कथा : प्रेम अर्थात् लभ
~दीपक घिमिरे~
एक्कासी ऊ पर्तिरको बाटोमा देखिई। उसलाई हेर्न आतुर हुने आँखाले उसलाई देखेपछि मेरो मुखबाट फुत्त निस्कियो “माया !”
चियाको सुर्कोसँग चुरोट तान्दै गरेका विप्लवले सडक तिर नजर डुलाए। ऊ सहिदगेट पार गरेर माथिपट्टि लागिसकेकी थिई। मैले आधा गिलास चिया टेबुलमै छाडेर विप्लवलाई भने “तिमी बस्दै गर, म दुई मिनेटमा आइगएँ। ”
उ ट्वाँ परिरह्यो, म बाइक स्टार्ट गरेर कुदिहालेँ।
सहिदगेटबाट माथि पुगेँ , दायाँबायाँ चारैतिर हेरेँ तर अहँ ! ऊ बिलाइसकेकी थिई। मेरा लोभी आँखाले उसलाई धेरै खोजे तर उसलाई भेटाउन सकिनँ।
म चिसो भएको चिया पिउन आइपुगेँ, विप्लव अर्को चुरोट उडाउँदै थिए। मैले साहुजीलाई पैसा सोधेँ , विप्लवले रिसाउँदै भने “बस न बे , अरू एक कप चिया पिउने अनि छुट्टिम्ला। ”
ऊ चिया र चुरोटको निक्कै ठूलो पारखी। मैले मायालाई गरे जस्तै माया ऊ चिया र चुरोटलाई गर्छ। चुरोटको धुवा हावामा उडाउदै भन्यो ” कस्को पछि लागेर गएको ? ”
“कोही होईन , सानो काम थियो !” मैले सामान्य उत्तर दिए।
होटेलवालाको छोराले चिया ल्याईदियो।
विप्लवले मलाई रिसाहा नजरले हेर्दै भन्यो ” बूढो भैसक्यौ , अझै सुध्रिन्नौ है ? तिमी केटीको पछि लागेर गएको हौ , भन को हो त्यो ? ”
उसले फेरी अर्को चुरोट सल्कायो। अहिले सम्म मात्र उसले तीन वटा चुरोट सल्काई सक्यो। म चुप चाप चियाको सर्को लिइरहे। उसले आधा भएको चुरोट मलाई देखाउदै एउटा सायरी सुनायो
” बेवफा यार से अच्छी हे ए सिग्रेट !
जल्ती हे , जलाती हे ! पर होठो पर तो आति हे !!”
मैले वा वा गर्दै ताली बजाएँ , ऊ हाँस्यो।
हामी छुट्टियौँ। ऊ आफ्नो काममा गयो , म घरतिर हान्निएँ।
तरकारी पसलमा फेरि ऊ झुल्किई। सायद धनिया छान्दै थिई। म पसलमा छिरेँ, उसलाई कर्के नजरले हेर्दै साउजीसँग जिस्कँदै गफ गरेँ। साउजीलाई हँसाउने कोसिस गरेँ। तरकारी किन्न आएका अरू थुप्रै हाँसे तर अहँ ! ऊ हाँसिन। ऊ गम्भीर छे, भद्र छे। उसले तरकारी छानिरही, तौली रही अनि मूल्य बुझाएर ऊ हिँडिहाली।
उसलाई एक सर्को हेर्ने बहानामा मैले सय रुपैयाँको तरकारी किने। तर उसले मलाई कर्के नजरले समेत हेरिन, सायद उसलाई मैले माया गर्ने कुराको कुनै हेक्का समेत छैन। एकतर्फि मायामा फँसेको छु , भन्न सक्दिनँ ! ऊ आफैँ बुझ्दिन।
