देउवाले प्रचण्डलाई भने- विश्वासको मत दिन्छौँ - Himal Post Himal Post
  • १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
Logo

देउवाले प्रचण्डलाई भने- विश्वासको मत दिन्छौँ



काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् ।

आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसबारे आधिकारिक निर्णय भने मङ्गलबार बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको सत्ता गठबन्धन दलले प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णयअनुसार प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवालाई भेट्न उहाँको निवास धुम्बाराही गएका थिए ।

प्रतिनिधिसभाको पहिलो बैठक आज बसेको थियो । भोलि पुस २६ गते प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने छन् ।

प्रधानमन्त्री दाहाललाई अहिलेसम्म सत्तारूढ दलबाट १६९ सांसदको समर्थन छ । पुस १० गते तत्कालीन पाँच दलीय सत्तागठबन्धन भङ्ग गरेर एमालेसँग मिलेपछि पहिलो पटक प्रधानमन्त्री दाहाल र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।