धार्मिक महायज्ञको रकम सार्वजनिक : करिब १५ लाख खर्च,२१ लाख उठ्न बाकी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

धार्मिक महायज्ञको रकम सार्वजनिक : करिब १५ लाख खर्च,२१ लाख उठ्न बाकी



गोविन्द बीसी / बौनिया ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ खैरेनी स्थित जगदम्बिके भगवती माध्यमिक विद्यालयको धार्मिक महायज्ञको रकम मंगलबार सार्वजनिक गरिएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त रकम सार्वजनिक गरिएको हो ।

गत असोज २४ देखि ३० गतेसम्म आयोजना भएको धार्मिक महायज्ञको आर्थिक प्रतिवेदन महासचिव नेत्रबहादुर खड्काले प्रस्तुत गरेका थिए ।

बिद्यालयको मावि तहको कक्षा ११ र १२ को संचालनका लागि पूर्वाधार बिकास गर्ने लक्ष्यका साथ आयोजना गरिएको महायज्ञमा नगद प्राप्ति र भुक्तानी करिब बराबरी देखाइएको छ भने उठ्न बाकी रकम बढी रहेको छ ।
जसअनुसार आम्दानीतर्फ शान्ति कलश, सहयोग संकलन, दानदाताहरुबाट प्राप्त रकम, शालिग्राम पूजा, धान बिक्रीबाट गरि १५ लाख ४८ हजार ५ सय ६६ रुपैया प्रस्तुत गरिएको छ भने, २० लाख ७१ हजार ६५ रुपैया सभानायक, महासभानायक घोषणा गरिएको दानदाताबाट उठ्न बाकी रहेको सार्वजनिक गरिएको छ ।

कुल ३६ लाख १९ हजार ६ सय ३१ रुपैया मध्ये १४ लाख ८४ हजार ३ सय ७ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंक र नगद गरि ६४ हजार २ सय ५९ अन्तिम मौज्दात देखाइएको छ ।

कार्यक्रममा महासचिव नेत्रबहादुर खड्काले केही व्यक्तिबाट महायज्ञ मूल समितिमा रहेर पदीय जिम्मेवारी बहन गर्न नसकेकाले तत्कालै जिम्मेवारीबाट हटाइएको बताए । बिगत स्थापनाकाल देखि बिद्यालयले थुप्रै चुनौती भोग्दै आएको भन्दै महासचिव खड्काले बिद्यालयको आर्थिक स्रोत नभएका कारण अझैसम्म केही नीजिस्रोत शिक्षकको तलब भूक्तानी गर्न बाकी रहेको बताए ।

पत्रकारले राखेको जिज्ञासाको जबाफमा विद्यालय प्र.अ. समेत रहेका खड्काले उठ्न बाकी रहेको सबै रकम दानदाताबाट घोषणा गरिएकाले शंका नगर्न आग्रह गरे । उनले ईमानदारीताका साथ रकम संकलन हुनेमा आफू बिश्वस्त रहेको समेत बताए ।

स्थानीय र प्रदेश सरकारबाट समेत बिद्यालयका लागि भौतिक पूर्वाधार बिकासका लागि सहयोग गरिने प्रतिबद्धता भएकाले निकट भविस्यमा सहयोग हुने अपेक्षा गरिएको र महायज्ञ पूर्णरुपले सफल भएको बताए ।
पत्रकार सम्मेलनमा खड्काले महायज्ञको संचालन देखि समापन अवधिसम्म पत्रकारले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीय पत्रकार र मिडियाकर्मीलाई धन्यवाद समेत व्यक्त गरे ।

यस्तै महायज्ञमा जिन्सी सम्पत्तितर्फ कुमारी जोशीबाट १ कट्ठा १० धुर जग्गा, दीर्घराज जोशीबाट १ कट्ठा जग्गा र शंकर बी.कबाट ३ धुर जग्गा देखाइएको छ भने, दीपा थापा (गुरुङ) बाट ५ हजार ईटा र पहराम बुढाक्षेत्रीबाट बिद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्ने घोषणा भएको बताइएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक मनऋषि आचार्यको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर-३ का वडाअध्यक्ष कर्ण सुनार प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा वडा जनप्रतिनिधि, दानुफाटा नमूना सामुदायिक बन समितिका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक बन समितिका अध्यक्ष लालसिंह बिश्वकर्मा, न्यू लालिगुरास ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष भूपेन्द्रबहादुर रास्कोटी, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाकी अध्यक्ष डम्मरा घर्तीमगर, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक शिवराज गौतमले गरेका थिए ।