पक्राउ पूर्जीपछि फरार भनिएका गच्छेदारलाई सिआईबीले बयान लिएर छाड्यो - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

पक्राउ पूर्जीपछि फरार भनिएका गच्छेदारलाई सिआईबीले बयान लिएर छाड्यो



काठमाडौं । बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले फरार भनिएका पूर्व उप–प्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छेदारसँग बयान लिएको छ ।

सोमबार साँझ अनुसन्धान अधिकृतहरुले गच्छेदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् ।गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ ।

सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएपछि पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छेदारको बयान गराएँदा ढिला भएको सिआईबीका अधिकारीहरु बताउँछन् ।

संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छेदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । जग्गा हिनामिना आरोपमा १८ जना हिरासत छन् ।

२०७४ वैशाखमा उप–प्रधान एवं संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालयको नेतृत्व गरेका गच्छदार २०६८ मा गृहमन्त्री थिए । भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदार जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । गच्छदारसँगै राज्यमन्त्री थिए, संजय शाह ‘टकला’ ।

२०७६ पुसमा सिआईबीले गृह मन्त्रालयमा बुझाएको छानविन प्रतिवेदनले सरकारी लिखत किर्ते मुद्दामा उनिहरुलाई कारवाहिको सिफारिस गरेको थियो ।

गच्छदारले विशिष्ट व्यक्तिहरुको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गरेर टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा लगेको ब्यूरोको छानविनबाट देखिएको छ । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी मन्त्री गच्छदार कहाँ पेश गरेका हुन् । सो प्रस्ताव राज्यमन्त्री संजय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए ।