कथा : उत्तरआधुनिक प्रेम-५ - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कथा : उत्तरआधुनिक प्रेम-५



 ~डा.लक्ष्मण प्रसाद गौतम~

इन्टरनेट हेर्दाहेर्दै मेरो औँलाले माउसमा फेरि एक क्लिक दबाउँछ। त्यसपछि कालो हरियो मिसिएको मोडर्नाइज्ड छिटको साडी त्यस्तै मोडर्नाइज्ड ढाकाको चौबन्दी चोलो र ढाकाकै पछ्यौरा ओढेकी मोडर्नाइज्ड युवती कम्प्युटरको पर्दामा टुप्लुक्क देखिन्छे। त्यसको केही छिनपछि अर्की युवती पनि ठीक त्यस्तै पहिरनमा ठीक त्यसरी नै आउँछे।

एकछिनपछि मेरो कम्प्युटरको दृश्यमा कसैले कम्प्युटर खोलेर केही हेरिरहेको देखिन्छ र त्यही कम्प्युटरभित्रको अर्को कम्प्युटरका दृश्यभित्र म हराइरहेको हुन्छु। ती दुई युवती अब त्यस कम्प्युटरमा देखिन्छन्।

ती दुवै युवतीका हातमा ल्यापटप छ। उनीहरू त्यसका किबोर्डहरूमा औँला नचाइरहेछन् र च्याटिङमा व्यस्त मस्त छन्। युवती-२ का कानमा इयरफोन छ र त्यसको तारको टुप्पाको एउटा भाग ल्यापटपमा जोडिएको छ। अङ्ग्रेजी वाई आकारले बीचबाट दुई फ्याक भएका सो तारको एउटा टुप्पामा सानो स्पिकर पनि जडान भएको छ। ल्यापटपको मनिटरको माथिल्लो भागमा एउटा सानो क्यामेरा पनि देखिन्छ। क्यामेराको ठीक मुनि अङ्ग्रेजी साना अक्षरमा ‘digitalweb’ लेखिएको मुस्किलले देखिन्छ।

युवती-१ को ल्यापटप अपेक्षाकृत सानो छ र देख्दै निकै महँगो होला जस्तो। त्यसमा डिजिटल वेब क्याम मात्र होइन, अन्तरिक्षको फोटो खिच्नसक्ने क्षमताको अत्यन्त सानो यन्त्र पनि जडान भएको छ। युवती-२ भन्दा युवती-१ का औँलाहरू किबोर्डमा अत्यन्त छिटो चलेका छन् र उसले पनि युवती-२ ले जस्तै कानमा इयरफोन लगाएकी छे। त्यसको तारको स्थिति पनि युवती-२ को जस्तै छ। ती दुवै युवतीहरू निकै प्रसन्न मुद्रामा देखिन्छन्।

ती दुवै युवतीका ल्यापटपका स्क्रिनको दायाँतिरको छेउमा तिनका प्रेमीहरूको अनुहार देखिन्छ। चलचित्रको मान्छेसँग कुरा गरेझैँ ती आफ्ना प्रेमीहरूसँग कुरा गरिरहेका छन्। युवती-१ को प्रेमी मङ्गल ग्रहमा पुगेर त्यहाँ पानी र अन्य तत्त्वहरूको अनुसन्धानमा व्यस्त छ। ऊ फुर्सद मिल्नेबित्तिकै आफ्नी प्रेमिका युवती-१ लाई वेब क्याममा हेर्दै कुरा गर्छ। कहिले अफलाइन म्यासेज पठाउँछ। कहिलेकाहीँ अलि फुर्सद निकालेर च्याटिङमा बस्छ। युवती-२ को प्रेमी पनि अन्तरिक्षमा नै छ र ऊ अन्तरिक्षयानभित्रै आफ्नी प्रेमिका युवती-२ सँग वेब क्याममार्फत अनुहार हेरेर कुरा गर्दै रोमान्टिक हुन्छ। साइबर सेक्सका कुरा गर्छ। बाँकी कुराहरू उसले पनि युवती-१ को प्रेमीले जस्तै गर्दछ।

