नारायणीमा भारतको एकतर्फी बाँधः नेपाली भूमि डुबानको खतरा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नारायणीमा भारतको एकतर्फी बाँधः नेपाली भूमि डुबानको खतरा



रामकुमार श्रेष्ठ/ नवलपुर । वर्षाको समय छ, कति बेला ठूलो पानी आउँछ थाहा हुँदैन । त्यसमाथि आजभोलि हरेक रात पानी पर्न थालेको छ । वर्षासँगै नवलपरासीका गण्डक प्रभावित क्षेत्रका बासिन्दाको रातको समय त्रासमै बित्छ ।
स्थानीय कलावती मुसहर भन्छिन्– “भारतले आफ्नोतिर ठूलो बाँध बनाएको छ, नेपालतिर फुटेर सकिन थालेको छ, कति बेला नारायणी नदीमा बाढी आउँछ ठेगान छैन, ठूलो बाढी आएर नेपालतर्फको बाँध फुटायो भने त बर्बाद हुन्छ, त्यसैले राति आकाशमा बादल देखेपछि निद्रै लाग्दैन ।”

मौसम पूर्वानुमान शाखाले नै सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म नारायणी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेपछि यस क्षेत्रका बासिन्दालाई थप चिन्ता बढेको छ ।
गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा परेको र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण गरेको हो ।

नेपाली भूमि डुबान र कटानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो । सुस्ता गाउँपालिका वडा न.४ नर्सहीस्थित नारायणी नदी ठोक्कर नं. १२ को पूर्वतर्फ नारायणी नदी पारी भारतीय भूमिमा हुने कटान रोक्नका लागि बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए ।

शक्तिकुमार कम्पनी पश्चिमी चम्पारन भारत बिहारको कम्पनीले बाँध निर्माण गरेको हो । उसले भारततर्फका निर्माणको काम सकेको छ । त्यसो त नेपाली भूमितर्फ पनि बाँध निर्माण भने नभएको होइन, तर पनि नदीको पानीको बहाव नेपालतर्फ बगिरहेकोले मर्मत हुँदै गरेको बाँधले नदीको पानी छेक्न सक्छ कि सक्दैन भन्न सकिने अवस्था छैन । नारायणी नदीमा भारततर्फको गिट्टी, बालुवा र ढुंगा भारत सरकारले छुन दिन्न भने नारायणी नदीको नदीजन्य वस्तु निकासी गर्न कानुनी रुपमा प्रतिबन्ध भए पनि नेपालतर्फको भूभागबाट भने क्रसर तथा ट्याक्टर व्यवसायीहरुले दिनहुँ झिक्ने गरेका छन् जसले गर्दा भारततर्फको नदीको सतह अग्लो बन्दै गएको छ भने नेपालतर्फको नदीको सतह होचो बन्दै गएको छ ।

भारततर्फ नदीको जमिनको सतह अग्लो र नेपालतर्फ होचो हुँदा पानीको बहाव जति नेपालतर्फ आउने गरेको स्थानीय प्रेमचन्द गुप्ताले बताए ।

भारतले आफ्नोतर्फको नदी किनारमा थुप्रिएको गिट्टी, बालुवालाई बचाउ गर्दै त्यो भन्दा अघिल्लो भूभागबाट वर्षेनी बाँध बाँध्दै अग्लो गराउँदै लैजाने गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनले नेपालीतर्फको मर्मत निकै कमजोर र कमसल भएको र भारततर्फको सतह पनि उचाई भएकोले नदीमा पानीको बहाव भन्दा ठोकर भत्कन गई नेपाली भूमि डुबानको खतरामा रहेको बताए ।
भारतले बनाएको बाँधको निर्माण कार्य रोक्न स्थानीयले पटक पटक अवरोध गरे पनि भारतले निर्माण कार्य सकिसकेको छ ।

पाण्डेले गण्डक नहरमा कुनै पनि निर्माणको काम गर्दा नेपाल–भारत दुवैको सहमतिमा मात्र गर्नु पर्नेमा भारतले एकतर्फी गरेको समेत बताए । उनले नदीको पुरानो बहने बाटो धार परिवर्तन गर्दै जाँदा नेपालतर्फ बढेका कारण उनीहरुले बाँध नेपालतर्फ हरेक वर्ष बढाउने गरेको पाइएको बताए । नारायणी नदीमा आएको पानीको बहावले नेपाली भूभागतर्फका ठोकरहरु भत्किएर गाउँमा पानी पसे साविकका १२÷१३ गाविस डुबानको खतरामा पर्दछन् भने भारततर्फ नेपालको भन्दा ठूलो भूभाग डुबानमा पर्ने खतरा रहन्छ ।