबर्न अस्पताल



– गीता रेग्मी

म खाना खाएर अस्पताल जान हतारिएँ। ज्वाइँ दीपक ढकाललाई पनि जानु थियो छिटै नै। डाक्टरसँगको अपोइन्मेन्ट चार बजेको छ भन्ने कुरा नेपालमा हुँदै थाहा थियो। ज्वाइँ र म अस्पतालका लागि निस्कियौँ। बाटो कता के कसो भन्न भन्दा पनि अर्जुनले माछो मात्र देखे जस्तो मेरो ध्यान मेरी बहिनीले तानिरहेकी छे एकोहोरो। घरदेखि अपायक र टाढा रहेछ अस्पताल। बाटाको छेउमा गाडी पार्क गर्नुभयो ज्वाइँले। अस्पतालको पार्किङ असाध्यै महङ्गो छ रे। दुई बाटो क्रस गरेर अस्पताल भित्र पसेर लिफ्टबाट बहिनी भएको ठाउँमा पुग्यौँ। पुटुस्स उठेको पेटमात्र छ, मान्छे त बेडमै हराउला जस्तो। मभन्दा अग्ली काँक्राको चिराजस्ती बहिनीको यो अवस्थाले मन चिसो बनायो। ऊ हाँस्छे। पीडा लुकाएर हाँस्छे। खै मेरो हाँसो फुस्केको, भित्र भित्रै हराउँछ।

बेड फाइभ स्टार होटलको जस्तो लचकदार, सेतो र सफा छ। बहिनीको हातमा रिमोट झुन्डिएको छ। यसैलाई थिचे पछि नर्स आउँदा रहेछन्। बेड तलमाथि हुँदो रहेछ। सुविधा हेर्दा भरोसा लाग्ने। उ रिमोट थिच्छे र बेडलाई तल पुऱ्याएर झर्छे। म नहिँड्न सुझाउँछु। मैले सुनिरहेको छु, जतिखेर जे पनि हुनसक्छ।

ऊ यहाँ आएपछि मरिँदैन क्या भन्छे !

अस्पतालसँग बिरामीको भरोसाले अचम्मित हुन्छु म। ऊ अघिअघि छ। म उसको पछि लाग्छु। हाफसर्ट र हाफ कट्टुमा अघिअघि हिँडिरहेकी बहिनीका गोडा बाँस जस्तै लाग्छन्। बोलिरहेकी बहिनी बाँसका खुट्टाटेकेर हिँड्ने चटकी जस्तो पनि मान्छ मनले। सर्कसमा लिएर हिँडेका केटीहरू यस्तै त हुन्छन् नि खानेबेलामा डोकाले थुनेजस्ता।

ऊ एउटा कोठा भित्र पसी र फ्रिज खोलेर खाना झिकी। ओभनमा तताई। मलाई चिया कफी के खाने भन्दै सोधी। म छक्क परिरहेछु। लाटोले केरा हेरे जस्तो भन्ने उखान त्यसैत जन्मिएको रहेनछ भन्ने ठान्छु। हो म त्यहाँको ब्यवस्था देखेर लाटिएकी छु। हामी अस्पतालमा आँफैले लगेको खानेकुरा खान समेत दिगमिग मन्छौ। तर यहाँ ?

फ्रिजको दूध ओभनमा तताएर मलाई मिल्क कफी बनाएर दिई। चिनीको पोका र घोल्ने काठको सानो चम्चा लिएँ मैले। भिजिटरका लागि गरिएको ब्यवस्थाको मनमनै प्रशंसा गरेँ। ऊ तताएको खाना लिएर बाहिरीई म उसको पछिपछि लागे। ऊ फेरि अर्को तिर पस्छे- ठूलो घरको बैठक कोठा जस्तोमा र बसेर खान थाल्छे। म रोबोट जस्तै भएकी छु। आठनौ वटा देश घुमे पनि विदेशी अस्पतालसँग को जम्काभेट पहिलो थियो। आश्चर्य पीडाको देसाँधमा छु। अगाडि ठूलो टिभी छ भित्तामा टाँसिएर बसेको। मान्छेहरू कफीको चुस्की लिइरहेका छन्।  मानौँ उनीहरू फिल्म हेर्न आएका हुन्। सम्झन्छु कुरुवा हुन जाँदा भुइँमा लम्पसार परेको। डाक्टर, नर्सले मात्र होइन स्वीपरको झपाराई त कति हो कति खाएको। प्रभु !

