संसद पुग्यो 'गलबन्दी'को विवाद - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

संसद पुग्यो ‘गलबन्दी’को विवाद



काठमाडौँ–

प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी’बारेको विवाद संसदमा प्रवेश गरेको छ।  सत्तारुढ नेकपा निकट गायक शम्भु राईले प्रकाश सपुतलाई भाका चोरीको आरोप लगाएका थिए। यसप्रति प्रतिपक्षी सांसदले आपत्ति जनाएका छन्।

नेपाली काङ्ग्रेसका मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै गायक राईका मतियारले प्रकाश सपुतलाई जातीय विभेद हुने गरी गाली गरेको आरोप लगाए तथा उनीमाथि कार्बाहीको माग गरे।’ ‘अहिले के युवा के बालक सबैले यही गीत गुनगुनाइरहेका छन्। विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन्। प्रकाश सपुत र शान्तिश्री परियारलाई राज्यले सम्मान गर्नुपर्ने हो; तर सत्तारुढ दलका भ्रातृ सङ्गठनका कलाकारले सपुतविरुद्ध मुद्दा हालेछन्, लोकभाका भनेकै पूर्वजले गाउँदै अनुयायीले पछ्याउँदै जीवन्त राख्नु हो।  लोकभाका न नक्कल हुन्छ न चोरी हुन्छ। शम्भु राईसँग मिल्ने कुरा होइन।’ सांसद विश्वकर्माले सदनमा भने।

प्रकाश सपुतविरुद्ध नीच गाली गरिएको भन्दै सांसद विश्वकर्माले उनीहरूमाथि साइबर ल र जातीय भेदभावविरुद्धको कसुरअन्तर्गत कार्बाहीको माग गरे।

‘गायक सपुतलाई शम्भु राई र उनका मतियारले जातीय रूपमा नीच गाली गरेको पाइएको छ। सिङ्गो दलित समुदायलाई अपमान हुनेगरी नीच गाली गर्नेलाई जातीय भेदभावअनुसार कारवाही गर्नुपर्छ। अन्यथा सिङ्गो दलित समुदाय आन्दोलनमा होमिने छ।’