पार्टी एकतालाई नै गिज्याउने धुम्बाराहीको एउटा कार्यक्रम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पार्टी एकतालाई नै गिज्याउने धुम्बाराहीको एउटा कार्यक्रम



हिमालपोस्ट/काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्विरोध अहिले छताछुल्ल देखिन थालेको छ। कहिले अध्यक्ष कमरेड प्रचण्डका असन्तोषका अभिव्यक्तिले सञ्चार माध्यम भरिन्छन् त कहिले अर्का अध्यक्ष के.पी. शर्मा ओलीका वाणी प्रसारित हुन्छन्। नेतृत्व तहदेखि लिएर कार्यकर्तासम्ममा देखिएको असन्तोष वा अन्तर्विरोधले कुन रूप लिने हो भन्न कठिन छ।

तर, सोमबार धुम्बाराहीमा भएको एक कार्यक्रमको दृश्य भने अलिक फरक थियो। उक्त कार्यक्रममा तत्कालीन माओवादीका शीर्ष नेता र कार्यकर्ता उपस्थित हुँदा तत्कालीन एमालेका शीर्ष नेता र कार्यकर्ता उपस्थित थिएनन्।

पार्टी एकीकरण भएर नेकपा बनेको एक बर्ष पूरा भैसकेको छ। पार्टी एकीकरणपछि नेकपाका दुई स्थानमा केन्द्रीय पार्टी कार्यालय भएपनि मुख्य कार्यालय तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीलाई बनाइएको छ। पार्टी एकीकरणपछि सानादेखि ठूला कार्यक्रम धुम्बाराहीमा हुने गरेका छन्। ती कार्यक्रममा तत्कालीन दुवै पार्टीका नेता कार्यकर्ताको उपस्थिति हुने गर्छ।

जनयुद्धका सहिद रितबहादुर खड्काको १७ औँ स्मृति दिवसको कार्यक्रम थियो। पार्टी एकतापछि सहिद खड्काको स्मृति दिवस मनाउने कार्यक्रमको स्थान फेरियो तर एकता पछि पनि जुन दृश्य त्यहाँ बन्यो, त्यसले पार्टी एकतालाई नै गिज्याइरहेको थियो।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित हुने भन्दै अन्य नेता कार्यकर्ताहरूलाई खबर गरिएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित भएपछि नेकपा अध्यक्ष प्रचण्ड प्रमुख अतिथि बने। उनीसँग पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए र कार्यक्रमको अध्यक्षता गरेकी थिइन् पूर्व माओवादी नेतृ देवी खड्काले।

कार्यक्रममा पूर्व माओवादीका नेता जनार्दन शर्मा, दिनानाथ शर्मा, मातृका यादव, गिरिराजमणि पोख्रेल, मणि थापा लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो।

कार्यक्रममा प्रधानमन्त्री त उपस्थित भएनन्, तत्कालीन एमालेका शीर्ष तहका अन्य कोही नेता पनि उपस्थित भएनन्। तत्कालीन एमालेका तर्फबाट कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, दोलखाका पशुपति चौलागाइ र सांसद पार्वत गुरुङ उपस्थित थिए। कार्यालय सचिव श्रेष्ठका अनुसार उक्त कार्यक्रममा तत्कालीन एमाले तर्फका नेताहरूलाई पनि खबर भएको थियो।

प्रचण्ड निकट एक नेताले नाम नबताउने सर्तमा भने, ‘आजको कार्यक्रममा पनि अध्यक्ष ओली उपस्थित हुने भनेर हामीलाई खबर थियो। तर, उहाँ किन उपस्थित हुनु भएन त्यो थाहा भएन। यसरी अनुपस्थित हुँदा जनमानसमा र कार्यकर्तामाझ राम्रो सन्देश गएको छैन। ‘

पार्टी एकता पछि फागुन १ गते नेकपाले धुम्बाराहीमा जनयुद्ध दिवस मनाउने कार्यक्रममा पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली लगाएतका नेताहरू अनुपस्थित थिए।