शिक्षकहरूलाई गगन थापाको आग्रह- विधेयक सच्याउँछौं, विद्यालय बन्द नगर्नुस् - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

शिक्षकहरूलाई गगन थापाको आग्रह- विधेयक सच्याउँछौं, विद्यालय बन्द नगर्नुस्



काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै शिक्षक महासंघले आजदेखी देशभरको विद्यालय बन्द गर्ने घोषणा गरेपछि विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै सांसद थापाले विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् ।

उनले आज (बिहीबार) सामाजिक सञ्जाल मार्फत शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने तर विद्यालय बन्द गर्न नहुने बताएका छन‍्।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गर्दै देशधरका शिक्षकले हिजो बुधबार काठमाडौंमा वृहत आन्दोलन गरेका छन् । उनीहरुले विद्येयक सम्शोधन गर्न माग गर्दै सम्पुर्ण विद्यालय बन्द गरी आन्दोलनका कयक्रम गर्ने घोषणा गरेका छन् ।

शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएककाले शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको महामन्त्री थापाको भनाइ छ ।

‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’ उनले लेखेका छन्, ‘हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’

उनले शिक्षकहरूलाई आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गरेका छन्। ‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’ उनले भने।

यसै विषयमा सरकारसँग पहिलो चरणको छलफल समेत भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकको प्रतिनिधि टोलीले बिहीबार बिहान छलफल गरेको छ। तर छलफल निष्कर्षबिहीन भएको हो।