तरकारी पसलमा देखेपछि मैले उसलाई देख्न छाडेँ। लाग्यो ऊ यो ठाउँ कि पाहुना हो। ऊ आफ्नै ठाउँमा फर्की। मैले एक दिन होइन, दुई दिन होइन हप्तौँ र महिनौँ मैले उसलाई देखिनँ।
एक दिन ! बिहानै। चिया र चुरोटको पार्टी चल्दै गर्दा ऊ त्यही बाटोबाट आउँदै थिई। विप्लव र उसका आँखा जुधे , दुवै जना मुस्कुराए। म लाजले शिर निहुराउँदै बसे।
“कता हिँडिस् नानी ?” विप्लवले चुरोट लुकाउँदै सोध्यो।
“माथि दूध लिन जाँदैछु दादा !” उसले नमस्कार गरेर जोडेको हात नझारेरै उत्तर दिई।
चुरोटको ठुटो फुत्रुक्क भुइँमा झारेर ऊ उसको अझ नजिक गयो, मैले खुट्टाले उसको चुरोट निभाइदिएँ। थाहा भयो कि ऊ उनीसँग डराउछ। चुरोट लुकाउने भनेपछि परिवार भित्रकै सदस्य हुनुपर्छ। मैले मनमा धेरै कुरा खेलाइरहेँ। उनीहरू एक-अर्कामा विदा भए।
“चिनेका छौ यस्लाई ?” मैले नजानिँदो पारामा सोधेँ।
“बैनी हो ! मेरो अफिसको तल बस्छिन्। ” विप्लवले सामान्य उत्तर दियो।
“नाम के हो ? ” मैले फेरि सोधेँ, नचिनेझै गरी।
“किन बे ? पट्याम्ला भनेका हौला, ऊ त्यस्तो केटी हैन।” उसले रिस देखायो।
” छ्या पागल ! हाम्रै गाउँकी हो कि जस्तो लागेर भन्या।” मैले आफ्नो बचाउ गरेँ।
“माया भण्डारी, सायद फेसबुकमा छोटो थर राखेकी छे।” विप्लवले फेसबुक खोलेर देखाउन थाल्यो।
म खुसीले पागलजस्तै भएँ, विप्लवको मोबाइलमा नेटले काम गरेन। म आफ्नै फेसबुकबाट उसलाई खोज्न थालेँ।
उ भेटिई ! सुन्दर, भद्र अनि मिजासिली लाग्ने उसको फोटो भेटाएँ। फ्रेन्ड रिक्वेस्ट पठाएँ अनि विप्लवसँग छुट्टिएर हिँडेँ।
एक दिनमा हजार पटक उसको फेसबुक एकाउन्ट चेक गरेँ। उसले मेरो साथी बन्ने अनुरोध स्वीकार गरिन अझै। अनलाइन छैन कि भनेर मनलाई शान्त पारीरहेँ। उसको फोटोमा हेरेरै भएनि चित्त बुझाइरहेँ। फेसबुकबाट थाहा पाएँ, ऊ बाहिरी जिल्लाकी होइन, यतै कतै नजिकैकी हो। एक दिन न एक दिन भेट भैहाल्छ भन्दै मनलाई आनन्दित बनाइरहेँ।
साथी बन्ने अनुरोध पठाको एक हप्तापछि उसले अनुरोध स्वीकार गरी, हामी फेसबुकमा साथी भयौँ। उसको टाइमलाइन खोलेर हेर्थेँ , दुईचारवटा फोटाहरू डाउललोड गरेर राखेँ। तर ऊसँग बोल्ने हिम्मत भएन।
एक दिन फेरि ऊ देखिई। अनिलजीको पसल नजिकै उसलाई देखेपछि अनिललाई सोधे, “यो बैनीको घर यतै हो ?”
