फ्रान्सेली खेलाडीहरू एकाएक बिरामी- रहस्यमय भाइरसको संक्रमण - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

फ्रान्सेली खेलाडीहरू एकाएक बिरामी- रहस्यमय भाइरसको संक्रमण



(एजेन्सी)दोहा- अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल रंगशालामा हुने फाइनलको दुई दिनअघि प्रशिक्षण गुमाएका हुन् ।

फ्रान्सको राष्ट्रिय टोलीको सिविरमा देखिएको यो रहस्यमय भाइरसका कारण प्रमुख मिडफिल्डर एड्रियन राबियोट र सेन्ट्रल डिफेन्डर डायोट उपामेकानोले मोरक्कोसँगको सेमिफाइनल खेल गुमाउन पुगेका थिए । यी दुवै खेलाडी भने शुक्रबारको प्रशिक्षणमा फर्किएका छन् । फ्रान्सेली फुटबल संघ (एफएफएफ) का अनुसार बायर्न म्युनिकका विंगर कोमनले ‘भाइरसको सामान्य संक्रमण’ का कारण बिहीबारको प्रशिक्षण पनि गुमाएका थिए ।


फ्रान्सका फरवार्ड रान्डल कोलो मुवानीले संक्रमणको कुनै असर नपर्ने शुक्रबार बताए । ‘टिमभित्र केहीलाई रुघा लागेको छ, तर त्यस्तो गम्भीर हुनुपर्ने केही छैन,’ उनले भने । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले यसै साता रंगशाला वातानुकूलित हुँदा त्यसकै कारण आफ्ना टोलीका केही खेलाडी बिरामी परेको आरोप लगाएका थिए । ‘जुनसुकै समयमा एयर कन्डिसन चलिरहेको कारण हाम्रो टोलीमा केही रुघाको संक्रमणहरू देखिएका छन्, तर यसलाई फैलिन नदिन हामीले प्रयासहरू गरिरहेका छौं,’ डेसच्याम्पले भने, ‘खेलाडीहरूले मैदानमा आफ्नो हिसाबबाट सक्दो प्रयास गरिरहेका हुन्छन्, त्यसैले तिनीहरूको प्रतिरक्षा प्रणालीमा असर परेको हुन्छ । शरीर कमजोर भएको अवस्थामा संक्रमण हुने सम्भावना बढी हुन्छ ।’

सन् १९६२ यता ब्राजिलले लगातार दोस्रो पटक विश्वकप जितेको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा छ फ्रान्स । टोली चार वर्षअघि रुसमा क्रोएसियालाई पराजित गर्दै फ्रान्स विश्व च्याम्पिन बनेको थियो । यता अर्जेन्टिनाका कप्तान मेसी आफ्नो उत्कृष्ट खेलजीवनलाई आफूले जित्न बाँकी रहेको एकमात्र ट्रफीले सुसज्जित गर्दै पूर्णविराम लगाउने दाउमा छन् ।

युरोप र दक्षिण अमेरिकी यी दुई शक्तिबीचको भिडन्तले मैदान तताएको छ । जसका कारण विश्वकप फाइनलको सस्तो टिकट पनि कालोबजारी भाउमा ४ हजार डलरसम्म बिक्री भइरहेको छ । ठूलो संख्यामा कतार आएका अर्जेन्टिनी प्रशंसकले दोस्रो दिन पनि दोहा होटलबाहिर आफ्नो देशको फुटबल संघले फाइनलको टिकट व्यवस्थापन गरिदिनुपर्ने भन्दै प्रर्दशन गरेका छन् ।

५१ वर्षे सिन्टिया इचानिसले फिफाले तोकिएको रकममै टिकट व्यवस्थापन हुनुपर्ने माग प्रदर्शनकारीको रहेको एएफपीलाई बताइन् । ‘हामी समस्या पार्न चाहन्नौं, हामी अर्जेन्टिनालाई रंगशालाभित्रबाटै समर्थन गर्ने मौका मिलाइदिन अनुरोध गर्न चाहन्छौं,’ उनले भनिन् । फाइनलपछि इन्फान्टिनोको भाषामा ‘अहिलेसम्मकै उत्कृष्ट विश्वकप’ टुंगिनेछ । तर श्रमिकमाथि चर्को दमन गरेको भनी युरोप र अमेरिकी राष्ट्रहरूले यसलाई अहिलेसम्मकै सबैभन्दा विवादास्पद विश्वकप भनेका छन् ।