युवती-१ र उसको प्रेमी केही गम्भीर स्वभाका छन् भने
युवती-२ र उसको प्रेमी केही चञ्चल स्वभावका छन्।
युवती-१ उसका प्रेमका बीचको कुराकानी म कम्प्युटरमा हेरिरहेको छु। कम्प्युटरभित्रको अर्को कम्प्युटरका दृश्यहरू म हेर्दैछु। युवती-१ र उसको प्रेमी वेब क्यामबाट आफ्ना अनुहारहरू एक अर्कालाई पठाउँदै कुरा गरिरहेछन्।
यहाँ युवती-१ को प्रेमीलाई युवक-१ र युवती-२ को प्रेमीलाई युवक-२ भनिएको छ !
युवती-१ : हाई डार्लिङ !
युवक-१ : हाई !
युवती-१ : अँ, तिम्रो त्यहाँको रिसर्च के हुँदैछ ? त्यहाँ पानी रहेछ त ?
युवक-१ : यहाँ मैले धेरै कुराहरू पत्ता लगाएको छु। चट्टानहरू, चट्टानबाट बनेका खोँचहरू, ठूलाठूला खाडलहरू फेला परिसकेका छन्। पानी फेला पर्ने पूर्ण सम्भावना छ।
युवती-१ : के सम्भावना देख्यौ ?
युवक-१ : म आउने बित्तिकैको ठाउँ ओसिलो थिएन।अहिले घुम्दै गर्दा धेरै ओसिलो ठाउँमा आएको छु। अब यहाँ पानी पाइने सम्भावना छ। म यहाँबाट फोटाहरू पठाइदिन्छु, तिमीले कम्प्युटरमा हेर्नु।
युवती-१ : तिमी अब मङ्गल ग्रहमा घर बनाउने तयारी गर।
युवक-१ : हुन्छ, तिमीलाई म त्यही घरमा भित्र्याउँला।
युवती-१ : ओ के डार्लिङ !
युवक-१ : बाई डार्लिङ !

ऊ – युवक-२ अन्तरिक्षमा यानभित्रै छ। उसले त्यसभित्रका धेरै स्विचहरू थिच्छ। त्यसपछि यन्त्रले अनौठो आवाज निकाल्छ र यानमाथिपट्टिको यन्त्र बेस्सरी घुम्न थाल्छ। आवाजमा केही परिवर्तन आउँछ। त्यसपछि उसले आफ्नो अगाडिको सानो स्क्रिनमा देख्छ- यन्त्रले मङ्गल ग्रहका फोटाहरू खिचेर पृथ्वीमा पठाइसक्यो।
तरङ्गको गतिसँगै अन्तरिक्षीय तरङ्गमार्फत फोटाहरू पृथ्वीका कम्प्युटरहरूमा कैद भइरहेका छन् र मान्छेहरू तँछाडमछाड गरेर ती दृश्यहरू हेरिरहेका छन्।

युवती-२ र युवक-२ पनि त्यसरी नै वेब क्यामबाट एकआपसमा एक अर्काका अनुहार हेर्दै कुरा गरिरहेका छन्।
युवक-२ : हाइ डार्लिङ !
युवती-२ : हाइ !
युवक-२ : अँ, भन, के छ तिम्रो खबर ? तिमी त्यहाँ के गर्दैछ्यौ ?
युवती-२ : ओ ! आइ एम भेरी फाइन। म यहाँ तिमीलाई धेरै सम्झिरहेछु। हेरन, तिमीसँग छुट्टएिपछि मलाई गाह्रो भइरहेछ।
युवक-२ : तिमी तयार भएर बस, म यहाँ हाम्रो हनिमुनका लागि तयारी गर्दैछु।
युवती-२ : बिहे नै नभई कहाँको हनिमुन ?
युवक -२ : अरे यार, बिहे त फर्म्यालिटी हो, त्यो त गर्दै गरौँला। पहिला इनफर्म्यालिटी नै गर्नु पर्‍यो नि ! हनिमुन त पूरै इनर्फमल हुन्छ नि, होइन त ?
युवती-२ : के मलाई रेप गरेर लैजान्छौ ?
युवक -२ : होइन, तिमी आफैँ रेप बनिएर आउँछ्यौ।
युवती-२ : हामी त्यहाँ किस गर्छौं ?
युवक -२ : हामी त्यहाँ के गर्छौँ, सेक्स गर्छौ।
युवती-२ : कस्तो किस र सेक्स ?
युवक -२ : पूरै डिजिटल, तिमीलाई थाहा छ ? यहाँ त किस र सेक्स मात्र होइन, लभ पनि डिजिटल हुन्छ।
युवती-२ : त्यहाँ पनि हाम्रो प्रेम उस्तै रहन्छ त ?
युवक -२ : किन नरहनु, झन् सुपरग्लुले टाँसेजस्तै हुन्छ। आऊ पहिले अन्तरिक्षमा हनिमुन मनाऔँ। त्यसपछि अरू कुरा गरौँला।
युवती-२ : ठीक छ। त्यसो भए म छिट्टै फिनिक्स २००७ बाट तिमीलाई भेट्न आउँछु।