छैटौ तलाको भिजिटर रुमको झ्याल पुरै सिसाको छ। परपर हेर्छु। हिजोको आज कस्तो ठाउँमा आईपुगेँ ? हिजो घरबाट एयरपोर्ट आउँदा बाटो धूलाम्य थियो। आकाश कस्तो छ नदेखेको कति भएको थियो तर आज ?  माथि हेरेको आकाश नीलो छ। कति सुन्दर र शान्त छ। मेरो देशमा उभिएर देखिने आकाश पनि त यही हो नि। किन यति मुस्कुराउँदैन ? यहाँको आकाश नुहाएर बस्छ के ? सफा,प्रष्टसँग परपरसम्म देखिन्छ। साना पातला घरहरू आफ्नै कम्पाउन्डका रुखहरूले छेलिएका छन्। यी लजाउँदा पनि रहेछन् कि ? मनमनै गुन्छु। बाटै बाटा छन् असरल्ल परेका। केही थान गाडी गुडेका देखिन्छन्। परपर केही जोर अग्ला घरहरू देखिन्छन् बस्।

दिदी जाम अब भन्दै ऊ उठि र फटाफट हिँडि। लौन बिस्तारै हिँड् न भन्छु मायाले। “अब केही हुन्न क्या। मर्ने भए मरि सक्थेँ, अब त अस्पतालले मर्न दिँदैन। सबै डाक्टरको टिमलाई इमर्जेन्सी भनेको छ। डाक्टरहरू तयारी अवस्थामा छन्, नडराउनु क्या।” उल्टो बिरामीबाटै ढाडस लिँदै छु म। कस्तो विश्वास हो ? म अलमलिन्छु भेउ पाउन नसकेर। सपना हो कि विपनैमा छु। चिमट्छु आँफैलाई। दुख्छ। म ब्यूँझै रहेछु। अलमल पर्छु।

ऊ आएर बेडमा बसी। रिमोट थिची। बेड माथि गयो र ऊ पल्टिई। नेपालबाट हरेक दिन हरेक पल कुरा भै रहने हुँदा बोल्ने विषय पनि धेरै थिएनन्। मात्र स्पर्श गर्नु थियो उसलाई। सुम्सुम्याउनु थियो मायाले। भेट्न आउने मान्छेहरू उ सँगै उसको पेटमा रहेको बच्चालाई पनि छाम्छन्। म त्यसै म त्यो दृष्यले समेत आत्तिन्छु। बहिनीलाई जति माया गरेपनि अहँ म उसको पेटमा रहेको बच्चालाई स्पर्श गर्नै सक्दिन, पटक्कै सक्दिन। कान्छा मलाई पेट छाम्न नलगाउ है ?

म ऊसँग अनुनयविनय गर्छु। कस्तो लज्जा छ म भित्र खै ? कहिल्यै बुझ्न सकिनँ।

भोलिपल्ट चैत्र चौबीस गते। उसको जन्मदिन। आजै जन्मियोस् बच्चा भन्ने चाहना पनि थियो हाम्रो, तर डाक्टरले दुईतीन दिन पर सारिदिए। उता सिड्नीमा भएकी साँहिली बहिनी सरिताको ग्र्याजुएसन छ। बुबाआमा सिड्नी जाँदै हुनुहुन्छ। दिदी रीता सिड्नीबाट मेलबर्न आउँदै हुनुहुन्छ। बुबाआमा कान्छी छोरीको जन्मदिन मनाएर सिड्नी जाने गरी घरबाट निस्कियौँ। अस्पताल पुग्यौँ। महिनौँ देखि थलिएकी बहिनी बुबाआमालाई देखेर फिस्स हाँस्छे। हाँसोले लुकाउन खोज्छे पीडा। छत्तीससैँतीस बर्षको उमेरमा उसले गरेको निर्णय ऊ सँगसँगै हामीले पनि भोगिरहेका छौँ। ऊ शारीरिक पीडा सहिरहेकी छ हामी मानसिक पीडामा छौँ।