अनिलले अलिपरको घर देखाउँदै भन्यो “ऊ त्यो घर हो। ”
अनि मेरो बसाइँ सराई भो, चिया र चुरोट किन्ने ठाउँ फेरियो। विप्लवको सङ्गत फेरियो। चिया र चुरोटमा रमाउने हामीहरू आजभोलि हप्तौँ भेटिँदैनोँ, मेरो चिया र चुरोटको अड्डा चेन्ज भयो। अनिलको दोकानमा बस्ने, अगाडिको चियापसलमा चुरोट तान्ने अनि उसलाई लाइन मार्ने। गज्जबको रुटिन भयो मेरो। म बिग्रिएँ या सप्रिएँ ? आफैँलाई थाहा थिएन, तर म मायाको प्यारमा फिदा भैदिएँ।
दैनिक अनिलको पसलमा धाउँदाधाउँदा म आफै थाकेँ। कहिले उसलाई हेर्न पाउँथे त कहिले त्यत्तिकै फर्किन बाध्य हुन्थेँ।
एक दिन हिम्मत गरेँ, माया भन्ने चिज मागेर हेर्ने हिम्मत पलायो। खाली आँखा जुधाएरमात्र मायामा सफल नभइने अडकल मैले काटेँ। ऊ फेसबुकमा थिई, हरियो बत्ती बालेर बसेकी। मैले हेल्लो लेखेँ। उसले नमस्कार टक्र्याई। र नमस्कारसँगै आएको दाइ शब्दले मलाई चसक्क घोच्यो।
म निशब्द भएँ। उसले फेरि लेखी “मलाई दाइका कथा मन पर्छन्।”
“कथा मात्र मन पर्छ कि म पनि ?” यस्तै म्यासेज टाइप गरेँ तर सेन्डको बटन थिच्न सकिनँ। कसैले दाइ भनेर रेस्पेक्ट गर्छ भने त्यसको अवमूल्यन गर्नु हुँदैन भन्ने सोच मनमा पलायो।
ऊसँग अगाडि कुरा गर्ने मुड चलेन।
म कसरी दाइ ?
यहि प्रश्नले सताइरह्यो। न म भण्डारी, न ऊ मेरो थरकी। न मामाकी छोरी न अङ्कलकी। जब मनमा माया पलाउँदोरैछ नि तब यी नाताले बाधा बनाइदिँदा मन कटक्क काटिँदोरैछ। उसले किन दाइ भनी ? किन साथी भन्न सकिनँ ?
“म तिम्रो दाइ होइन !” भनेर कसरी भनौँ ?
अर्को दिन फेरि ऊ हरियो बत्ती बालेर फेसबुकमा झुल्किई। मैले नै पहिले हाई पठाइँदिएँ।
उसले फेरि पनि नमस्कारसँगै दाइ पठाइदिई।
“दाइ रे ? दाइ त नभन भो !” मैले हिम्मत गरेरै पठाइदिएँ।
“उत्ताउलो लेखक !” उसले हासेको इमोसँगै दुई शब्द पठाई।
उसले उत्ताउलो भनेपछि मैले फेसबुकमा आफ्नो बायो नै चेन्ज गर्दिएँ “उत्ताउलो लेखक।”
“तिमी किन यति राम्री के ?” गफको सुरुवात गर्न मैले लेखेँ।
“आफू नि आफू ?” ऊ मख्ख परी र मलाई पनि मख्ख पार्दिई।
म ऊसँग च्याट रोकेर ऐना हेर्न लम्किएँ। म उस्तै थिएँ। जवानीमै चाउरिएको अनुहार, चुस्स नमिलेको दारी। र पनि उसले “आफू नि आफू ?” भनेसी आफूलाई कोभन्दा कम सम्झिनु र !
उसले फेरि लेखि “म दाइको फ्यान !”
मैले एकनजर माथि हेरेँ, गर्मीमा फनफनी घुमिरहेको फ्यान माथि सिलिङमै थियो।
“मेरो फ्यान त यहीँ छ, झुडिरा’को !” मैले हँसाउन खोजे।
उसले हाँसेको इमो पठाई अनि गायब भई।
जति कोसिस गर्दा पनि उसले मलाई दाइबाट साथीमा झरिन। म तड्पिरहेँ, उसको माया पाउन। संसारले प्रगति गरिरहँदा म चैँ उसको एक नजर पाउन कहिले चोक चहारेँ त कहिले पसल। तर अहँ ! ऊ मेरी माया बन्न सकिन।
ऊसँगका मीठा गफलाई मीठो मान्दै बसिरहेँ, तर मायालाई आफ्नो माया बनाउन सकिनँ। टाढा हुँदा उसको यादले सताउँछ, उसको नजरमा एक नजर डुलाउन मन लाग्छ तर अब त्यो सब खत्तम। फेसबुकमा ऊ बहिनी बनेकी छे, मनमा एकतर्फि मायालु। न मैले उसको दाइ शब्दलाई घृणा गर्न सकेँ न त उसले मेरो मन चिन्न सकि।