रास्वपाको 'कोर टिम'बारे पूर्वसांसद ढाकाकुमारले गरे नयाँ खुलासा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

रास्वपाको ‘कोर टिम’बारे पूर्वसांसद ढाकाकुमारले गरे नयाँ खुलासा



व्यवसायी दुर्गा प्रसाईंसंगको अडियो लिक भएपछि विवादित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले रास्वपाको कोर टिमबारे खुलासा गरेका छन् ।

उनले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले रकम मागेको खुलासा गरेका हुन् । श्रेष्ठले आफू मन्त्री बन्ने भन्दै ‘कोर टिम’का लागि दुई करोड चाहिएको बारेमा प्रसाईंसँग कुराकानी गरेको अडियो संवादमा खुलेको थियो । सोही ‘कोर टिम’का सदस्यमध्येका एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपियाँ मागेको श्रेष्ठको दाबी छ ।

समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो । सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । स्पेस फोर के टेलिभिजनसँगको संवादमा बोल्दै श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको खुलाएका छन् ।

दुर्गा प्रसाईंसँगको अडियो प्रकरणबारे बोल्दै उनले भनेका छन्, “अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिङ गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि ।”

प्रसाईंसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको बताएका छन् । प्रसाईंले नै सुनियोजितरूपमा अडियो सार्वजनिक गरेको आरोप उनको छ ।

“एकपटक कुरा भएको थियो, दुर्गाजी केही परे सहयोग गर्नुपर्छ है, मेडिकल फिल्डको मान्छे भनेर केही समयअगाडि कुरा गरेको थिएँ । तर, उहाँले सुनियोजित तरिकाले उपचुनावको बेलामा ल्याएर मलाई वाट्सएपमा फोन गर्नुभयो र सहयोगको कुरा गर्नुभयो । मन्त्री बन्दै हुनुहुँदोरहेछ, तपाईंलाई मैले सहयोग गर्नुपर्‍यो के भन्नुहोस्,” श्रेष्ठले भने ।

ढाकाकुमारले प्रसाईं आफैँले सहयोगको कुरा अगाडि बढाएको बताएका छन् । मन्त्री बन्ने कन्फर्म भइसकेको भन्दै मोहनजंग थापालगायतको टिमले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको र सोही क्रममा फिर्ता दिने गरी दुर्गा प्रसाईंसँग कुरा भएको उनले बताए । पहिले प्रसाईले नै सहयोगको कुरा गरेको तर सुनियोजित तरिकाले पूरै संवाद बाहिर नल्याइएको उनको दाबी छ।

उनले आफूलाई मात्र कारबाही भएकाले अरूको प्रमाण पनि सार्वजनिक गरिदिने बताएका छन् ।