संसदीय दलमा देउवालाई हराउन सक्लान् त गगन ? - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

संसदीय दलमा देउवालाई हराउन सक्लान् त गगन ?



काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ ।

सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् । सभापति देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा. शेखर कोइराला भने दलको नेता र आगामी प्रधानमन्त्रीका विषयमा मौन छन् ।

दलको नेताका लागि महामन्त्री थापाले भने भेटघाट तीव्र बनाएका छन् । थापा जसरी पनि यसपटक दलको नेतामा लड्ने मनस्थितिसहित अघि बढेका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम भने आइसकेको छैन । कांग्रेसले प्रत्यक्षतर्फ ५५ सिटमा जित निकालिसकेको छ भने समानुपातिकतर्फ ३२ सिटको आसपास आउने अवस्था छ । यी दुवै संख्या जोड्दा कांग्रेसबाट संसद्मा ८७ जना सांसद्को प्रतिनिधित्व हुन सक्छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए भने उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका हुन् । थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभामा काठमाडौं ४ बाट निर्वाचित भएका हुन् ।

पाँच आकांक्षीमध्ये देउवा र गगन थापाबीच नै मुख्य प्रतिस्पर्धा

‘संसदीय दलको नेताका लागि तयारी अघि बढाइसकेको छु, नेताहरूसँगको भेटघाटमा व्यस्त छु, सभापति र डा. शेखर कोइरालासँग पनि यो विषयमा छलफल गर्दै छु,’ थापाले राजधानीसँग भने । कांग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । संसद्मा ठूलो दल कांग्रेस नै बन्ने र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि दलको नेता बन्न दौडधुप बढेको हो ।

देउवासँग थापाबाहेक वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र सिंहले संसदीय दलको नेता बन्ने कसरत जारी राखेका छन् । पौडेल तनहुँ १ बाट र डा. शशांक नवलपुर १ बाट निर्वाचित बनेका हुन् । यसैगरी, सिंह काठमाडौं १ बाट निर्वाचित सांसद हुन् ।

कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

१४औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री डा. शशांकले मौन बसेर सभापतिमा देउवालाई सघाएको कांग्रेस वृत्तमा अहिले पनि चर्चा छ । सिंहले भने पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई समर्थन गरेकाले पनि थापाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने अवस्था बन्न सक्छ ।

कांग्रेसका अर्का वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले भने थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आइरहेका छन् । उनले निर्वाचनअघि नै थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेका छन् भने दलको नेताका लागि पनि आफैं प्रस्तावक बन्ने अभिव्यक्ति दिइसकेका छन् ।

महामन्त्री शर्माले केही दिनअघि आफ्नो गृहजिल्ला झापाबाट निर्वाचन सकाएर काठमाडौं फर्किएपछि त्रिभुवन विमानस्थलबाट सिधै थापा निवास गएर प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित बनेकोमा बधाई दिँदै संसदीय दलको नेताका लागि शुभकामनासमेत दिएका थिए ।

हाल सभापति देउवा र महामन्त्री थापा दुवैले पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने वाहनामा भेटघाट जारी राखेका छन् ।

यसैगरी, समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा आउन सक्ने सम्भावना रहेका नेताहरूसँग पनि यी दुवै नेताको संवाद विभिन्न माध्यमबाट बढेको छ । हालसम्म प्रत्यक्षमा जितेका ५५ जनामध्ये ३७ जना संस्थापन पक्षका छन् ।

निर्वाचित बनेकामध्ये शेरबहादुर देउवा, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, शशांक कोइराला, प्रकाशमान सिंह, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, प्रदीप पौडेल, डा. नारायण खड्का र मोहनबहादुर बस्नेत संस्थापन पक्षका हुन् ।

यसैगरी, किशोरसिंह राठौर, श्यामकुमार घिमिरे, शंकर भण्डारी, रामहरि खतिवडा, डिल्लीराज पन्त, पुष्पबहादुर शाह, सीता गुरुङ, दिपक खड्का, अजयकुमार चौरसिया, रमेश रिजाल, महेन्द्रकुमार राय, दिनेशकुमार यादव, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री, मोहन आचार्य, पूर्णबहादुर तामाङ, उदयशमशेर राणा, विष्णुकुमार कार्की, टेकबहादूर गुरुङ, खमबहादूर गर्बुजा, विनोदकुमार चौधरी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र देवप्रसाद तिमल्सिना पनि संस्थापन पक्षका मानिन्छन् ।

इतर समूहबाट १८ जना सांसद निर्वाचित भएका छन् । डा. शेखर कोइराला, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, चन्द्र भण्डारी, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, रामकृष्ण यादव, रामनाथ अधिकारी, राजेन्द्र बजगाईं, योगेश गौचन थकाली, राजु थापा, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सञ्जयकुमार गौतम, दिक्पालकुमार शाही, हृदयराम थानी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

निर्वाचन सम्पन्न भएर पनि दलबीच सहमति जुट्न नसक्दा बाजुरा र स्याङ्जा–२ को मतगणना जारी छ । यी क्षेत्रमा इतरसमूहका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

समानुपातिकतर्फबाट निर्वाचित हुने सिट संख्या तय भएपछि मात्रै नाम तय हुनेछ । तर, हालको अवस्थामा समानुपातिक प्रणालीतर्फ सांसद बन्ने सम्भावना रहेका ३२ जनामध्ये २२ जना संस्थापन पक्षीय र आठ जना संस्थापन इतर पक्षका छन् ।