अस्पतालको बेड एकै छिनमा बेलुनले सजाए। स्लाइनका बोतल सँगै रङ्गीन बेलुन झुन्डिए। सेतो बेड र बेडमाथि सुतेकी बहिनी उठी र मुस्कुराई। केक काटियो। माया साटियो। लीलै त रहेछ जीवन। हामीले अलिकति खुसी पाउँन एउटा लीला गऱ्यौँ।

बुबाआमालाई लिएर ज्वाइँ एयरयोर्टतिर लाग्नु भयो। एकातिर कान्छी बहिनीको दयनीय अवस्था अर्कोतिर साँहिली बहिनीले छोराछोरी हुर्काइसकेपछि पढेर ग्र्याजुएसन गर्दै छे। हर्ष र विस्मातमा छौँ हामी सबै। म दुःखको साक्षी हुन मेलबर्न बसेँ। बुबाआमा खुसीमा सामेल हुन सिड्नी जानुभयो।

अस्पतालमा राती कुरुवा बस्न मिल्दैन, म र सानी घर फर्कने भयौँ। दस वर्षे प्रार्थना मेरी अभिभावक बनि। म उसकै पछि लागेँ। रेलगाडी यहाँबाट बस्ने ठाउँ पुग्दैन, बस चढेर जानुपर्छ। हेइडलबर्ग स्थित मार्सी अस्पतालबाट घरसम्म पुग्न कारमा आधा घण्टा लाग्छ तर बसमा कति समयमा पुगिन्छ हेक्का छैन कसैलाई। सानी केटी मेरो अभिभावक बन्न पाएकोमा दङ्ग छे। नयाँ ठाउँ नयाँ परिस्थिति, कुरुवाको मनस्थिति कस्तो हुने। मणि हराएको सर्पजस्तो। बसमा पातला मान्छे छन्। यस्तो लाग्छ यहाँका मान्छे विरलै सार्वजानिक यातायात चढेछन्। चढ्ने बित्तिकै खुवाउनु पर्छ बसलाई। मेरो हातको ओपलकार्ड उसैले तानेर छुवाउँछे मेसिनमा।

म अगाडि बस्छु। यात्रामा मलाई कहीँ पनि पछाडि बस्न मन लाग्दैन। दिमागभित्र यहाँका चिज वस्तु केही नछिरे पनि म अगाडिनै बस्छु। सानी केटी पछाडि गएर बस्छे। ससाना घरहरू बस्तीहरू हुँदै अघि बढ्छ बस। अन्तिम स्टपमा अर्थात् गेल्रेवेमा गएर रोकियो। हामी झऱ्यौँ।

सानी ‘ठूलो मामू ट्रेन आयो, फास्टफास्ट’ भन्दै कुद्छे। म मोटो ज्यानलाई कुदाउन खोज्छु।  ओरालो लागेर बाटो मुनिबाट निस्कन्छ बाटो। म भ्यातभ्यात गर्दै उसको पछि दगुरेको छु। उ फर्कँदै ‘फास्ट ठूलो मामू फास्ट’ भन्छे। रेल सिटी बजाउँदै गयो। ऊ फर्केर मलाई हेर्छे। विष्मयका आँखाले !

अब अर्को ट्रेन आधी घण्टामा मात्रै आईपुग्छ भन्ने थाहा पाए पछि मलाई पनि थकथक लाग्छ। आधी घण्टामा त घरै पुगिन्थ्यो। यही कुर्नु पऱ्यो। उफ्, यसैले त मान्छे समयलाई समात्न कुद्छन्। मैले सकिनँ। हुन सक्छ यही कारण म पछि छु अरूअरू भन्दा धेरै। अस्ट्रेलिया आएर कुदेँ, तर भेट्न सकिनँ। पछुताउँछु।

