एमालेद्वारा सर्वदलीय बैठक बहिस्कार - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

एमालेद्वारा सर्वदलीय बैठक बहिस्कार



कैलाली । बाजुरामा अझै मत गणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगले मत गणना सुरु गर्न निर्देशन जारी गर्दा पनि त्यहाँ मत गणना सुरु हुन नसकेको हो ।

मतगणना थाल्न आयोगको निर्देशन आएपछि हिजो साढे ४बजे जिल्ला निर्वाचन अधिकृत ढांकाराम पौडेलले सर्वदलीय बैठक बोलाएका थिए ।

सर्वदलीय बैठकबाट निकास दिएर मत गणना सुरु गर्ने तयारी भएपनि नेकपा एमाले अनुपस्थित हुँदा कुनै निर्णय हुन सकेन । सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि अहिले बिहान ७ः००बजे पुनः एमालेलाई बैठकमा उपस्थित हुन आह्वान गर्दै हिजोको बैठक सकिएको थियो ।

अहिलेको बैठकमा पनि एमाले उपस्थित छैन । आफूहरूको माग सम्बोधन नभए सम्म बैठक बहिस्कार गर्ने जिल्ला सचिव भरत थापाले बताए ।

मङ्सिर ४ गते निर्वाचन सकिएपछि घरमा रहेका विद्यार्थी नेता चेतन ऐडीको हत्यामा संलग्नहरूलाई पक्राउ नगर्दा सम्म र एमाले कार्यकर्ताहरूलाई रिहा नगर्दा सम्म आफूहरू सर्वदलीय बैठकमा सहभागी नहुने उनले जानकारी दिए ।

चेतनका परिवारले २२ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरु सबैलाई पक्राउ नगर्दा सम्म आफूहरूको माग सम्बोधन नहुने थापाले बताए । घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दा पक्राउ परेका ११ जनालाई विना सर्त रिहाको माग समेत राखिएको छ ।

यी दुबै माग सम्बोधन गर्ने भन्दै ऐडीको शव उनका आफन्तले बुझेका थिए । तर, त्यसपछि पनि उनीहरुको माग सम्बोधन नभएपछि सर्वदलीय बैठक बहिस्कार गरेको सचिव थापाको भनाइ छ ।

यता मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेल भने अहिले सर्वदलीय बैठक बसिरहेको बताउँछन् । ‘हामी सर्वदलीय बैठकमा छौँ एमालेका नेताहरू आउनु भएको छैन हामी उहाँहरूलाई कुरिरहेका छौँ’ उनले भने ।