युवक-१ र २ अनि युवती-१ र २ दृश्यबाट ओझेल पर्छन्। कम्प्युटरको स्क्रिनमा कालो मात्र देखिन्छ। बत्ती गएछ कि भनी म स्विच अन गर्छु। बत्ती त गएको छैन। म कम्प्युटरको माउस चलाएर यताउता गर्छु। कम्प्युटरले कुनै प्रतिक्रिया जनाउँदैन। म एक छिन सोफामा घोरिएर बस्छु। कतै कम्प्युटर बिग्र्यो कि ? बनाउँदा फेरि कति खर्च हुने हो। म हैरान पर्छु। टेबलको अखबारमा अनायास आँखा पर्छन्। उनै बासी समाचार। मलाई दिक्क लाग्छ।
अचानक कम्प्युटर आफैँ अन हुन्छ। स्क्रिनमा लेखिएको वाक्य पढेर थाहा पाउँछु- मेरो कम्प्युटर बिग्रेको रहेनछ। मैले मेरो कम्प्युटरको स्क्रिनभित्र अर्कै कम्प्युटरका दृश्य हेरिरहेको कुरा बिर्सेछु। कम्प्युटर चलाउँदा चलाउँदै युवती-१ र २ ले आफ्नाआफ्ना कम्प्युटरहरू बन्द गरेका रहेछन् र केही समयपछि खोलेका रहेछन्। फेरि मेरो कम्प्युटरभित्र उनै दृश्यहरू सलबलाउन थाले।

ती दुई युवतीको पहिरन पहिलाजस्तो थिएन। ती रूपान्तरित भएका थिए। ती टाइट जिन्स पाइन्ट र टिसर्टमा सजिएका थिए। ती दुवैले ब्वाइजकट कपाल काटेका थिए। अर्धअनावृत स्तन र टाइट कपडामा ती बेसरी कसिएका झैँ देखिन्थे। पिन सोलका स्याण्डिलमा सजिएका ती युवती उत्तरआधुनिक युगका मेनका र उर्वशीजस्ता लाग्दथे।

युवती-१ र युवती-२ दुवैका हातमा अत्यन्त कलात्मक प्रविधिबाट बनाइएका जस्ता पामटप थिए। पामटपको स्क्रिनमा ती आफ्ना प्रेमीहरूले पठाएका म्यासेजहरू र चलअचल तस्बिरहरू हेरिरहेका थिए। ती तस्बिरहरूमा अधिकांश मङ्गलग्रहका दृश्यहरू थिए। रोबोटले खनिरहेका दृश्यहरू थिए। ‘फिनिक्स २००८’ यानभित्रका यन्त्रको संसार थियो। अन्तरिक्षका अन्य विविध दृश्यहरू थिए र ती दुवै युवती उत्तेजित हुँदै हेरिरहेका थिए।

हेर्दाहेर्दै दुवै युवतीका पामटपमा अनौठा दृश्यहरू देखिन थाले। त्यहाँ एकएक जोडी यन्त्रमानव अर्थात् रोबोटहरू सम्भोग गरिरहेका थिए र एकैछिनमा रोबोट सन्तानहरू जन्माइरहेका थिए। यो क्रम केही समयसम्म निरन्तर चलिरहृयो। म अवाक् भएर हेरिरहेँ। हेर्दाहेर्दै म आफू कहाँ छु भन्नेसमेत बिर्सेछु। पामटपका ती दृश्यहरू पनि मेरो कम्प्युटरमा इनलार्ज भएर देखिएका थिए। म तिनै दृश्यहरूमा हराइरहेको थिएँ। आफू यन्त्रवत् भएकोमा मलाई आफ्नो संवेदना छाम्‍न मन लाग्यो। अझै अलिकति बाँकी भएकोमा मलाई खुसी लाग्यो, म खुसी भएँ। संवेदनाशून्य डिग्रीमा त झरेको रहिनछु नि !
कम्प्युटरका दृश्यहरू यथावत् थिए।

युवक-१ मङ्गलग्रहमा पानी भेटिएकोमा अति खुसी थियो र ऊ युवती-१ लाई भित्र्याउन त्यहीँ घर बनाउने सम्भावना खोजिरहेको थियो। युवक-२ चाहिँ अन्तरिक्षमा हनिमुन मनाउन सुन्दर ठाउँको खोजीमा थियो। उसले कल्पना गर्‍यो- एउटा राम्रो फाइभस्टार होटेल, सुविधा सम्पन्न कोठा, प्राकृतिक वातावरणको कटेज, अत्याधुनिक पार्क, तलाउ, स्विमिङगपुलमा पौडिरहेको अनि चुम्बन र आलिङ्गनमा मग्न हुँदै सम्भोगरत आफ्नो जोडि आदिआदि।

