बाढी-पहिरो : मृतक ६७, घाइते ३८ - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

बाढी-पहिरो : मृतक ६७, घाइते ३८



हिमालपोस्ट/काठमाडौँ

(बिबिसी)

नेपालका विभिन्न स्थानमा अविरल वर्षाका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६७ पुगेको नेपाल प्रहरीले जनाएको छ।

मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २६ महिला रहेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।

अहिलेसम्म ३० जना बेपत्ता र ४३ जना घाइते भएको प्रहरीले जनाएको छ।

सबैभन्दा बढी ललितपुर, भोजपुर र रौतहटमा पाँच-पाँच जना गरी १५ जनाको ज्यान गएको छ।

सिन्धुली, सिरहा, ओखलढुङ्गा र मकवानपुरमा चार-चार गरी १६ जनाको ज्यान गएको छ।

काभ्रे, धनुषा, खोटाङ र काठमाण्डूमा तीन-तीन जना गरी १२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

त्यसैगरी बारा, पर्सा, झापा, उदयपुर, महोत्तरी, धादिङ र डोल्पामा दुई-दुई गरी १४ जनाको मृत्यु भएको छ।

देशका विभिन्न ठाउँमा अविरल वर्षाले ल्याएको बाढी तथा पहिरोका कारण अझै ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्रभावित क्षेत्रमा २५ सयभन्दा बढी मानिसको उद्धार गरिएको छ।

खासगरी तराईका जिल्लामा कतिपय गाउँ नै डुबानमा परेकोले विस्थापितहरूको यकिन विवरण आउन बाँकी रहेको नेपाल प्रहरीका सहप्रवक्ता थापाले बताए।

सरकारले भने बाढी र पहिरोका कारण कम्तीमा पनि १० हजार परिवार विस्थापित भएको जनाएको छ।

बाटो कहाँ कहाँ अवरुद्ध छ?

बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ।

  • भट्टेडाँडा-आग्राङ-टुङगुन जाने शान्ति लोकपथको हेटौँडा जाने सडकखण्ड
  • इन्द्रसरोवर गाउँपालिका-२ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडकखण्ड
  • जनकपुरबाट जलेश्वर जाने सडकखण्ड
  • फिकल गाउँपालिका-६ बहादुरे खोला, सोलु खोला र खाङखाङ खोलामा पहिरो गई मध्यपहाडी लोकमार्ग
  • मानेभज्याङ गाउपालिका-७ सिद्धिचरण राजमार्ग
  • गगने खोलामा पहिरो खसेर सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग
  • भोजपुर नगरपालिका-१० स्थित गजुरमुखी भीरमा पहिरो खसरे भोजपुर-धनकुटा सडकखण्ड
  • नासो गाउँपालिका-१ म्यादीखोलामा पानीको बहाव बढी बेँसीसहर-मनाङ सडक
  • मुस्ताङ थासाङ गाउँपालिका-४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव बढी बेनी-जोमसोङ जाने सडक

प्रहरीका अनुसार कुलेखानी सरोवरमा बिहान पानी बढ्ने क्रम बढिरहेको भए पनि अहिले बढ्ने दर घटेको हुँदा टर्बाइनबाट नै नियन्त्रित निकास भइरहेको छ ।

यसअघि प्रहरीले त्यसलाई खोल्न सुरु गरिने जनाएको थियो।

मौसमसम्बन्धी पूर्वानुमान के छ?

मनसुन न्यून चापीय रेखा तराई भूभागमा अवस्थित छ र त्यसका कारण मनसुनी गतिविधि देशभरि सक्रिय अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णतया बदली छ भने पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

महाशाखाका नायब मौसम विज्ञान सहायक अमरकृष्ण वासीका अनुसार सोमवार दिउँसो देशभरि सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको उनले बताए।