अस्ट्रेलियाको रेल पहिलो पटक चढ्न खोज्दै छु। त्यही पनि छुटेको छ। स्टेसनमा यात्रु बस्ने सिटहरू छन् प्रशस्तै। मान्छे आइरहेछन्। झमक्क साँझ पऱ्यो। पहेँलो ट्रेन सिटी बजाउँदै आयो र रोकियो। हाम्रा स्वागतका लागि त्यसले हार्दिकता देखाएपछि हामी चढ्यौँ। बाक्लै थिए मान्छेहरू। कुलारू स्टेसन आएपछि हामी झऱ्यौँ।

बत्तीको झिलिमिली छ। चिसो सिरेटो चलिरहेछ। ट्रेन स्टेसनमा गाडी राखेर काममा जानेहरू गाडी लिएर गन्तब्य सोझ्याइरहेछन्। हामीले बाटो काट्यौँ। फेरि ठूलो बाटो काट्नु पर्छ। यो हाइवे पास्काभेल। म आफैँ बोल्छु।

जेब्राक्रसिङ भएको ठाउँमा  बाटो कट्नका लागि थिच्ने मेसिन छ। सानी त्यही मेसिन थिचिरहन्छे। मान्छेको चित्र भएको ग्रिनलाइट बल्छ एकै छिनमा गाडी रोकिन्छन्। सानी दगुर्छे। अघि ट्रेन छुटेझैँ गाडी छुट्लान र मलाई अचार बनाउलान् भनेर म पनि दर्गुछु। न लज्जा छ न त हीनता बोध नै। पारी पुगेपछि मान्छे हिँड्ने बाटो छ। आठनौ फिट चौडाई भएका चिटिक्क परेका बाटा छन्। म सानीको पछिपछि हिँड्छु। घर छन् एकनासका। बाटोको किनारमा रूखहरू छन्।  हामी देब्रे मोडिन्छौँ,  अनि दाहिने मोडिन्छौँ र बाटो क्रस गरेर घर भित्रिन्छौँ। मान्छे पुगेपछि बत्ती आँफै बल्छ। ढोका खोल्छु।

अस्पताल र घर दैनिकी बनेको छ। हामी अस्पतालका लागि निस्कन्छौँ। आज कान्छीको सानो अपरेसन गर्ने भनेको छ। ज्वाइँ पनि आत्तिएर हुन सक्छ बाटो अलमलिरहनु भएको छ। मलाई त सबै बाटा उस्तै लाग्छन्। मोटरमा फिटगरिएको टमटमलाई ध्यान नदिने हो भने कहाँ पुगिन्छ थाहा छैन। जे होस् हामी आधा घण्टाको बाटो एक घण्टा लगाएर अस्पताल पुग्छौँ। ज्वाइँलाई काममा जानु छ। एकै छिनमा बहिनीलाई मर्सीकोसँगै रहेको अस्टिन अस्पतालमा लग्छ। यही सुविधाका कारण घरभन्दा यति पर सिफारिस गरिएको रहेछ। ढोकैढोका। कताकता ! तलमाथि माथितल गर्दै हामी अपरेसन थिइएटर अगाडि पुग्यौँ। उसलाई त भित्रभित्रै कताबाट लग्यो लग्यो हामीले मेलोमेसो पाएनौ।

पिसाबनली भित्र पाइप राखिँदैछ। अपरेसन गरेर बच्चा निकाल्न गरिएको पूर्व तयारी। हो मेरी बहिनी समस्यामा छे। बच्चा जन्माउने र हुर्काउने प्राकृतिक कुरा भएकाले हामीलाई लाग्छ यो सामान्य चिज हो। तर प्रकृति पनि कहिलेकाहीँ निष्ठुरी हुन्छ। बेढङ्गको बाटो हिँड्छ र निम्तिन्छन् अनेकन प्राकृतिक प्रकोपहरू। आमाको कोखबाट नौ महिना बसेर जसरी हामी जन्मियौँ जसरी ऊ जन्मिई र मैले जन्माए। हो उसका बच्चा त्यति सजिलैसँग जन्मेनन्।