कल्पनामा डुब्दाडुब्दै युवक-२ को स्वचालित यानले अनौठो आवाज निकाल्यो। त्यसपछि उसले केही स्विचहरू थिच्यो। त्यसपछि युवक-१ र युवक-२ दुवैका अन्तरिक्ष यानहरू नजिकै समानान्तर दूरीमा रहेका देखिए। यो दृश्य युवती-१ र युवती-२ दुवैका पामटपहरूमा कैद भइरहेका थिए र ती युवतीहरूका अनुहारको भावले घरजम गर्न र हनिमुन मनाउन अन्तरिक्षमा जाने आतुरता देखाइरहेको स्पष्ट आभास हुन्थ्यो। ती दुवैका आफ्ना आफ्ना प्रेमीहरूसँगका संवादहरू वेब क्याममार्फत प्रत्यक्षीकृत हुँदै थिए र ती दृश्यहरू म आफ्नो कम्प्युटरमा हेरिरहेको थिएँ।

युवती-१ : हाइ डार्लिङ ! तिमीले मलाई त्यहाँ कहिले बोलाउने ?
युवक-१ : म तिम्रो प्रतीक्षामा व्यग्र छु। अनुकूल हुने बित्तिकै तिमीलाई लिन म अर्को यान पठाउनेछु।
युवती-१ : तिम्रो रिसर्च सक, त्यो मानव सभ्यताका लागि नयाँ आयाम हुनेछ।
युवक-१ : त्यसका लागि तिम्रो सहयोग आवश्यक हुनेछ।
युवती-१ : तिमीलाई कस्तो सहयोग चाहियो भन।
युवक-१ : तिमी यहाँ आएपछि तिम्रो र मेरो प्रेमको प्रतीक एउटा सन्तान यस अन्तरिक्षमा जन्मने छ र त्यो सन्तान यहाँको पहिलो मानवसृष्टि हुनेछ।
युवती-१ : तिम्रा कुरा अलि परम्परित भएनन् र ?
युवक-१ : के परम्परित ?
युवती-१ : अहिलेको जमानामा पनि के गर्भधारण गरेर सन्तान जन्माउने कुरा गरेको ?
युवक-१ : होइन, त्यो पूरै डिजिटल हुनेछ।(त्यसपछि युवती-२ र युवक-२ अगाडि आउँछन्।)
युवती-२ : हाइ डार्लिङ, के छ ? तिमी के गर्दैछौ ?
युवक-२ : हाइ ! म हाम्रो हनिमुनका लागि एउटा राम्रो ठाउँको कल्पनामा डुबिरहेको थिएँ।
युवती-२ : कस्तो ठाउँको ?
युवक-२ : जहाँ तिमी र म पूरै एउटै भएर बस्न सकौँ।
युवती-२ : कस्तो एउटै ? फिजिकल्ली र मेन्टल्ली ?
युवक-२ : मेन्टल्ली तिम्रा कन्सेप्टहरू त्यहीँ राखेर आऊ।हामी यहाँ फिजिकल्ली एउटै हुनेछौँ। तिमी र म अब अलगअलग हुनेछैनौँ।
युवती-२ : कसरी नि ?
युवक-२ : जब हामी हनिमुन मनाइरहेका हुनेछौं, तब हाम्रा प्रत्येक चुम्बन र सम्भोगहरूसँगै हामीमा पूरै लिङ्गभेद हट्नेछ र हामी अलिङ्गी अर्थात् तेस्रो लिङ्गी व्यक्तिमा रूपान्तरित हुनेछौँ।
युवती-२ : यो पनि कसरी नि ?
युवक-२ : यो पनि पूरै डिजिटल प्रविधिबाट।उनीहरूको संवाद चलिरहेकै बेला फेरि झ्याप्प आफैँ कम्प्युटर बन्द हुन्छ। म अघिको जस्तै कम्प्युटर आफैँ खुल्ने प्रतीक्षामा हुन्छु। मेरो डेस्कटप कम्प्युटर मौन छ। म एक्लो छु।

म पनि मौन छु। बाहिर रात छिप्पिसकेको छ। म युवक-१ र युवती-१ तथा युवक-२ र युवती-२ का संवादहरू नसकिए हुन्थ्यो भन्ने सोचिरहेछु। कम्प्युटरमा देखिएका उनीहरूका रूपाकृति र संवादहरूले मलाई तानिरहेकै हुन्छन्। मलाई बेचैनी हुन्छ। माउस यताउता गर्छु। कम्प्युटर कुनै प्रतिक्रिया जनाउँदैन। सोफामा बसेर हाई काढ्छु। कम्प्युटरले केही सानो अस्पष्ट ध्वनि निकाल्छ र त्यसपछि त्यो आफैँ खुल्छ।

