धनगढी तनावग्रस्त- स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारी - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

धनगढी तनावग्रस्त- स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारी



धनगढी । धनगढी उपमहानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उक्त क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए ।

उक्त विद्यालयका विद्यार्थीले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका छन्। उनीहरूले धनगढी बजारका विभिन्न ठाउमा टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालयको गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले ६ राउन्ड अश्रुग्यास हानेको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन नपाइने प्रजिअ थापाले बताएका छन् ।