लुम्बिनी प्रदेशमा आज एमाले सरकार ढल्दै - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

लुम्बिनी प्रदेशमा आज एमाले सरकार ढल्दै



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

नेकपा (माओवादी केन्द्र)लगायत दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले दोस्रोपटक सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

नयाँ सत्तासमीकरणसँगै लुम्बिनीमा नेकपा (एमाले)का नेता गिरी नेतृत्वको सरकार समस्यामा परेको छ । गएको चैत १२ गते माओवादी, जनता समाजवादी पार्टी (जसपा)सहित सत्तासहयात्री दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री गिरी आजै पदमुक्त हुनेछन् । त्यसपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नेछन् ।

अहिले लुम्बिनीमा एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार प्रदेशसभा सदस्यले मात्र सरकारलाई समर्थन गरेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकारको बहुमत कायम राख्न ४४ सांसदको समर्थन आवश्यक हुन्छ । सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार, जनमत पार्टी र जसपाका तीन/तीन, नेकपा (एकीकृत समाजवादी)का एक र एक स्वतन्त्र सांसद छन् ।