मेरो व्यग्र प्रतीक्षालाई कम्प्युटरले पूरा गरिदिन्छ। इन्टरनेट पनि किन यसरी आफैँ बन्द हुन्छ ? मैले आफैँलाई प्रश्न गर्न नपाउँदै मेरो कम्प्युटरको स्क्रिनमा अघिका उनै युवतीहरू देखापरे। ती अहिले भिन्नै अत्याधुनिक पहिरनमा रूपान्तरित भएका थिए। ती युवतीहरू अत्यन्तै छोटो मिनिस्कर्ट र ब्रा मात्र लगाएर मुस्कुराइरहेका थिए। दुवैले थाइकट कपाल काटेका थिए र अग्लो हिल भएको कालो स्यान्डिल लगाएका थिए। स्यान्डिलदेखि माथि मिनिस्कर्टसम्म नै मसिनो धागोको कालो जालीले तिनका अलगअलग खुट्टालाई बेरिराखेका थिए। ती दुवैका हातमा सानो अत्याधुनिक कम्प्युटर फिङ्गरटप थियो। ती फिङ्गरटपमा चोरऔँला नचाउँदै क्याटवाकको मुद्रामा हिँड्दै अन्तरिक्षका आफ्ना प्रेमीहरूसँग च्याटिङ गर्दैथिए। उनीहरूका फिङ्गरटपका स्क्रिनमा तिनका प्रेमी र अन्तरिक्षका दृश्यहरू देखिँदै थिए। ती दृश्यहरू मेरो कम्प्युटरमा इनलार्ज भएर देखिएका थिए र म तिनै दृश्यहरूमा हराइरहेको थिएँ। हेर्दाहेर्दै यस्ता दृश्यहरू देखिएः
ती दुई युवतीहरूमध्ये युवती-१ ले ‘डिसकभरी २००७’ नामक यानमा र युवती-२ ले ‘फिनिक्स २००७’ नामक यानमा चढेर अन्तरिक्ष यात्रा गरिरहेका थिए। अन्तरिक्ष यानभित्रको पोसाकमा उनीहरू अनौठा प्राणीजस्ता देखिए। तिनले केही समयमा नै अन्तरिक्षमा आफ्ना प्रेमीहरूलाई भेटे। ती दुवै युवतीका अन्तरिक्षयान अर्थात् भूउपग्रहहरू आफ्ना आफ्ना प्रेमीहरूका यानसँगै गएर समानान्तर भई मन्दगतिमा उडिरहे।

ती यानहरूको गति अत्यन्त मन्द भएपछि एउटा निश्चित ठाउँमा आफ्ना आफ्ना यानबाट ती चारै जना पानीमा पौडेजस्तै गरी बाहिर निस्के। बाहिर निस्कँदा ती रोबोटमा रूपान्तरित भइसकेका थिए। त्यसपछि ती आफ्ना आफ्ना प्रेमीसँग अँगालोमा बाँधिए। युवक-१ र २ पनि पूर्णतया रोबोटमा रूपान्तरित भएर तयार भइसकेका थिए। त्यसको एकछिनपछि ती दुवै रोबोट जोडीहरूको लिङ्गभेद मेटियो। उनीहरू अन्तरिक्ष सम्भोगमा व्यस्त भए। त्यसको फेरि एकछिनपछि मैले देखेँ- त्यहाँ फटाफट रोबोटहरू जन्मिरहेका थिए।

त्यसपछि आफैँ कम्प्युटर बन्द भयो। माथि सिलिङमा चलिरहेको पङ्खा पनि बन्द भयो। साँच्चै लाइन गएको रहेछ। म कम्प्युटरका ती दृश्यहरू दिमागमा खेलाइरहेको थिएँ- यो कस्तो उत्तरआधुनिक प्रेम।
आफू यन्त्रवत् भएकामा मलाई फेरि आफ्नो संवेदना छाम्‍न मन लाग्यो। शून्य डिग्रीमा झर्न लागेको आभास पाएँ। मेरो मस्तिष्क चक्कराउन थाल्यो। मेरो मुटु अस्पतालको प्रयोगशालामा राखिएका कृत्रिम मानवमुटुमा रूपान्तरित भइरहेको थियो। मेरा हातखुट्टा दरा भइरहेका थिए। मलाई कसैले रिमोट कन्ट्रोलरबाट सञ्चालन गरिरहेको रहेछ।