बच्चा बस्ने घर जुन छ त्यो पाठेघर भित्र थपक्क बसेन उ त सामुद्रिक जीव जसरी हाँगाबिँगा हालेर बाहिरसम्म आयो। पिसाबथैली समेत छुन आइपुगेको छ रे ? जसले कान्छीको मात्र होइन डाक्टरको समेत हुर्मत लिन खोज्दैछ। उसको केसमा प्रसुति गराउने डाक्टर मात्र संलग्न थिएनन्। मुटुका, नशाका, किड्नीका, युरिनका,सर्जिकलका, मेडिकलका ,एनेस्थेसियाका र बच्चाका डाक्टर सबै तयारी अवस्थामा थिए। यसैले ऊ अस्पतालमा पनि विशेष रही। अस्पतालको भिआईपी पेसेन्ट। म घरीघरी आफ्नै देशमा फर्कन्छु। हाम्रो देशमा त भिआईपी को हुन्थे ? कसरी बस्थे ? आम जनता यस्तो जटिल परिस्थितिमा के गर्थे ? आदिइत्यादि।

बच्चा जन्माउनका लागि यत्तिकै अपरेसन गऱ्यो भने मेसिनले पानी फाले जसरी शरीरबाट रगत बाहिरिन्छ रे। सुन्दा पनि आङ जिरिङ्ग हुन्छ। लाखौँमा एकलाई हुने समस्या। नेपालमा रगक्ततालिमा परेर कति आमाहरूले ज्यान गुमाइरहेका छन्, सायद यस्तै समस्या भएर त होला नि ? म कल्पिन्छु। यत्रो सुविधाको कल्पना ती आमाहरूले कसरी गरून् जब कि डाक्टर नै यस्ता पनि समस्या आउन सक्छन् भनेर कल्पना पनि गर्न सक्दैनन् होला। म हेरिरहेछु र कामना गरिरहेछु मेरी बहिनीलाई केही नहोस् भनेर। वेटिङरुम एयरपोर्टको भिआईपी रुम जस्तो छ। पत्रपत्रिका पढ्ने , टिभी हेर्ने सबै सुविधा भएको। आउने मान्छे पनि गोरा राम्रा सबै भिआईपी जस्ता नै देखिन्छन्।  अपरेसन सकियो। खबर आयो, ज्वाइँ हेर्न जानुभयो। अस्पतालमा भेट्न पनि जस्को नाम दिएको छ उहीमात्र जान पाउने। बटन थिचेपछि मान्छेको आवाज आउने कस्लाई भेट्ने हो भनेर आफ्नो र बिरामीको नाम दिएपछि मात्र ढोका खुल्छ। म भित्र गएँ ,उ अर्धचेत अवस्थामा छ। बच्चा झिक्दा पिसाबनली पनि काटिन सक्छ भनेर पिसाब नली भित्र अर्को नली राखेको रे। उनीहरू कत्ति पनि जोखिम मोल्न चाँहदैनन्।

ज्वाइँ काममा जानु भयो। बहिनीलाई अस्टिन अस्पताल लग्ने भयो। म फेरि बाटो खोज्दै गएँ। तलमाथि दाँयाबाँया गर्दै। बेडमा सुताइसकेपछि उसलाई एकदम दुख्‍न थाल्यो। म आत्तिएँ। ऊ पनि आत्तिएकी छ दुखाई सहन नसकेर। सग्लै मान्छेलाई यस्तो दुखाई थपेर पठाउँदा एक मन त झोँक पनि चल्छ।  छटपटिँदा दुख लागेको छ। लेबरपेन जसरी बटारिएकी छ। म लेबरपेन होकी भनेर डाक्टर र नर्ससँग भन्छु। धेरै ओटा टिमका डाक्टर चाहिने भएकाले इमर्जेन्सी नपार है भनेका छन् रे डाक्टरले। गर्भको बात कस्लाई थाहा हुनु र ? तर पनि हाम्रो अरू विकल्प छैन।

