छोरो इङ्ल्यान्डका तर्फबाट खेल्ने, बाबु न्युजिल्यान्डले जितोस् भन्ने चाहने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

छोरो इङ्ल्यान्डका तर्फबाट खेल्ने, बाबु न्युजिल्यान्डले जितोस् भन्ने चाहने



हिमालपोस्ट/काठमाडौँ

(एजेन्सी)

आइतबार भएको विश्वकप क्रिकेट २०१९ को फाइनल खेलमा इङ्ग्ल्यान्डले जित्नुमा बेन स्टोक्सको मुख्य भूमिका रहेको थियो। तर अरूले जितको खुसीयाली मनाइरहँदा उनले त्यो खुसी भने पाउन सकेका छैनन्।

उनले फाइनल खेलमा नटआउट भई ८४ रन बनाएका थिए। उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए।

न्युजिल्यान्ड दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले पनि त्यति नै रन बनायो। त्यसपछि भएको सुपर ओभरमा पनि दुबै टिमले बराबर १५ रन बनाएपछि बढी बाउन्ड्री हानेकाले इङ्ग्ल्यान्ड विजयी भयो।

विश्वकपको ४४ वर्षीय इतिहासमा इङ्ग्ल्यान्डलाई पहिलो पटक विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका स्टोक्सका बुबाले भने अहिले गाली खाइरहेका छन्।

बुबाले गाली खानुको कारण बेन स्टोक्सको जन्म न्युजिल्यान्डको क्राइस्ट चर्चमा हुनु हो।

स्टोक्सको बुबा गेरोर्ड स्टोक्स न्युजिल्यान्डको राष्ट्रिय रग्बी टिमबाट खेलिसकेका थिए।

स्टोक्स १३ वर्ष हुँदा उनी परिवारसहित इङ्ग्ल्यान्ड बसाइँ सरेका थिए।

आइतबार बेन स्टोक्स इङ्ग्ल्यान्डका लागि खेलिरहँदा उनका बुबा गेरोर्ड भने न्युजिल्यान्डले जितोस् भन्दै कामना गरिरहेका थिए।  खेलका दौरान कमेन्टेटरले  बारम्बार गेरोर्डको प्रसङ्ग दोहोर्‍याएका थिए।

गेरोर्ड स्टोक्स इङ्ग्ल्यान्डमा केही साल बसेर स्वदेश फर्केका थिए र आइतबार फाइनल खेल क्राइस्ट चर्चको घरबाट बसेर हेर्दै थिए।

बिबिसीले न्युजिल्यान्डको एक अनलाइन पत्रिका स्टाफलाई उद्धृत गर्दै, बेन स्टोक्सले राम्रो खेल खेल्नुमा गर्व रहेको तर न्युजिल्यान्ड कालो टोपीका लागि निराश भएको उल्लेख गरिएको छ।