दिउँसाे हट्याे कांडेतार,राति भयाे दुर्घटना - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

दिउँसाे हट्याे कांडेतार,राति भयाे दुर्घटना



प्रदेश नं. ४ को मुख्य मन्त्री कार्यालय अगाडि र भुसंरक्षण कार्यालय अगाडि सडकमा राखिएको काँडेतार हटाइएको छ । यो हटाउन नागरिक अभियन्ताको खबरदारीबारे गण्डकन्युजले समाचार प्रकाशित गरेको थियो ।
नागरिक अभियन्ता रामबहादुर पौडेल, अर्जुन भण्डारी लगायतले निरन्तर आग्रह गरेका थिए ।

बुधबार दिउँसो उनीहरु प्रदेश प्रहरी प्रमुख डिआईजी दानसिंह बोहोरालाई भेटेर हटाउन आग्रह गरेका थिए । डिआईजी बोहोराले तुरुन्त कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीलाई हटाउन आदेश दिए । तुरुन्त काँडेतार हट्यो ।

‘आफ्नै कार्यालय अगाडि काँडेतार लगाएको प्रदेश प्रहरी प्रमुखलाई थाहा छैन । उहाँले मुख्यमन्त्रीसँग यस विषयमा कुरा गर्न चाहनुभयो । तर मुख्यमन्त्री बुधबार बैठकमा हुनुहुन्थ्यो । पछि निस्कने बेला वडा प्रहरीलाई हटाउन भन्नुभयो । ’ श्रोतले भन्यो – ‘ हट्यो तर फेरि राखिएछ । डिआईजीलाई नै मनोबल गिर्ने गरी दबाब दिने काम भएको छ ।

डिआईजीले हटाएपनि प्रमुख सचिवस्तरीय आदेशले फेरि काँडेतार राखियो । बुधबार राति साढे ७ बजे त्यही काँडेतारका कारण झ्याप्प ब्रेक लगाउँदा पोखरा विन्ध्यवासिनीका मनोज घिमिरे दुर्घटनामा परे ।  विहीबार अपरान्हदेखि मुख्यमन्त्री कार्यालय अगाडिको सडक साना सवारी पास हुने गरी खोलिएको छ भने विहीबार रातिदेखि नै भुसंरक्षण कार्यालय अगाडिको सडक खोलिएको छ । डिआईजी दानसिंह बोहोरासँग यस विषयमा कुरा गर्दा सुरक्षाको विषयमा आफूहरु गम्भिर रहेको बताए ।

उनले गण्डकन्युजसँग भने – ‘सिंहदरबार समेत चारैतिर घेरिदैंन । नारा जुलुस, हुलहुज्जत हुन लागे तत्कालका लागि सुरक्षा दिईने हो ।’ डिआईजी बोहोराले आफूलाई दबाब दिने को ? भन्ने बारे भने खुलाएनन् । तर उनले खुलिसकेको बताए ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख नविन कार्कीले पनि बुधबार नै आफूहरुले हटाएपछि भोलिपल्ट जस्ताको तस्तै अवस्थामा देखिएको तर यसबारे आफूले केहि बोल्न नमिल्ने बताएका थिए । हटाउने विषयमा विहीबार सिडिओ तारानाथ अधिकारी र कास्की प्रहरी प्रमुख ओमबहादुर रानाबीच छलफल भएको थियो । शुक्रबार बिहानदेखि दुवै ठाउँमा काँडेतार हटेको छ ।