एमालेका दुई सचिव प्रचण्डको पक्षमा खुले - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

एमालेका दुई सचिव प्रचण्डको पक्षमा खुले



काठमाडौं- नेकपा एमालेका दुई सचिव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा खुलेका छन् । हाल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र रहेका दुई पदाधिकारी प्रचण्डको पक्षमा खुलेका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले तीन वर्ष अघि बोलेको कुरालाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि उनीहरू प्रचण्डको पक्षमा खुलेका हुन् । उनीहरूले द्वन्द्वकालीन मुद्दाहरू अदालतमा दर्ता गरे त्यसले जटिलता थप्ने बताएका छन्।

पूर्व माओवादी कमान्डर रहेका हाल एमालेका सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्टले अदालतमा मुद्दा दर्ता गर्नु विस्तृत शान्ति सम्झौता विपरित भएको बताए ।

उनीहरूले विस्तृत शान्ति सम्झौता विरुद्ध गए अर्को द्वन्द्व सुरु हुने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । तर एमाले पार्टीले भने यो विषयमा केही बोलेको छैन।

प्रधानमन्त्री प्रचण्डका विरुद्ध मंगलबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । यो विषयमा माओवादी धारका पूर्व नेताहरूले सशक्त प्रतिवाद गरेका छन्। नेपाली कांग्रेसले पनि त्यसलाई गलत भनेको छ भने नेकपा एमाले मौन छ।

तर, पार्टी मौन बस्दा पनि पार्टीका सचिवद्वयय रायमाझी र भट्ट भने बोलेका छन्। तर, एमालेका उपाध्यक्ष रहेका जनयुद्धका अर्का कमान्डर रामबहादुर थापा बादल भने यो विषयमा चुप छन्।

माओवादी धारका नेताहरू प्रचण्डसहित डा.बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, गोपाल किराँती, आहुतीलगायत नेताहरूले यो विषयलाई गम्भीरताका साथ लिनुपर्ने भन्दै आएका छन्।