एमालेको माग पुरा नभए सभामुख घिमिरेले संसद बैठक सञ्चालन नगर्ने - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

एमालेको माग पुरा नभए सभामुख घिमिरेले संसद बैठक सञ्चालन नगर्ने



सभामुख देवराज घिमिरेले नेकपा एमालेको माग पुरा नभएसम्म आजको संसद बैठक नचलाउने मूडमा देखिएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरे संसद बैठक सञ्चालन गर्ने पक्षमा देखिएका छैनन् ।

सभामुख घिमिरलेले आज दिउँसो १ बस्ने संसद बैठक नचलाउने संकेत मात्र गरेका छैनन् उनले एमालेको माग पुरा गर्नुपर्ने बताएका छन् । यसको स्पष्ट संकेत उनी संसद बैठक चलाउने पक्षमा छैनन् ।

एक पुस्तक विमोचनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादित अभिव्यक्ति दिएपछि एमालेले उनको राजीनामा माग्दै निरन्तर संसद बैठक अबरोध गर्दै आइरहेको छ । प्रधानमन्त्री प्रचण्डको उक्त भनाइपछि एमालेले राजीनामा माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।

यसै सन्दर्भमा सभामुख घिमरिले सत्ता पक्ष र प्रतिपक्षबीच संवाद नभई संसद अघि बढ्न नसक्ने न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा भनेका छन् । अर्थात, एमालेको माग पूरा नभई संसद अघि नबढ्ने आशय सभामुख घिमिरेले व्यक्त गरे । सभामुख घिमिरले दुई पक्षबीच सहमति नभई संसद अघि बढ्न नसक्ने बताएका छन् ।

सैद्धान्तिक रूपमा दुई पक्षबीच सहमति हुन आवश्यक पर्छ । तर त्यही कुरा सभामुखले सार्वजनिक रूपमा भनेर संसद सञ्चालनको विषयमा आंशका उत्पन्न गर्नेभन्दा छलफलको वातावरण बनाउनुपर्ने हो । हुनलाई अघिल्लो संसद बैठकका लागि सभामुख घिमिरले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । तर, एमाले आफ्नो अडानबाट पछि हटेको छैन ।

एमाले अडानबाट पछि नहटेका कारण संसदमा प्रस्तुत हुनुपर्ने मिटर ब्याजसम्बन्धी विधेयक र नेपाल विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पनि संसदमा प्रस्तुत हुन सकेको छैन । सभामुखले नै संसद चल्न नसक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका कारण विपक्षीलाई बल मिलेको टिप्प्पणी हुन थालेको छ ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले वार्ता गर्न प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई आग्रह गरेको पनि बताएका छन् । यसअघि सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीले संसदमा जवाफ दिने निर्णय गरेको थियो । तर, प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो भन्दै एमालेले संसद अवरुद्ध गरिरहेको छ ।