अरिङ्गाल मात्र बच्‍नेछन् - गगन थापा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अरिङ्गाल मात्र बच्‍नेछन् – गगन थापा



काठमाडौँ :

सूचना प्रविधि विधेयक पारित गरिए कोही पनि सुरक्षित नरहने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगन थापाले बताएका छन्।  सांसद थापाले विधेयक पारित भए सरकारविरुद्ध बोल्ने कोही पनि सुरक्षित नहुने दाबी प्रतिनिधिसभामा विशेष समयमा बोल्दै गरेका हुन्। उनले भने,‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथी पनि होसियार! किनकि यहाँ अब कोही सुरक्षित छैन। यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौँ। यहाँ केवल सरकारका अरिङ्गाल मात्र सुरक्षित रहन सक्छन्।’

उनले अहिले प्रनेश गौतमलाई पक्राउ गर्‍यो भनेर चलचित्रकर्मी पनि चुप लागेर बस्नुपर्ने अवस्था नरहेको बताए। ‘चलचित्रकर्मी साथीहरू होसियार! तपाईँको कथा, संवाद, गीतमा कसैलाई जिस्क्याउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा अब सम्भवत: तपाईँ बस्नुपर्ला, त्यो पनि केही दिनका लागि होइन, पाँच वर्ष’, उनको भनाइ थियो।

सरकारले गुठीयारलाई सामन्तवादी भनीरहँदा, त्यसको खबरदारी गर्नेहरूले पनि होसियार हुनुपर्ने बेला आएको बताए। उनले सूचना प्रविधि विद्येयकविरुद्ध एक ठाउँमा उभिनुपर्ने बेला आएको बताए। ‘सूचना प्रविधि विद्येयकविरुद्ध यही बेला उठौँ। बोलौँ। जागौँ। यही बेला हो। यो विधेयक पास भए संविधानको खिलापमा मात्रै हैन हाम्रो आन्दोलन, अभिव्यक्ति स्वतन्त्रताकै खिलापमा हुन्छ।’ उनको भनाइ थियो।

प्र.म.ओलीले केही दिनअघि आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै दिएको अभिव्यक्ति प्रति पनि व्यङ्ग्य कसे।

‘सम्माननीय सभामुख महोदय! केही दिनअघि प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा देश विकासमा अभिव्यक्ति स्वतन्त्रताको महत्त्व कति हुन मलाई थाहा छ भनेर भन्नुभयो। यो बेलायतमा होला। नेपालमा अभिव्यक्ति स्वतन्त्रताको हालत प्रधानमन्त्रीको सरकार आएपछि यहाँ के गरिरहेको छ हामीलाई थाहा छ।’