अस्पतालमा कोही छैन। सानी पनि साथीकोमा गएकी छे। कोही छैन अरू। सिड्नीबाट दिदीको फोन आइरहेछ। म कान्छीलाई गाह्रो भयो भन्छु। ऊ हातमा भएको रिमोट थिच्छे। नर्स आउछन् र नदुख्‍ने औषधि दिन्छन्। उसको पीडामा नर्सहरूनै रुन खोज्छन्। म के गर्ने के अत्यासिन्छु। नौ बजिसकेछ। अस्पतालमा बस्न दिँदैन कुरुवालाई। कोही बस्दैनन् पनि। कसरी छोडेर एक्लै घर जाऊँ ? हिजोअस्ति आठ नबज्दै लखेटेथे। बिरामीको अवस्था हेरेर होला आज जा भन्न सकेका छैनन्। बहिनीकी साथी शर्मिला र सागर भाई आउनुभयो। शर्मिला बहिनी बहिनीलाई छिटो ठीक होस् भनेर ईश्वर पुकार्न थाल्नुभयो म देवता। प्रशासनले जा नभने पनि म जानुपर्छ। यो यहाँको नियम हो। यसलाई पालना गर्नु मेरो कर्तव्य हो। बहिनीलाई यस हालतमा छोडेर शर्मिलाहरूसँग म घर तर्फ लागेँ।

रात कसरी कट्यो थाहा भएन, भोलिपल्ट छिट्टै आयौँ। दुखाई उस्तै नभनौ सहन सक्ने भएछ क्यार ! शान्त छ। तर राति अझै बढी भएर आईसीयूमा लगेको रे ! नेपालदेखि आएर पनि उसको पीडा अलिकति आफूले लिन नसकेकोमा झन् दु:खी भएँ म। कालो चिया, तातो पानी र सुप खाई बिस्तारैबिस्तारै। ठोस आहार केही खुवाउन मिल्दैन। म बेलाबेलामा त्यही भान्छा घरमा गएर तातो पानी खान्छु। फ्रिजमा राखिएको खानेकुरा डेट हेरेर फालिदिन्छन् रे सुन्दा पनि अचम्म लाग्छ। शनिबारको दिन बिरामी भेट्नेको लर्कन नै आयो, गयो। न त उसको दुखाई कम भयो नत मेरो छटपटिनै। तर पनि एक किसिमको भरोसा चाहिँ उत्पन्न भयो। प्रार्थनाकी सानी साथी जेशिका छोडिई। जेशिका भएपछि प्रार्थना उसैसँग भुल्छे जस्तो पनि लाग्यो।

अस्पतालमा बस्न नदिने। घर जाने मेरा साथी भनौ कि अभिभावक बने पाँच वर्षकी जेशिका र दश वर्ष की प्रार्थना। उही बस र उहि ट्रेन। उही बाटो। ट्रेन कुलारू स्टेसनमा झर्दा बेपत्ताको चिसो हावाले हान्यो। त्यो सानीलाई त उडाउलाकी जस्तो गरी। मैले उसको नाङ्गो टाउको र घाँटीमा आफ्नो सल बेरिदिएँ। ठूलीलाई टोपी लगाईदिएँ। मेरी बाबै के हुन्थ्यो र ? बाटो काटेर पारी पुगेपछि त घर आईपुग्यो कुकुर बलियो भने झैँ झम्के साँझको सन्नाटालाई चिर्दै सानी केटी दगुरी। हावाको वेगसँगै। उसलाई पछ्याउन प्रार्थना दगुरी। मैले लगााईदिएको टोपी र सल बाटोमा फाल्दै ती त हावासँगै कावा खान दौडिए। म पनि उनीहरूलाई समाउन दौडिएँ। हिजो ट्रेन समात्न दौडिएँ, आज मान्छेका भुरा समात्न दौडँदैछु। हैट मान्छेको गोठालो हुनत कति गाह्रो रहेछ। स्वाँस्वाँ हुन्छु। बाटोमा गाडीहरू घुइँकिरहेछन्। मान्छे कि त घर भित्र छन् कि त गाडीभित्र। चिसो हावा र गाडीको एकोहोरो रफ्तार बाहेक कोही मनुष्य भेटिँदैनन् बाटामा। घरभित्र छिरेपछि लामो सास फेर्छु।