एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने



काठमाडौं- एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ।

नेताहरू पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको एक पदाधिकारीले बताए।

उनी झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ताका लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ। आजै सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको सभामुख चयन गर्न बिहीबार ११ बजे निर्वाचन हुने भएको छ। बिहीबार ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेस गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्णयार्थ पेस हुने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।