समस्या लुकाउनमा केन्द्रित फेसबुकको नीति - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

समस्या लुकाउनमा केन्द्रित फेसबुकको नीति



गएको केही महिनामा मार्क जकरबर्गले फेसबुकलाई राम्रो बनाउने आफ्नो भव्य योजनाको विषयमा लामो कुरा गरेका छन्।

छोटोमा भन्दा त्यो योजनामा फेसबुकलाई व्यक्तिगत सामाजिक सञ्जाल बनाउने कुरो छ। यसमा समूह र सन्देश आदानप्रदानका लागि सार्वजनिक नहुने खालका सुविधाहरूमा केन्द्रित छ।

उनले गएको मार्चमा क्याम्ब्रिज एनालिटिका काण्डको एक वर्षपछि आफ्नो योजना सार्वजनिक गरेका हुन्।

सो समयमा आलोचकहरूले फेसबुकले केही जिम्मेवारीबाट पन्छिन चाहेकोमा चिन्ता व्यक्त गरेका थिए। फेसबुकलाई थप व्यक्तिगत बनाउनुको अर्थ यसको समस्याहरूको समाधान होइन्, ती समस्याहरूमा फेसबुक असफल भएको घटनाहरू पत्ता लगाउन गार्‍हो हुने उनीहरूको भनाइ थियो।

हालैका केही समाचारहरूले त्यो चिन्ता सही हुनसक्ने सङ्केत दिएको छ।

सोमवार प्रोपब्लिका नामको वेबसाइटले फेसबुकमा अमेरिकी सीमा सुरक्षा बलका सदस्यहरूको क्षुब्ध चुट्किलाहरू लेख्ने एउटा गोप्य फेसबुक समूह भएको लेखेको छ।

सो समाचारका अनुसार सो समूह हिरासतमा मृत्यु हुनेहरूका बारेमा नराम्रा कुरा लगायत आक्रोशपूर्ण र चर्चित महिला नेताप्रति लक्षित खराब प्रतिक्रियाहरूले भरिएको छ। सो समूह तीन वर्षदेखि क्रियाशील रहेको र १० हजारभन्दा बढी त्यसको सदस्य रहेको बताइएको छ।

फेसबुकका एक प्रवक्ताले बीबीसीलाई भने: “हामी फेसबुक प्रयोग गर्ने सबैले सुरक्षित महसुस गरुन् भन्ने चाहन्छौ। हाम्रो सामुदायिक नियमहरू गोप्य समूहमा पनि लागू हुन्छ र हामी यो विषयमा भइरहेको छानबिनमा सहयोग गरिरहेका छौँ।”

रिभिल नामक क्यालिफोर्नियामा रहेको संस्थाको प्रतिवेदनले अमेरिकाभरिका प्रहरी अधिकारीहरू सदस्य रहेका त्यस्ता फेसबुक समूहहरू देखाएको छ जहाँ उनीहरूले जातिगत र धार्मिकरूपमा गलत कुराहरू लेखेको र गलत समाचारहरू बाँडेको पाइएको छ।

वाशिङ्टन पोस्ट पत्रिकाले भने फेसबुकमा एक लाखसम्म सदस्य रहेका त्यस्ता समूहहरूका बारेमा लेखेको छ जसले स्वास्थ्य सम्बन्धमा गलत कुराहरू प्रचार गरिरहेका छन्।

भेट्टाउन गार्‍हो?

यी उदाहरणहरूले देखाउँछ कि फेसबुकको नयाँ रणनीतिले यसका समस्याहरूलाई ढाकछोप गर्न सघाउँछ।

प्रोपब्लिकाले समाचार छापेको समूहका विषयमा उसले कसैले पठाएको स्क्रिनसटका आधारमा मात्रै त्यो थाहा पाएको हो, नत्र सो समूह पत्ता लगाउन र हेर्न कठिन छ।

रिभिलले त विशेष प्रकारको सफ्टवेयर नै विकास गरेर त्यस्ता समूहहरू पत्ता लगाएको हो।

वाशिङ्टन पोस्टका संवाददाताले त्यस्ता केही समूहहरूमा प्रवेश पाइन् तर उनको परिचय खुल्ने बित्तिकै उनलाई प्रतिबन्ध लगाइयो।

फेसबुक आफैँ पनि समूहका विषयमा जिम्मेवार हुन गार्‍हो मानिरहेको छ।

फेसबुकले गलत र मिथ्या कुराहरू पत्ता लगाउने प्रविधि विकास गरेको भनेपनि त्यो प्रभावकारी छैन।

यस्तो अवस्थामा एउटै प्रश्न उब्जिन्छ: फेसबुकले आफूलाई राम्रो बनाउने योजनामा उल्टै आफ्नो समस्याहरू पत्ता लगाउन गार्‍हो बनाउँदैछ।

(बीबीसी)