देउवाले दिएको कलंकको भारी पार्टीले बोक्न सक्दैन : गगन थापा - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

देउवाले दिएको कलंकको भारी पार्टीले बोक्न सक्दैन : गगन थापा



काठमाडौं– कांग्रेस महामन्त्री एवं सभासद् गगन थापाले सरकारले कैलाली हत्याकाण्ड आरोपमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई कारागारमुक्त गर्न सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन्। नागरिक उन्मुक्ति पार्टी अध्यक्षसमेत रहेका चौधरी हाल डिल्लीबजारस्थित कारागारमा छन्।

यसअघि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उक्त निर्णयको विरोध गरिसकेका छन्। थापाले अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाबारे महामन्त्री शर्माको धारणा शतप्रतिशत सही रहेको बताए।

उनले भने, ‘यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन। नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकि, विगतमा पटक–पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ। अहिले पार्टीभित्र यो अध्यादेशबारे न कुनै छलफल भएको छ, न त कुनै निर्णय नै। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अतः सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।’

उनले अध्यादेश कानुनी, राजनीतिक अनि नैतिक हिसाबले समेत गलत रहेको, असंवैधानिक एवं अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरीत रहेको थापाको भनाइ छ। उनले भनेका छन्, ‘अहिलेको सरकार कामचलाउ हो। यसले दूरगामी महत्त्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानुनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।’

अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने र राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानुन बनाएर प्रक्रिया अगाडि बढाउन सकिने थापाको तर्क छ। अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ। त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्नेमा उनले जोड दिएका छन्।