विश्वासपात्र पक्राउ र पत्नीको संलग्नताले शेरबहादुर देउवा तनावमा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

विश्वासपात्र पक्राउ र पत्नीको संलग्नताले शेरबहादुर देउवा तनावमा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला तनावमा परेका छन् । आफ्ना अत्यन्तै निकट र सहयोगी मानिएका नेता बालकृष्ण खाँण पक्राउ परेपछि देउवा तनावमा परेका हुन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा खाँणलाई बुधबार बिहानै प्रहरीले निवासबाटै पक्राउ गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न भएकाहरूको बयानका आधारमा खाँण पक्राउ परेपछि सभापति देउवा नैतिक दवावमा समेत परेका छन् । त्यसमाथि देउवा पत्नी आरजु राणा देउवा पनि मुछिएपछि देउवालाई यो प्रकरण मिलाउन हम्मे परेको छ ।

देउवा पत्नी आरजु र खाँण पत्नी मन्जु खाँणलाई पैसा बुझाएको अडियो बाहिरीएपछि प्रहरीले यसमाथि अनुसन्धान थालेको छ । प्रमाण जुटाएर आरजु र मन्जुलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेपछि देउवा एकपछि अर्को बज्रपात भएको महसुस गरेका छन् । कांग्रेसका एक नेताका अनुसार देउवा पछिल्लो समय विछिप्त देखिएका छन् ।

पार्टीका नेता पक्राउ परेपछि पदाधिकारीहरू यसको विरुद्धमा बोल्ने अपेक्षा देउवाले गरेका थिए । तर परिस्थिति उल्टो बन्यो । खाँणको पक्राउ र पत्नीहरूको संलग्नता देखिएपछि पार्टी पदाधिकारी निष्पक्ष छानबिनको पक्षमा उभीएर कारबाही मागेपछि देउवाले थप दवाव महसुस गरेका छन् ।  

एकातिर पार्टीमा एकलौटी गरेको आरोपलागेर पार्टीका युवा नेताहरूले धावा बोलिरहेको बेला देउवाका विश्वासपात्र धमाधम भ्रष्टाचार काण्डमा मुछिन थालेका छन् ।